राजनीतिमा धर्म, कर्म र मर्म
सिन्धुलीको यात्रा जुर्यो । नेता तथा डाक्टरहरुको समूह थियो । डुल्दै, घुम्दै, हेर्दै अनि चिन्तन गर्दै जाँदा यात्रा पिकनिक जस्तो थियो । बौद्धिक विलासले सवैमा केही न केही आयाम थपिएको महशूस भयो । वि. सं २००४ सालमा पक्राउ परेका वीपी कोइरालालाई त्यही बाटोबाट राणाले नेपाल ल्याएकाले विराटनगर लगायत तराई तथा काठमाडांै जोडने असल, छिटो तथा छोटो बाटो यही हुने रहेछ भन्ने लागेरै होला, त्यही बाटोलाई जोड दिएका रहेछन । सात दशकपछि उनको दूरदर्शितालाई फेरि एकपटक नमन गर्न मन लाग्यो । सिन्धुली वर्दिबासको यो मेरो १० सौ पटकको यात्रा हो । मलाई बरिष्ठ अधिबक्ता रामप्रसाद श्रेष्ठले भन्नु भएको थियो– ‘बाटो खन्दा खन्दै २०१७ सालको ‘कू’ भएपछि निर्माण ठप्प भएको थियो । २०१८, देखि २०४९ सालसम्म पनि भकुण्डेवेंशीमा बाटो खन्दैको वुल्डोजर माटोमा थियो । यस विषयमा लेख लेख्नु होला ।’ वीपीले खनाएको बाटो उनलाई थुनेसंगै काम नै ठप्प । व्यक्तिको पूर्वाग्रहको असर विकासमा ! पात्र फेरिए होलान, प्रवृत्ति अहिले पनि उही छ । जो सत्तारुढ भयो मानौं, देशको लालपुर्जा उहीसंग होस् ताकि मन लागेको गर्न पाइयोस् । पञ्चले राणा, बहुदलवादीले पञ्च, कांग्रेसले कम्युनिष्ट, कम्युनिष्टले कांगेसलाई दोष थोपरेर उम्किने शैली उही छ । कांग्रेसको पालामा पुष्पलाल, कम्युनिष्टको पालामा बीपीको नाम लिनु अपराध हो भन्ने प्रत्येक राजनीतिक पार्टीका कार्यकर्ताको मनोग्रन्थीमा बास गरेको छ । यो राजनीतिभित्रको खतरनाक असहिष्णु भाइरस हो ।
यात्राकै सिलसिलामा मैले भीमबहादुर तामाङ सम्झिएँ । उनको गाउँबारे सोधपुछ गरें । टाढैबाट भएपनि साथीभाईले चोरी औंलो तेस्र्याएर देखाइदिए । भीमबहादुर दाइसंगसंग मेरो अगाध श्रद्धा छ । उनी बीपीले पत्याएको व्यक्तित्व । साद्गी जीवनका अनुपम उदाहरण । त्यतिमात्र नभई सरल भएर पनि बौद्धिक । म ईलाममा रहँदा उनलाई ईलाम लैजान चाहान्थे । तयारी पनि भएको हो । तर मेरो उत्कट अभिलाषा त्यतिक्कै सेलायो । अहिले पनि मलाई त्यो खट्किएको चाहनाले लखेटिरहन्छ । मेरो कार्यथलो अहिले काठमाडौंमा छ । यतिबेला भीमबहादुर दाइ हुनुभएको भए कति संगत गर्थें होला जस्तो लाग्छ । म तामाङ गाउँमा हुर्किएको मान्छे । भोजपुरको पोखरे गाउँको तल्लो बस्ती जहाँ तामाङ बाहुल्य छ । तामाङ बस्तीभित्र हुर्किएकाले होला, उनीहरुको संस्कार, संस्कृतिबारे सन्निकट छु । ऐचोंपैंचो, पर्म, बेठीदेखि लिएर जन्ती र मलामीसम्मको सहयात्रा मेरो जीवनमा तामाङ परिवारबाटै शुरु भएको हो । मेरा सवै आफन्तहरु तामाङ छन । मेरा वाल सखाहरु सवै तामाङ हुन् । उनीहरु हाम्रा सवैभन्दा आफन्त लाग्छन् । दिदी, पूmपु, काका, बज्यु, मामा, भतिज भन्ने नाताले हामी जोडिएका छौं ।
