खेल

गौतमबुद्ध क्रिकेट रंगशालाका लागि प्रदेश सरकारद्वारा ५ करोड विनियोजन

गौतमबुद्ध क्रिकेट रंगशालाका लागि प्रदेश सरकारद्वारा ५ करोड विनियोजन

चितवन । राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले पाँच करोड रकम विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको मेयर दाहालले जानकारी दिइन् । भोलि परिषद् गर्न लागेको महानगरले रङ्गशालाका लागि पाँच करोड विनियोजन गर्ने तयारी गरेको छ । 

 

महानगरभित्र रहेका २९ वटा वडाले पाँच लाखका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन् । बहुवर्षीय योजना भएकाले महानगरले शुरुआती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ । महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै संघ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम शुरु भएको जानकारी दिइन् ।

 

जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताए । कतिपयले बजेटमा नै राखेर र कतिपयले कोषको पूँजीबाट सहयोग गर्ने उनले जानकारी दिए ।

 

गत जेठ १५ गते स्थानीयले बाटो विस्तारको माग गर्दै रङ्गशालाको टिनको बार भत्काएपछि काम रोकिएको छ । रङ्गशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारी काठमाडौँमा रहेका छन् । डल्लाकोटीका अनुसार एक दुई दिनमा उहाँहरुको उपस्थितिमा बैठक बसी काम अघि बढाइने छ । फाउण्डेशन र सरकारी निकायले के के गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाई छ । जिल्लाका सबै राजनीतिक दलसहित जिल्लावासी रङ्गशाला निर्माणका लागि सकारात्मक रुपमा अघि बढेका छन् ।

 

रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो । भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न रु तीन अर्ब खर्च हुने अनुमान गरिएको छ । रङ्गशाला निर्माणका लागि निजी क्षेत्रबाट रु छ करोडभन्दा बढी रकम सङ्कलन एवं आश्वासन प्राप्त भइसकेको छ । रासस

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

विशेष