विश्वकपः सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना जीवितै, न्यूजिल्याण्डको पहिलो हार
काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३ औं खेलमा न्यूजिल्याण्डलाई ६ विकेटले हराउँदै पाकिस्तान विजयी भएको छ । यो जीतसँगै सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना बलियो बनेको छ । न्यूजिल्याण्डले दिएको २३८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पाकिस्तानले ४९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका लागि बाबर आजमले शतक बनाए । उनले ११ चौकाको मद्दतमा १२७ बलमा नट आउट १०२ रन बनाए । यस्तै हरिश सोहेलले ६८, मोहम्मद अफिजले ३२, इमाम उल हकले १९, फखर जमानले ९ र कप्तान सरफराज अहमदले नट आउट ५ रनको योगदान दिए । बलिङमा न्यूजिल्याण्डका कप्तान केन विलियम्सन, लकि फग्र्युसन र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २३७ रन बनायो । उसका लागि जेम्स नीशमले उत्कृष्ट प्रदर्शन गरे । संकटका समयमा प्रदान आएका उनले ३ छक्का र ५ चौकाको मद्दतमा ११२ बलमा नट आउट ९७ रन बनाए । यस्तै कोलिन डी ग्राण्डहोमले ६४, कप्तान केन विलियम्सनले ४१, कोलिन मुनरोले १२, मार्टिन गुप्टिलले ५, रस टेलरले ३, टम लाथमले १ र मिचेल सान्टनरले नट आउट ५ रनको योगदान दिए ।
बलिङमा शाहीन शाह अफ्रिदिले ३, मोहम्मद आमिर र शादाव आलमले एक–एक विकेट लिए । जारी विश्वकपमा न्यूजिल्याण्डको यो पहिलो हार हो । उसले आउँदो २ खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डको सामना गर्नुपर्ने हुन्छ । २ मध्ये एक खेल जित्न सके न्यूजिल्याण्ड सेमिफाइनल पुग्ने छ । अष्ट्रेलियाले भने यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
पाकिस्तानको प्लेइङ ११ः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिश सोहेल, मोहम्मद हफिज, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, वाहब रियाज र शाहिन शाह अफ्रिदि ।
न्यूजिल्याण्डको प्लेइङ ११ः केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, रस टेलर, टम लाथम, जिम्मी निशाम, कोलिन डी ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेट बोल्ट, म्याट हेनरी र लकी फर्गुसन ।
विश्वकप क्रिकेट न्यूजिल्याण्ड भर्सेस पाकिस्तान