बीपी राजमार्ग भएर गइरहँदा मैले रामेछापका कुलमान घिसिङ, सिन्धुपाल्चोकका बौद्धिक नेता शेरबहादुर तामाङ सम्झिएँ । मेरो मानसले भन्छ– यिनीहरुको परिचय असल मानिसबाट शुरु हुन्छ । उनीहरु असल भएकै कारण आफू आसिन पदमाथि न्याय गर्न समर्थ भएका हुन् ।
यो बाटो म धेरै पल्ट हिँडे पनि यसखालको बौद्धिक मन्थनको पहिलो भ्रमण हो । स्थानीय भूगोल, समाज र मान्छेको मन छाम्ने अवसर थियो यो । जहाँ मन अडिन्छ, त्यहाँ रोकिन्थ्यौ । एक अर्काले जानेको ज्ञान र सूचना शेयर गथ्र्यौं । सिन्धुलीको खनियाँ खर्कदेखि माथि पश्चिम पटी रहेको ५, ७ वटा डाँडामा उभिएर हामीले क्षितिज नियाल्यौं । अर्कोपल्ट यस्तो यात्रामा दूरवीन लिएर जानुपर्ने रहेछ भन्ने लाग्यो ।
पढेर मात्र हुँदैन, नपढी पनि हुँदैन । बाटोले दिने ज्ञान अरुले दिँदैन् । यी ६, ७, बटा डाँडालाई बुल्डोजर लगाएर ५ सय मिटर केही तल सम्म सम्याउनु, वरिपरि बर पिपल, समी तथा खनिउ काब्रो जस्ता लेक्टिक दूध आउने वनस्पति लगाउन पाए प्राकृतिक सौन्दर्य मात्र हैन, विकासलाई चिरस्थायी बनाउन सहयोग पुग्ने थियो । जिल्लामा भइरहेको पकेट एरिया, फलफूल तथा कृषि जडीवुटी खेतीपातीले कृषि पर्यटनलाई मद्दत पुग्ने थियो । यसका लागि सुनकोशीबाट लिफ्ट सिंचाई आवश्यक छ । सिंगापुरले समुद्रको कोस्टल जोन र जोराङ्ग पार्क क्षेत्र जहाँ पानी पुरेर जमिन बनाएको छ भने साउथ चाइना शीलाई डाँडामा परिणत गरिएको छ । मलाई लाग्छ– नेपालका यी खुईले डाँडालाई मिसिङ्ग लिंकको रुपमा जोडिदिनु पर्छ ।
खाल्डो, भोक्सी, भौडी भएका जग्गामा हामीले खेत बिराएर माटो ढुंगा पुरेर अन्न फलाउने हाम्रो उहिलेको अभ्यास हो । यस काममा तामाङ र सुनार शिल्पीहरुको ठूलो योगदान थियो । सिक्किम तथा भूटान गएर त्यहाँका अनुत्पादक जग्गामा सुनरुपी अन्न फलाउने शुरुवाती पूर्व २ रामेछाप, ३ नम्बर ओखलढुगा, ४ नम्बर भोजपुरका नेपालीले गरेको इतिहास साक्षी छ । नेपाल उत्कृष्ट घाम लाग्ने विश्वका टपटेन मुलुकभित्र पर्छ । उपयोगमा आउन नसकेका यी खुईले पाखामा सोलार फिट गरी त्यहाँबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न सके कति उपयोगी हुन्थ्यो भन्ने लाग्यो ।
