‘हेग’ को त्रास डलरवादीको खेल (भिडियोसहित)
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद देवेन्द्र पौडेलले हालै सार्वजनिक पार्टी एकीकरणताका भएको ५ बुँदे सहमति अक्षरशः पालना गर्नुपर्ने बताएका छन् ।
नेपाल आजसंगको विशेष कुराकानीमा नेता पौडेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले सहमतिका विषयमा व्यक्त गरेको धारणा स्वाभाविक भएको बताए । उनले आलोपालो प्रणाली अनुसार प्रधानमन्त्री चलाउने वा एक जनाले सरकार र अर्कोले पार्टी चलाउने विषय पार्टी हितमा रहेको उल्लेख गरे ।
">
पौडेलले भने, ‘केही नेताहरुले हिजो नेकपा एमालेले अवलम्बन गरेको, जनताको बहुदलीय जनवाद अर्थात जबजलाई छोडन सकिन्न भनेर दिएको अभिव्यक्ति सहमति विपरीत छ । अब ५ बुँदे सहमति अनुसार समाजवाद उन्मुख जनताको जनवादका रुपमा अघि बढ्नुको विकल्प छैन ।’
जयशंकरको त्रास छैन
भारतमा जयशंकर विदेशमन्त्री भएलगत्तै नेपालमा के के न हुने हो भन्ने चर्चा छ । यो सब बेकार हो । नेपालले स्वतन्त्र र सार्वभौम राष्ट्रकारुपमा छिमेकी र सबै मित्र राष्ट्रसंग व्यवहार गर्छ, यो क्षमता सरकारसंग छ ।
हिजो जयशंकर विदेश सचिव हुँदा नेपालमा आएर संविधान संशोधनमा के दबाब दिए, नाकाबन्दीमा के भूमिका खेले भन्ने कुरा अब गौण भैसके । हामीले व्यवहार गर्ने राष्ट्रसंग हो पात्रले फरक पर्दैन ।
भारत, चीन कि अमेरिका ?
अमेरिकाले नेपाललाई उसको ‘इण्डोप्यासिफिक स्ट्राटिजी’ मा संलग्न हुन पहल गरिरहेको छ । यो विषयमा नेपाल सरकारले गम्भीर समीक्षा गरी अमेरिकालाई जवाफ दिन जरुरी छ । यसमा ढिलो गर्नु हुँदैन । सो रणनीति नेपालको हितमा कति छ ? यसले दीर्घकालिन असर पार्ने विषय के हो ? यी विषयमा कुरा बुझेर जवाफ दिनुपर्छ ।
तर, यदि छिमेकी मुलुकविरुद्ध यस्तो रणनीति अख्तियार गरिएको छ भने यसमा फस्नु हुँदैन । चीनको नेपालप्रति मौन कुटनीति छ । चीनले लिएको ‘बिआरआई’ प्रोजेक्टको प्रोटोकलमा हामीले हस्ताक्षर गरिसक्यौं । यसमा भारतलाई समेत चित्त बुझाएर अघि बढ्न सक्नु नै सफलता हो ।
एउटा कुरा स्पष्ट के हो भने भारत र चीनलाई प्रतिकूल हुने गरी हामीले केही गर्नु हुँदैन । पहिले भारत र चीन, त्यसपछि अरु राष्ट्र आउँछन् ।
सार्क कि बिमष्टेक ?
भारतले सार्कलाई महत्व नदिएको कुरा स्पष्ट छ । नेपाल सार्कको अध्यक्ष भएका बेला सार्क सम्मेलन आयोजना हुन सकेको छैन । यसले नेपाललाई समस्या भएको छ ।
भारतले सार्कको सट्टा विमेस्टेककलाई अघि बढाउन खोजेकाले भारतको इच्छाविरुद्ध जान कठिन छ । हामीले भारत र चीनलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने हुन्छ । यसकारण सकभर सार्कलाई बचाउन खोज्ने, नभए विमेष्टकलाई सक्रिय बनाउन बल पुर्याउनुपर्छ ।
विप्लवमाथिको प्रतिबन्ध हटाउ
नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई दमन गर्ने नभई वार्ता गर्नुपर्छ । यो नै समाधानको उपाय हो । विप्लवले सरकारसंग वार्ता गर्ने विश्वसनीय आधार प्रस्तुत गरे सरकार प्रतिबन्ध हटाउन तयार छ ।
होइन सरकारविरुद्ध आतंक नै मच्चाउँछु भनेर चौकी हान्न थाल्यो भने त राज्य चुप लागेर बस्दैन । विप्लव वार्तामा आउने हो भने उनलाई यथोचित स्थान र भूमिका दिन हामी तयार छौं ।
बाबुरामसंग एकता
लामो समय पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग निकट रही काम गरेको अनुभव छ । द्वन्द्वकालदेखि नयाँ शक्ति निर्माणसम्म । अहिले आएर बाबुराम र उपेन्द्र मिलेका छन् । उहाँहरुले समाजवादी नामकै पार्टी खोल्नु भएको छ । यसले भोलिका दिनमा हाम्रो एकताको सम्भावना देखाएको छ ।
उपेन्द्र पनि कम्युनिष्ट पृष्ठभूमिका नेता भएकाले सो पार्टीसंग एकताको प्रबल सम्भावना म देख्छु । एकता नभएपनि मेरो शुभकामना बाबुरामलाई भैरहन्छ ।
‘हेग’ को त्रास
१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, सेना समायोजन, दुई–दुईवटा संविधानसभा चुनाव, सरकारको नेतृत्व, त्यसपछि तीन तहको निर्वाचन भएर यहाँसम्म आइपुग्दा पनि ‘हेग’ पुर्याउँछु भन्नेहरु अझै पनि छन् ।
">
यो सबै डलरको खेती गर्नेहरुको षडयन्त्र हो । मुलुकलाई अस्थिरतामा धकेल्ने, कहिल्यै शान्ति हुन नदिने र आफनो रोटी सेक्न खोज्नेहरुले ‘हेग’ को त्रास देखाइरहेका छन् । यो सत्य हो । यिनीहरुकै कारण सत्य निरुपण मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगका काम अपूर्ण छन् । तर, जे भएपनि हामीलाई फसाउन खोज्नेहरु असफल हुनेछन् । यो प्रयासको राष्ट्रियस्तरमै विरोध हुनुपर्छ ।