नेताले नचिनेको अर्को सिंहदरवार (फोटोफिचर)
सिंहदरवार पस्ने पात्र फेरिएपनि कोर्स उही छ । बाहिर चिटिक्क सिंगारिए पनि न काम गर्ने शैली फेरिएको छ, न त्यसको इतिहास बचाउन कसैको ध्यान छ । सिंहदरबार पुनर्निर्माण धमाधम भइरहेको छ ।
२०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि प्रयोगविहीनजस्तै रहेको पश्चिमतर्फको अघिल्लो बुर्जाको खण्डमा रहेको बेलायती बैठकको अस्तित्व अब के हुने भन्नेमा कसैसंग स्पष्ट उत्तर छैन । बेलायती सरकारको सम्पूर्ण सहयोगमा बनेको यो खण्डमा रहेका सामग्री ऐतिहासिक, पुरातात्विक दृष्टिले अनमोल छन् । राणाको व्यक्तिगत घर रहेको यो ठाउँलाई राणा प्रधानमन्त्री मोहनशम्शेरले भव्य भवनमा रुपान्तरण गराएका थिए ।
बेलायती बैठकमा राणाहरुले मनोरन्जनका लागि उपयोग गर्थे भने सरकारले लिएपछि देशविदेशबाट आउने पाहुनाको स्वागत, भोजभतेरमा यसको उपयोग हुन थाल्यो । त्यतिमात्र हैन, तीन करोड जनताको व्यवस्थापन गर्ने अभिभारा पनि यसै थलोलाई छ । राजामहाराजाले यही ठाउँलाई राष्ट्रिय महत्वको बनाए । गणतन्त्र आएपछि गिरिजाप्रसाद कोइरालाले विदेशी राजदूतका ओहोदाको प्रमाणपत्र यही हलबाट लिने परम्परा थाले । तर त्यसले निरन्तरता पाउन सकेन ।
यहाँ जडित बत्ती, कुर्सी, सोफा, टेबुल बेलायतबाटै ल्याइएका हुन । राणाहरुले मनोरन्जन गर्न उपयोग गर्ने ऐना छक्क पार्ने किसिमका छन् । अझ नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटा, सालिक, वन्यजन्तुका बहुमूल्य ट्याक्सीडर्मी आर्ट फालिएको अवस्थामा छन् ।
पानी चुहिएर अवस्था बेहाल छ । गृहमन्त्रालयले यसको संरक्षण दायित्व त लिएको छ तर सिंहदरबारलाई सफा राख्ने कामको थालनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । सिंहदरबार पुननिर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर आश्चर्य यी तीन निकायबीच पटक्कै समन्वय छैन ।
बेलायती बैठकमा फोहोरमाथि फोहोर छ । क्रिष्टलका बहुमूल्य सौन्दर्य सामग्री नष्ट हुने अवस्थामा छन् । बेलायत सरकारले दिएको बहुमूल्य क्रिष्टल घडी बिग्रिएको बर्षौं भयो । माल पाउने, चाल नपाउने यो भन्दा निर्मम अवस्था अरु के हुनसक्छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसंग छैन । रुखविरुवा रोप्ने, सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरु सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन् । यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्ने छैन ।