समाज

दाजु कतारमा कोमामा, दिदी घरमै विक्षिप्त

दाजु कतारमा कोमामा, दिदी घरमै विक्षिप्त

झापा । भावना नेम्वाड (तामाङ) ले दाजु श्रीबहादुरको अनुहार लगभग भुलिसकिन् । कहिलेकाहीँ सपनामा देख्छिन्, बस् त्यति । डेढ दशकदेखि दाजुबहिनीको भेट भएको छैन । श्रीबहादुर कतार उड्दा भावना सानै थिइन् । झापा, भद्रपुर–३ ९साविकको महेशपुर–१० का ३९ वर्षीय श्रीबहादुर ११ वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन् । उनको उद्धार गरेर नेपालमै उपचार गराउने हिम्मत र हैसियत परिवारसँग छैन ।

सरकारले उपचारलगायत सबै खर्च बेहोरेर दाजुलाई ल्याइदिए हुन्थ्यो भन्ने कामना गर्ने भावना भन्छिन्, ‘तर दाजुको मुख हेर्नबाहेक हामी केही गर्न सक्दैनौं । दिदीलाई आफैंले स्याहारेकी छु, दाजु पनि थपिँदा केले थेग्नु !’ दिदी अर्थात् टीकामाया नेम्वाङ । लेबनान पुगेर फर्किएकी टीकामाया एक दशकदेखि विक्षिप्त अवस्थामा छिन् । उनलाई भावनाले आफूसँगै राखेर स्याहारिरहेकी छन् ।

टीकामाया रहरले होइन, बाध्यताले वैदेशिक रोजगारी खोज्दै लेबनान पुगेकी थिइन् । किनभने त्यतिबेलै दाजु श्रीबहादुर कतारमा कोमामा परिसकेका थिए । श्रीबहादुर स्थानीय एजेन्ट धनराज थेबेमार्फत कतार पुगेका थिए । अलि रामदान ट्रेडर्समा कार्यरत उनले अलिअलि पैसा घर पठाउँदै थिए । उनी घर नफर्किएको तीन वर्षजति भएको थियो । २०६५ भदौ १९ मा उनी बाटो काट्ने क्रममा सडक दुर्घटनामा परे । साथीभाइले सडकबाट उठाएर अस्पतालसम्म पुर्‍याए । त्यसयता उनी अस्पतालकै कोमामा छन् । होस छैन । शरीर अचल छ । मात्र दुई मुठी सासले अल्झाएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

विशेष