दरबार हत्याकाण्डका ६ वास्तविकता तर अझै जनताले पत्याएनन्
काठमाडौं । राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको आइतबारदेखि १८ वर्ष पूरा भएको छ । ५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी दरबारमा युवराज दीपेन्द्रले चलाएको गोलीले राजा वीरेन्द्र, रानी ऐश्वर्य, राजकुमार निराजन, अधिराजकुमारी श्रुती, वीरेन्द्रका भाई धीरेन्द्र शाहलगायत दश जनाको हत्या भएको भनियो । तर जनताले युवराज दीपेन्द्रले गोली चलाएको पत्याएनन् ।
हत्याकाण्डको १८ वर्ष बितिसक्दा पनि कुनै नयाँ रहस्य खुलेनन् । युवराज दीपेन्द्रले नै गोली चलाएका हुन् भन्ने तर्कलाई बल पुग्ने गरी मानिसहरुले नयाँनयाँ तथ्य खोले । ती तथ्य यस्ता छन्ः
गोरख शमशेरको बुढी औंला छैन : अधिराजकुमारी श्रुतीका पति कुमार गोरख शमशेरको एक हातको बुढी औंला छैन । यो विषय धेरै कमलाई मात्रै थाहा छ । जेठ १९ मा दीपेन्द्रले गोली हान्दा उनको बुढी औंलामा लागेको थियो । जसका कारण उनले बुढी औंला गुमाएका थिए ।
डा. उपेन्द्र देवकोटाको कथनः डा. उपेन्द्र देवकोटाको क्यान्सरका कारण निधन भइसक्यो । जब गोलीले शाही परिवारका सदस्यहरुलाई ढेर बनाइदिएको थियो, त्यो बेला उपेन्द्र देवकोटा पनि अस्पताल पुगेका थिए । र उनले वीरेन्द्रको शवलाई चिनेनन् । कसको शव भन्ने थाहा नै नपाई उनले वीरेन्द्रको नारी छामेर ‘छैन ज्यान’ भनेका थिए । उनै देवकोटाले कसैले थाहा नै नपाई अचेत दीपेन्द्रको शरिरबाट रगत निकालेका थिए परीक्षणका लागि विदेश पठाउन । उनले नेपालमै पनि दीपेन्द्रको परीक्षण गरेका थिए ।
त्यो बेला नै उनले दीपेन्द्रले नशा सेवन गरे नगरेको थाहा पाएका थिए । र उनले आफ्नो निधन अघि भनेका थिए, ‘हेर्नुस्, दीपेन्द्रले रक्सी पनि खाएका थिएनन् । पूर्ण होसमा सबैलाई गोली प्रहार गरेका थिए । दीपेन्द्रले नशा सेवन गरेर हत्या गरेको भनियो भने जनतामा राजसंस्थाप्रति आस्था रहिरहन्छ भनेर त्यस्तो प्रचार गरियो । उनी पूर्ण होसमा थिए ।’
देवकोटालाई पनि यो चाहिँ थाहा थिएन कि दीपेन्द्रलाई चाहिँ कसले गोली प्रहार गरेको थियो ?
निराजनको हुँदै थियो बिहे पक्का : दीपेन्द्र देवयानीसँग विवाह गर्न चाहन्थे । राजी ऐश्वर्या कुनै पनि हालतमा त्यो बिहे हुन दिने अवस्थामा थिइनन् । दीपेन्द्रको अड्डीको सेखी झार्न ऐश्वर्यले निराजनको बिहे जेठ २६ गते घोषणा गर्ने तयारी गरेकी थिइन् । त्यो थाहा पाएपछि दीपेन्द्रको रिस उत्कर्षमा पुगेको थियो ।
डेढ मिनेट पनि लागेन सबैलाई सिध्याउनः बिलियार्ड हलमा दीपेन्द्र पसेर गोली भटट् पार्न थालेपछि डेढ मिनेट समय पनि लागेन सबैलाई सिध्याउन । त्यति छोटो समयमा एडिसीहरु विलियार्ड हलमा प्रवेश गर्ने मौका पनि पाएनन् । एडिसीहरु प्रवेश गर्ने बेलासम्म सबै तहस नहस भइसकेको थियो ।
दरबारले गरेको गम्भीर भूलः दरबार हत्यकाण्डपछि धेरैले शंका ज्ञानेन्द्र र उनका बिग्रेका पुत्र पारसमाथि शंका गरे । दरबारले पनि हत्याकाण्ड भइसकेपछि वास्तविक कुरा जनताले विश्वास गर्ने गरी सार्वजनिक गरेन । बचेका शाही सदस्यहरु हत्यकाण्ड दीपेन्द्रले मच्चाएको भन्नेमा सतप्रतिशत ढूक्क थिए ।
तर जनताले पत्याएनन् । त्यसमाथि करफ्यू लगाएर दीपेन्द्रको अन्त्येष्टि गरियो । राजीव शाहीले धेरै बाठो भएर अन्तर्राष्ट्रिय मिडियालाई खबर गरे । असोजमै प्रेक्षा शाह हेलिकोप्टरसहित रारामा डुबिन् । यी विषयहरु आगोमा घ्यू थप्ने प्रकृतिका थिए ।
दीपेन्द्र दाहिने हात चलाउँथेः दीपेन्द्र दाहिने हात चलाउँथे । तर उनको देब्रे कञ्चटबाट गोली लागेर देब्रेमा निस्केको थियो । त्यो गोली उनी आफैले चलाएका थिएनन् । कसले चलाए भन्ने अहिलेसम्म खुलेको छैन ।
दरबार हत्याकाण्ड