स्वास्थ्य

गर्भावस्थामा कस्ता कुरामा ध्यान दिने?

गर्भावस्थामा कस्ता कुरामा ध्यान दिने?

काठमाडौं । गर्भावस्था महिलाका लागि विशेष समय हो । गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे ध्यान पुर्याउनुपर्छ। त्यसैले, यो अवस्थामा गर्भवतीले आफ्नो स्वास्थ्यको विशेष ध्यान दिन आवश्यक छ। आमाको जीवनशैलीले नै शिशुको शारीरिक अवस्था निर्धारण गर्छ। 

 

नियमित स्वास्थ्य परीक्षण
गर्भ रहेको पहिलो र दोस्रो तीन महिनामा एक–एकपटक तथा तेस्रो तीन महिनामा कम्तीमा दुईपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । अर्थात् गर्भावस्थाभरिमा कम्तीमा चारपटक जचाउँदा कुनै पनि समयमा आउन सक्ने जटिलताबाट बच्न सकिन्छ। गर्भ रहेको चार महिनापछि धनुष्टंकार र डिप्थिरियाबाट बचाउन प्रत्येक डेढ महिनाको फरकमा कम्तीमा दुईपटक खोप अनिवार्य लगाउनुपर्छ। यो वेला रक्तअल्पता र क्याल्सियमको कमी भइरहने भएकाले समय–समयमा परीक्षण गर्नुपर्छ।

 

पहिलेदेखि नै उच्च रक्तचाप भएका महिलामा गर्भावस्थामा झनै त्यसको जोखिम हुन्छ । साथै, गर्भमा जुम्ल्याहा बच्चा भएमा पनि यस्तो जोखिम हुन्छ। यसबाट बच्न प्रत्येक दिन एक ग्राम क्याल्सियम खुवाउनुपर्छ। दोस्रो बच्चा जन्माउन लागेका महिलालाई ७५ मिलिग्राम एस्प्रिन दिइन्छ । नियमित रगत र पिसाब जाँच गर्नुपर्छ।

 

खानपानमा ख्याल
गर्भमा रहेको शिशु पूर्णतया आमामै निर्भर रहने भएकाले यस्तो वेला गर्भवतीलाई बढी पौष्टिक आहारको आवश्यकता हुन्छ। क्याल्सियम, प्रोटिन, भिटामिन, खनिज, कार्बोहाइड्रेटलगायत पौष्टिक तत्व भएका खानेकुरा नियमित सेवन गर्नुपर्छ। शरीरलाई आवश्यक शक्तिको पूर्ति गर्न गर्भवती महिलाले दैनिक तीन सयदेखि चार सयसम्म क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । त्यस्तै, डिहाइड्रेसनबाट बच्न प्रशस्त पानी पिउनुपर्छ। फोलिक एसिडबाहेक गर्भावस्थामा कुनै औषधि सेवन गर्नुहुँदैन । सेवन गरेमा बच्चाको स्वास्थ्यमा असर पर्न सक्छ।

 

पर्याप्त आराम 
गर्भावस्थामा शरीरका सबै अंग कमजोर र खुकुलो भएका हुन्छन् । त्यस्तै, सुत्केरी भइसकेपछि अंग झनै कमजोर हुन्छन् । तसर्थ, सुत्केरी भइसकेको करिब डेढ महिनासम्म आराम गर्नुपर्छ। त्यस्तै, सुरुको तीन महिना तथा अन्तिमको समयमा बच्चा खेर जाने सम्भावना उच्च रहन्छ । त्यसैले, बढी शारीरिक परिश्रम हुने काम गर्नुहुँदैन । प्रशस्त आराम गर्नुपर्छ। 

 

यद्यपि, सामान्य एक्सरसाइज भने गर्न सकिन्छ । १४ देखि २७ हप्तासम्मको अवधिलाई सुरक्षित मानिन्छ । यो समयमा गर्भवतीले यात्रामा जान वा सानोतिनो काम गर्न सक्छन्। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ परोपकार प्रसूतिगृह्र, थापाथलीलका डा.प्रा.डा.गेहनाथ बरालले लेखेका छन्।

गर्भावस्था महिला

विशेष