प्रवास

सडक दुर्घटनामा परी पोर्चुगलमा एक नेपालीको मृत्यु

सडक दुर्घटनामा परी पोर्चुगलमा एक नेपालीको मृत्यु

काठमाडौं । युरोपेली देश पोर्चुगल गएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी ज्यान गएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गएको शुक्रबार स्थानीय समयअनुसार राति साढे ९ बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा त्यही राति ज्यान गएको हो । 

 

मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ । शर्मा एक वर्ष अगाडि पोर्चुगल आएको लिस्बनमै रहनुभएका उनका दाजु अमृतले जानकारी दिए । शर्माको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ । दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताए । 

 

नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ । सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन् ।

मृत्यु सडक दुर्घटना पोर्चुगल

विशेष