फोटो मुख्य समाचार स्वास्थ्य समाज

प्यूठानमा ड्रोनबाट ओखतीमूलो (फोटोफिचर)

प्यूठानमा ड्रोनबाट ओखतीमूलो (फोटोफिचर)

क्षयरोगको पहिचान र नियन्त्रणका लागि प्यूठानका दुई स्थानीय तहमा ड्रोनमार्फत बिरामीको खकार नमूना परीक्षण र औषधी वितरण गर्ने नयाँ ड्रोट्स परियोजना सुरु गरिएको छ । सन् २०५० सम्म क्षयरोग उन्मुलन गर्ने लक्ष्यले प्यूठान जिल्लाको स्वर्गद्वारी र प्यूठान नगरपालिकामा एशियामै पहिलोपटक सोमबार एक औपचारिक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए ।

स्वास्थ्यकर्मीहरुलाई नयाँ प्रविधिबाट क्षयरोगका विरामी पत्ता लगाउन र बिरामीहरुलाई उचित समयमा उपचार गर्ने उद्देश्यले एशियामै पहिलो पटक प्यूठानबाट यसखाले नविन परियोजना सुरु भएको हो । 

मानवरहित ड्रोनको प्रयोगद्वारा दुवै नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरुबाट खकारको नमूना संकलन गरेर जिल्ला अस्पताल र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालासम्म पुर्र्याइ, जिन एक्स्पर्ट मेसिनबाट खकार जाँच गरेर  क्षयरोग हो या होइन पत्ता लगाउने काम गरिनेछ ।
  
ड्रोनेपाल प्राइभेट लि., नेपाल फ्लाइंग ल्याब्स, ह्वी रोबोटिक्स, लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिन र स्टोनी ब्रुक युनिभर्सिटीको प्राविधिक सहकार्य तथा निक साइमन फाउन्डेसनको आर्थिक सहयोगमा, बिराट नेपाल मेडिकल ट्रस्टले यो परियोजना सुरु गरेको हो ।

बिराट नेपाल मेडिकल ट्रस्ट अन्तर्गत यस परियोजनाको जिल्ला कार्यक्रम संयोजक श्रद्धा आचार्यका अनुसार ड्रोनको माध्यमले दुर्गम स्थानमा रहेका क्षयरोग संक्रमित व्यक्तिहरुको खकार नमुना दुईवटा नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य केन्द्रहरुबाट संकलन गरी जिल्ला अस्पतालको प्रयोगशाला र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालासम्म पुर्याई अत्याधुनिक जिन एक्स्पर्ट मेसिनबाट खकार जाँच गरी क्षयरोग हो या होइन पत्ता लगाइनेछ । 

यतिमात्र हैन दुर्गम स्थानमा बस्ने क्षयरोगका विरामीहरुलाई दैनिक उपचारमा आउन कठिन हुने कारणले स्मार्ट  पिलबक्सको सहयोगले उपचार गरिने छ । विज्ञका अनुसार यो प्रविधिमार्फत बिरामीले औषधी खाएको वा नखाएको निगरानी गर्न सकिनेछ । 
  
 ‘स्वास्थ्यकर्मी र बिरामीलाई क्षयरोगको रोकथाम र उपचारमा सचेत गराउन  जनचेतनामूलक भिडियो ट्युटोरियल प्रयोगमा पनि यसले सघाउने छ ।’ श्रद्धाको भनाई छ । 

ट्रस्टले बिगत ५० वर्षदेखि नेपालमा राष्ट्रिय क्षयरोग केन्द्र र विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यालयहरुसँगको सहकार्यमा क्षयरोग पहिचान र नियन्त्रण सम्बन्धी विभिन्न कार्यक्रम  गर्दै आइरहेको छ  । त्यसैगरी ड्रोनेपाल  प्रा. लि.ले ड्रोन सम्बन्धित प्राविधिक सहकार्य गर्नेछ । 


नेपालमा दैनिक १२३ जना क्षयरोगबाट संक्रमण हुने गर्दछन । कति स्थानमा भौगोलिक अवस्था र स्वास्थ्य संस्थाको दूरीका कारण रोगको पहिचान तथा सही समयमा उपचार हुन सकिरहेको छैन । त्यसैले कठिन तथा दुर्गम स्थान लक्षित गरी ड्रोनको प्रयोगमार्फत क्षयरोग पहिचान र उपचारमा सेवा प्रदान गर्ने उद्देश्य सहित यो परियोजना को सुरुवात शुरु भएको हो । यस प्रयासलाई स्थानीय निकायले पनि सकारात्मक रुपमा लिएको छ ।

परियोजनाको प्रथम चरण, प्रयोगात्मक चरण अन्तर्गत सुरुवाती दिनहरुमा जिल्ला अस्पताल प्यूठान र स्वास्थ्य चौकी भिंग्रीबाट ४ स्थानमा रहेका स्वास्थ्य चौकीहरुमा ड्रोन उडाएर औषधी र  खकारको नमुना  ढुवानीमा प्रयोग सुरु गरिएको छ ।  नौलो किसिमको परियोजना र ड्रोनको संवेदनशिलतालाई पनि मध्यनजर गर्दै यस परियोजनामा संलग्न संस्थाहरुले विभिन्न चरणमा नगरवासी र जिल्लावासीहरुमा परियोजनाको जानकारी, ड्रोन उडान र उडान मार्गको बारेमा जानकारी दिने कार्यक्रम संचालन गरिरहेका छन् ।

नेपाल फ्लाइंग ल्याब्सका संयोजक उत्तम पुडासैनीका अनुसार यस परियोजना अन्तर्गत ड्रोन संचालनका लागि सम्पूर्ण तालुकदार निकायबाट अनुमति लिएर यो काम शुरु गरिएको हो । परियोजनामा संलग्न विभिन्न निकायहरुलाई यसको उपयोगिता बुझाउन र अनुमति प्राप्त गर्न  ६ महिना लागेको पुडासैनीले बताए । 
 

क्षयरोग ड्रोन

विशेष