प्रवास

नेपालीकाे हत्या गर्ने सेनाका क्याप्टेनलाई डेढ सय वर्ष जेल

नेपालीकाे हत्या गर्ने सेनाका क्याप्टेनलाई डेढ सय वर्ष जेल

काठमाडौं । साइप्रसको निकोसिया अपराध अदालतले एक नेपाली महिलासहित ७ जनाको श्रृंखलाबद्ध रुपमा हत्या गरेका सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय सुनाएको छ । मेटाक्सासले अदालतमा ५ महिला र दुई बालिकाको हत्या गरेको स्वीकार गरेका छन् । अदालतले ७ जनाको हत्यामा कुल १५० वर्षको जेल सजाय हुने फैसला गरेको छ । 

 

मेटाक्सासले एक नेपाली, एक रोमानिया, तीन फिलिपिनो गरी ५ जना विदेशी महिला र दुई बालिकाको हत्या गरेका थिए । प्रहरीले ६८ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरेको थियो । उनले महिलालाई परिबन्धमा पारी यौन सम्बन्ध राखेर हत्या गरेको बयान दिएका छन् । अदालतको फैसला आउनु एक साताअघि साइप्रस सरकारले पीडित परिवारको हकदारलाई १७ हजार युरोका दरले क्षतिपूर्ति दिने निर्णय गरेको थियो । मेटाक्सासबाट मारिएकी काठमाडौंकी ३० वर्षीय अस्मिता खडका विष्ट गत वर्षको जुलाई ९ बाट हराएकी थिइन् । खडका १८ जुलाई २०१७ मा घरेलु कामदारका रूपमा साइप्रस गएकी थिइन् । उनलाई अल ओभरसिज म्यानपावरले साइप्रसको सीआईजी एजेन्सी सर्भिसमा मासिक ३ सय ९ युरो तलब पाउने गरी पठाएको थियो । काम र सेवासुविधाको विषयमा म्यानपावरमा गुनासो आएको थिएन । उनका एक छोरा काठमाडौंमा हजुरआमासँग बस्दै आएका छन् ।

 

३५ वर्षीय मेटाक्सासले सन् २०१६ को सेप्टेम्बरदेखि २०१८ जुलाईसम्म हत्या गरेका थिए । गत अप्रिल १४ मिस्टसिरो भन्ने स्थानमा एक महिलाको शव भेटिएपछि उनी पक्राउ परेका हुन् । उनकै बयानका आधारमा अरू शव भेटिएका थिए । अस्मिताको शव गत अप्रिल २८ मा ओरान्दा भन्ने स्थानमा भेटिएको थियो । ‘अस्मिताको कोठामा भएका सरसामानसँग डीएनए परीक्षण गर्दा मिलेपछि पहिचान भएको हो,’ साइप्रसस्थित नेपाली अवैतनिक दूतको कार्यालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘शव अस्पतालमै छ ।’

 

सिंगो साइप्रसलाई तरंगित पार्ने यो घटनाक्रममा नेपाली महिलासमेत रहेको प्रमाणित भएपछि साइप्रसमा कार्यरत नेपाली हत्यारालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । साइप्रसको न्याय इतिहासमा कुनै एक व्यक्तिलाई यति धेरै सजाय सुनाइएको यो पहिलो पटक हो । यो घटना सार्वजनिक भएपछि साइप्रसका प्रहरी प्रमुख पदमुक्त भएका थिए । न्यायमन्त्रीले राजीनामा दिएका थिए । यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् । 

निकोस मेटाक्सास साइप्रस

विशेष