विश्वकप क्रिकेटः इंग्ल्याण्डलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा
काठमाडौं । आयोजक टिम इंग्ल्याण्डलाई ६४ रनले हराउँदै पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आइसीसी एकदिवसीय विश्वकप क्रिकेट (२०१९) को सेमिफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया जारी विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो टिम हो । मंगलबार राति लड्स क्रिकेट मैदानमा २८६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको इंग्ल्याण्ड ४४.४ ओभरमा २२१ रनमा अल आउट भयो ।
उसका लागि बेन स्टोक्सले सर्बाधिक ८९, जोनी बेरिस्टोले २७, जोस बटलर, आदिल रशिदले २५–२५, क्रिस ओक्सले २६, मोइन अलिले ६, जो रुटले ८, इओन मोर्गनले ४ रन बनाए । बलिङमा अष्ट्रेलियाका जोसन बेहनड्रफले ५, मिचेल स्टार्कले ४ र मार्कस स्टोइनिसले १ विकेट लिए । यसअघि टस हारे ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८५ रन बनायो । उसका लागि कप्तान आरोन फिन्चले शतक बनाए । उनले ११ चौका र २ छक्काको मद्दतमा ११६ बलमा १०० रन बनाए ।
यस्तै डेभिड वार्नरले ५३, स्टिभ स्मिथले ३८, उस्मान ख्वाजाले २३, ग्लेन म्याक्सवेलले १२, मार्कस स्टोइनिसले ८, प्याट कमिन्सले १ रनको योगदान दिए । त्यस्तै एलेक्स क्यारी ३८ र मिचेल स्टार्क ४ रनमा नट आउट रहे । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले २, जोफ्रा आर्चर, बेन स्टोक्स, मोइन अली र मार्क उडले एक–एक विकेट लिए । सेमिफाइनल पुग्न अब इंग्ल्याण्डले बाँकी २ खेलमा जीत हासिल गर्नैपर्ने हुन्छ । उसले बाँकी २ खेल भारत र न्यूजिल्याण्डसँग खेल्दै छ ।
कप्तान फिन्चको दोस्रो शतक
इंग्ल्याण्डविरुद्धको खेलमा पनि अष्ट्रेलियाका कप्तान एवं ओपनर आरोन फिन्चले शतक बनाए । उनले ११ चौका र २ छक्काको मद्दतमा ११५ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा फिन्चको यो दोस्रो शतक हो । यसअघि उनले यही संस्करणमा श्रीलंकाविरुद्ध १५३ रन प्रहार गरेका थिए ।
अष्ट्रेलियाको उत्कृष्ट सुरुवात
इंग्ल्याण्डविरुद्ध पनि अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गर्यो । उसले पहिलो विकेटका लागि १२३ रनको साझेदारी गर्न सफल भएको हो । अष्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाउन आरोन फिन्च र डेभिड वार्नरको जोडी निरन्तर लयमा देखिएको छ ।
वार्नरको तेस्रो अर्धशतक
इंग्ल्याण्डविरुद्ध पनि डेभिड वार्नरले अर्धशतक बनाएका छन् । उनले ६ चौकाको मद्दतमा ६१ बलमा ५३ रन बनाए हुन् । जारी विश्वकपमा वार्नरको यो तेस्रो अर्धशतक हो । साथै उनले यो विश्वकपमा २ शतक बनाई सकेका छन् । वार्नरले यो संस्करणमा ५०० रनसमेत पूरा गरेका छन् । उनी यो समाचार तयार पार्दासम्म सर्बाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा छन् ।
अष्ट्रेलियाको प्लेइङ ११ः आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा, मार्कस स्टोइनिस, मिचेल स्टार्क, एलेक्स क्यारी, जसन फेहनड्रफ, नाथन लायन र प्याट कमिन्स ।
इंग्ल्याण्डको पूरा टिमः इयोन मोर्गन (कप्तान), जोनि बेरिस्टो, जोस बटलर, मोइन अली, जो रुट, बेन स्टोक्स, क्रिस ओक्स, आदिल रशिद, मार्क उड, जोफ्रा आर्चर र जेम्स भिन्स ।
विश्वकप क्रिकेट इंग्ल्याण्ड भर्सेस अष्ट्रेलिया