पानी परिरहेको छ । एकातिर रमाइलो अर्कातिर बाढी पहिरोले बाटोमा अवरोध आउने हो कि भन्ने त्रास पनि उत्तिक्कै छ । हामी सुनकोशी नदीको तीरैतीर हिँडेका छौं । आँखाभरि पानीको प्रचुरता देखिन्छ । तर एउटा बोतल पानी ३० रुपियाँ हालेर किन्नुपर्ने बाध्यताको पात्र आफैं बन्दा मुुटु चसक्क हुन्छ ।
मेरो बुझाईले भन्छ– गरिब भनेको धनी बन्न लायक, योग्यता भएको पात्र हो । हरेक खाली ठाउँ भनेको भरी पार्न लायक हो । मैले ०७ सालका योद्धा तथा शिक्षासेवी नारदमुनि थुलुङलाई स्मरण गरें । उहाँ क्रान्तिपछि बनेको सरकारमा मन्त्री हुनुहुन्थ्यो । जसको सक्रियतामा खुलेको स्कुले हामीलाई प्रज्ञा चेत दिने काम गर्यो । वास्तवमा छिमेकी र आमा यस्ता बस्तु हुन, जो किमार्थ फेन सकिदैन, मिल्दैन् ।
यो भ्रमणले मलाई तामाङ जाति तथा उनीहरुको आर्थिक अवस्था निकै सुदृढ भएको भन्ने खबरले साँच्चै सुखको निद्रा दियो । उनीहरुको उत्थान परिवारको उत्थान जस्तो लाग्छ । उनीहरुको धर्म कर्ममा आस्था बढेछ । कामको विकल्प काम खोज्छन् । थोरै कमाईमा बचत गर्ने बानीको विकास भएको रहेछ । धुमपान, मद्यपान मात्र हैन मासुसमेत नखाने पुस्ताको विकास भइसकेछ । आफ्ना बच्चालाई असल संस्कार दिन अब्बल भएछन् । देश होस् कि विदेश उनीहरुको ख्याती बढ्दो छ । यो खबर सुनेपछि मैले दिलकुमार तामाङ्ग अष्ट्रेलिया, राम तामाङ नेपाल, डिक तामाङ ईलाम, नाति डा. बालकृष्ण तामाङ, हाम्रो भोजपुरका मेधावी टेक तामाङ, जो नेपाल पुलिसमा उच्च अधिकारी छन्, धेरै धेरै असल पात्र तत्काल सम्झना गरें । यही क्षमता देखेर नै होला, डा. हर्क गुरुङले प्रतिवेदनमा तामाङलाई शिक्षाको मूलधारमा ल्याउन निशुल्क शिक्षा र छात्रवृत्ति दिनु पर्ने शिफारिस गरेका थिए ।
राजनीतिमा गुरु चाहिन्छ जो जान्ने, सुन्ने, भन्ने पनि होस, उसले सरसल्लाह मात्र देओस तर काम नगरोस । यही मोडलको गुरुको आश्रममा बेला बखतमा नेताजीहरु जानु, योग गर्नु, ध्यान गर्नु, आराम साथ सम्यक भोजन गर्नु , विचारको सन्चय गर्नु गराउनु पर्दछ । त्यसमा पनि नेपाल धर्म, कर्म, मर्मले थामेको देश र यसैको संस्कार भएकोले पनि नेताहरुले धर्म गुरुहरुको आश्रयमा गएर काम गरेमा यसले नैतिकतामा आधारित राजनीतिक अभ्यासमा उर्जा थप्ने देखिन्छ । धर्म गुरुसंग लागेको विज्ञ, राजनीतिक नेताहरु मान्दछन तर उनीहरुको खरावी गल्ति र कमी कमजोरीको भने निर्भयसाथ तिखो आलोचना गरी विचार प्रकट गर्दछ । जसले देशलाई भलो गर्न सक्छ ।
सिन्धुली