खेल

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको लगातार हार, बंगलादेशको विजयी शुरुवात

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको लगातार हार, बंगलादेशको विजयी शुरुवात

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश २१ रनले विजयी भएको छ । आइतबार राति लण्डनमा ३३१ रनको लक्ष्यका साथ मैदान प्रवेश गरेको द. अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि कप्तान फाफ डुप्लेसिसले सर्बाधिक ६२, जेपी डुमिनी, एडन मार्कमले ४५–४५, रस्सि भान डर डुसेनले ४१, डेभिड मिलरले ३८, क्विन्टन डिककले २३, क्रिस मोरिसले १० रन बनाए । यस्तै, कागिसो रबाडा १३ र इमरान ताहिर १० रनमा नट आउट रहे । बलिङमा बंगलादेशका मुस्तफिजुर रहमानले ३, मोहम्मद सैफउद्दिनले २, शाकिव अल हसन र मेहेही हसन मिराजले एक–एक विकेट हात पारे ।  यसअघि टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३० रन बनायो ।

 

बंगलादेशले हालसम्मको विश्वकप संस्कणमा बनाएको यो सर्बाधिक ठूलो स्कोर हो । आज उसका लागि मुस्फिकुर रहिमले ७८, शाकिव अल हसनले ७५, सौम्य सरकारले ४२, मोसद्दक हुसैनले २६, तमिम इग्बालले १६ रन बनाए । यस्तै महमुदउल्हाले बिस्फोटक ब्याटिङ गरे । उनले १ छक्का र ३ चौकाको मद्दतमा ३३ बलमा अविजित ४६ र मेहदी हसनले नट आउट ५ रन बनाए ।

 

बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिर, एन्डिले फेहलकवायो र क्रिस मोरिसले २–२ विकेट लिए । बंगलादेश जारी विश्वकपमा एसियाबाट विजेता हुने पहिलो टोली बनेको छ । पाकिस्तान, श्रीलंका र अफगानिस्तानले पहिलो खेलमा हार बेहोरेका छन् । यता दक्षिण अफ्रिकाले भने लगातार दोस्रो खेलमा हार बेहोरेको हो । उसले पहिलो खेलमा आयोजक इंग्ल्याण्डसँग पराजय बेहोरेको थियो । 

विश्वकप क्रिकेट दक्षिण अफ्रिका भर्सेस बंगलादेश

विशेष