समृद्ध नेपाल सुखी नेपाली अभियानमा लागुऔषध दुव्र्यसनी बाधक : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताउनुभएको छ । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा सारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उहाँले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुव्यर्सनलाई रोक्नुपर्ने बताउनुभयो ।
“शान्ति सुरक्षा र अपराधको चुनौतीको रूपमा लागुऔषध रहेको छ, यसलाई नियन्त्रण गर्न सरकारी र गैरसरकारी संस्थाको उत्तिकै दायित्व छ”, उहाँले भन्नुभयो । लागुऔषध दुव्यर्सनी रोकथामका लागि तीनै तहको सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
गृहमन्त्री थापाले लागुऔषध दुव्यर्सनी हुन नदिन र प्रयोगकर्तालाई उपयुक्त उपचारको वातावरण मिलाउन गृहमन्त्रालयले सबै पक्षसँग छलफल गरिरहेको उल्लेख गर्नुभयो । लागुऔषध समस्याको समाधानका लागि लागुऔषध नीति, ऐन कार्यान्वयनका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत काम गरिरहेको उहाँको भनाइ थियो । लागुऔषध दुव्यर्सनीमा युवापुस्ता बढी लागेको भन्दै शैक्षिक संस्थामा जागरुकता बढाउन मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो ।
पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि हुनुका साथै कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित रहेको गृह मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा लागुऔषध दुरुपयोगसम्बन्धी नाटक, कविता, वतृत्वकला प्रतियोगिता सम्पन्न गर्नुका साथै गृहमन्त्रालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको ‘सुरक्षित जीवन’ स्मारिकाको विमोचन गरिएको थियो । अभियानका अवसरमा भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, एनएसी, रत्नापार्क हुँदै राष्ट्रिय सभागृहसम्म पदयात्रा गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घ महासभाबाट पारित भई विश्वभर ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउन थालिएअनुसार नेपालमा पनि जुन २६ मा उक्त दिवस मनाउँदै आइएको हो ।