खेल

विश्वकपः रोकएन भारतको विजयी यात्रा, वेस्ट इन्डिज १२५ रनले पराजित

विश्वकपः रोकएन भारतको विजयी यात्रा, वेस्ट इन्डिज १२५ रनले पराजित

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफ्नो छैठौं खेलमा पनि भारत विजयी भएको छ । वेस्ट इन्डिजलाई १२५ रनले हराउँदै भारत छैठौं खेलमा पनि विजयी भएको हो । बिहीबार राति म्यानचेस्टरमा सम्पन्न खेलमा भारतले दिएको २६९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिज ४३.२ ओभरमा १४३ रनमै सेमटियो ।

 

उसका लागि सुनील एम्ब्रारिसले ३१, निकोलस पुरनले २८, शिमरोन हिटमायरले १८, सेल्डन कोट्रेलले १०, किमर रोचले नट आउट १४, क्रिस गेल, जोसन होल्डर, ओसेन थोमसले ६–६, साई होपले ५, कार्लोस ब्राथवेटले १ र फाबियन ऐलन शून्य रनमै आउट भए । बलिङमा मोहम्मद सामीले ४, जसप्रित बुमराह, युवजेन्द्र चहल, हार्दिक पाण्ड्या र कुलदीप यादवले १–१ विकेट हात पारे । यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले ८ चौकाको मद्दतमा ९२ बलमा ७२ रन बनाए ।

 

जारी विश्वकपमा उनको यो लगातार चौथो अर्धशतक हो । यस्तै महेन्द्रसिंह धोनीले नट आउट ५६, केएल राहुलले ४८, हार्दिक पाण्ड्याले ४६, रोहित शर्माले १८, विजय शंकरले १४, केदार जाधवले ७ रनको योगदान दिए । बलिङमा वेस्ट इन्डिजका किमोर रोचले ३, जसोन होल्डर, सेल्डोन कोट्रेलले २–२ विकेट लिए । यो जीतसँगै भारतको सेमिफाइनल पुग्ने सम्भावना झनै बलियो भएको छ । अब उसले एक खेल जीतेमा सेमिफाइनलको यात्रा सुरक्षित गर्ने छ । वेस्ट इन्डिज भने भारतसँगको हारसँगै विश्वकपबाट बाहिरिएको छ । उसले ८ खेलमा एक खेलमा जीत हासिल गर्दा ५ खेलमा पराजय भोग्नु पर्यो । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । 

 

शतकबाट चुके विराट
वेस्ट इन्डिज विरुद्धको खेलमा पनि कप्तान विराट कोहली शतक बनाउन चुके । लगातार अर्धशतक बनाउन सफल भए पनि शतक पूरा गर्न भने चुकेका हुन् । आज उनी ८ चौकाको मद्दतमा ८२ बलमा ७२ रन बनाएर आउट भए । कोहली ३८.२ ओभरमा वेस्ट इन्डिजका कप्तान जोसन होल्डरको बलमा क्याच आउट भए ।

 

अर्धशतक बनाउन २ रनले असफल केएल
वेस्ट इन्डिज विरुद्धको खेलमा भारतीय क्रिकेट टिममा ओपनर केएल राहुल २ रनले अर्धशतक बनाउनबाट चुकेका छन् । उनलाई २०.४ ओभरमा ४८ रन बनाएको अवस्था वेस्ट इन्डिजका कप्तान जोसन होल्डरले आउट गर्न सफल भए ।


 

विश्वकप क्रिकेट भारत भर्सेस वेस्ट इन्डिज

विशेष