एक्सक्लुसिभः दरबार हत्याकाण्डको चार दिनअघि दीपेन्द्रले देवयानीलाई सिन्दुर हालेका थिए
काठमाडौं । दरबार हत्यकाण्डको १८ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भएको हत्याकाण्डका मुख्य पात्र युवराज दीपेन्द्र हुन् भनिएको छ । दीपेन्द्र नै वंशनाशका मुख्य कारक हुन् भन्ने कुरामा नेपाली जनता भने आश्वस्त हुन सकेनन् । तर त्यसयता जति पनि नयाँ तथ्य खुले ती सबैले दीपेन्द्र तिर नै औंला तेस्र्याएका छन् ।
धेरैपछि पहिलो पटक दरबार हत्याकाण्डको विषयमा नयाँ तथ्य नेपालआजले फेला पारेको छ । जानकार स्रोतको दावीअनुसार दीपेन्द्र कुनै पनि हालतमा चाँडो भन्दा चाँडो विवाह गर्न चाहन्थे । तर उनकी आमा रानी ऐश्वर्य दीपेन्द्रको विवाह हुन नदिने पक्षमा थिइन् ।
दीपेन्द्रलाई रानी ऐश्वर्यले शुरुदेखि नै ‘अलिच्छन’ भन्ने गर्थिन् । आमाको अतिचार तिरष्कारका कारण युवराज दीपेन्द्र डिप्रेसनको सिकार भएका थिए । उनी दुई महिनादेखि डिप्रेसनको औषधि पनि सेवन गर्दै आएका थिए ।
उनले राजा वीरेन्द्रसँग पनि देवयानीसँग विवाहको सम्बन्धमा सहयोग मागेका थिए । दीपेन्द्रले बहिनी श्रुतीसँग पनि आमालाई मनाइदिन अनुरोध गरेका थिए । बहिनीको विवाह भएर सन्तान जन्मिसक्दा पनि दाजुको विवाह नभएको खिन्नता र आफू हेपिएको दीपेन्द्रले महशुस गरेका थिए । तर उनको भावना दरबारमा बुझिदिने कोही भएनन् ।
राजा वीरेन्द्र र अधिराजकुमारी श्रुतीले दीपेन्द्रलाई ‘सरी, आइ कुडन्ट हेल्प यु’ भन्ने जवाफ नै फर्काएका थिए । श्रुतीले त दरबार हत्याकाण्डको एक हप्ताअघि मात्रै दीपेन्द्रलाई देवयानीका सम्बन्धमा केही सहयोग गर्न नसक्ने जवाफ दिएकी थिइन् । जसका कारण दीपेन्द्र श्रुतीसँग पनि रिसाएका थिए ।
दीपेन्द्रलाई ‘अलच्छिन’ भन्नुपर्ने कारण चाहिँ दरबारका ज्योतिष मंगलराज जोशी थिए । जोशीले दीपेन्द्र यो मुलुकको राजा भएमा देशबाट राजसंस्था नै समाप्त हुने चेतावनी दिएका थिए । उनले त ‘दीपेन्द्रको विवाह नै नगर्नू’सम्म भनेका थिए । ज्योतिषकै भविष्यवाणीका कारण रानी ऐश्वर्य निराजनलाई राजा बनाउन चाहन्थिन् । दरबारबारे भविष्यवाणी गर्ने ज्योतिष जोशीको अहिले निधन भइसकेको छ । तर उनले गरेका भविष्यवाणी सत्य सावित भए । दीपेन्द्र नेपालका राजा पनि भए । लगत्तै राजसंस्था पनि समाप्त भयो । उता देवयानीको वैवाहिक जीवन पनि बिग्रियो ।
युवराज दीपेन्द्रको विवाह थाँती राखेर रानी ऐश्वर्य सात दिनपछि राजकुमार निराजनको विवाह पक्का गर्दै थिइन् । जसका कारण दीपेन्द्र अझै क्रोधित थिए ।
अर्कोतर्फ राजा वीरेन्द्र भए पनि धेरै निर्णयहरुमा रानी ऐश्वर्य हावी हुन्थिन् । वीरेन्द्र र ऐश्वर्यमा वीरेन्द्र सोझा थिए । ज्ञानेन्द्र र कोमलमा कोमल सोझी छिन् । जसका कारण मुख्य निर्णयहरुमा रानी ऐश्वर्य र अधिराजकुमार ज्ञानेन्द्रको केमेष्ट्री मिल्थ्यो ।
जेठ १९ गतेको पार्टीमा युवराज दीपेन्द्रले काका ज्ञानेन्द्रलाई पनि आउन कर गरेका थिए । अरुलाई पनि खबर पुर्याएका थिए । दीपेन्द्रको निम्तो अस्वीकार गर्न नसकेपछि उनी राजा वीेरेन्द्रको अनुमति लिएर काठमाडौं फर्किन चाहेका थिए ।
हत्याकाण्ड हुँदा ज्ञानेन्द्र पोखरा हुनुको कारण के थियो भने उनी महेन्द्र प्रकृति संरक्षण कोषको संरक्षक थिए । विदेशी प्रतिनिधिहरुको टोली आएका कारण उनीहरुसँगै ज्ञानेन्द्र पोखरा गएका थिए ।
काठमाडौं फर्किने चाहना राखेपछि राजा वीरेन्द्रले भनेका थिए, ‘एउटा शुक्रबारको पार्टी छुट्दैमा केही हुँदैन । विदेशीहरुलाई नै राम्रो सत्कार गरेर मात्रै फर्किनू ।’ राजा वीरेन्द्रले यस्तो निर्देशन दिएपछि ज्ञानेन्द्र पोखरामै रहे, यता हत्याकाण्ड भयो ।
त्यसअघि देवयानी राणासँग उनको गहिरो प्रेमलाई एउटा नाम दिनकै लागि भनेर दीपेन्द्रले देवयानीको सिउँदो भरेका थिए ।
युवराज दीपेन्द्रमा खेलकुदको गहिरो रुची थियो । उनले नौ महिना नै सैन्य तालिम लिएका थिए । मार्सल आर्टका ब्लाक बेल्ट पनि थिए । उनी दुवै हातले राइफल चलाउन सक्ने क्षमताका थिए । त्यही सामथ्र्यका कारण उनले डेढ मिनेट पनि नलगाई १० जनालाई गोलीले भुटे ।
मूलतः दीपेन्द्र दाहिने हात चलाउँथे । सबैलाई गोली हानेपछि दीपेन्द्र आफैंले आफैंलाई पनि गोली हानेको बताइयो । वास्तवमा यो कुरा सत्य भने थिएन । किनभने उनी दाहिने हात चलाउँथे तर उनको देब्रे कञ्चटबाट पसेको गोली दाहिने कञ्चटबाट बाहिर निस्केको थियो । यदि उनी आफैले आफैलाई गोली हानेको भए दाहिने कञ्चटबाट गोली पस्नु पथ्र्यो ।
आखिर दीपेन्द्रलाई गोली कसले हानेको थियो ? यो प्रश्नको जवाफ भने अझै अज्ञात छ ।
–ध्रुव रिजाल
र यो पनि
दरबार हत्याकाण्डका ६ वास्तविकता तर अझै जनताले पत्याएनन्