स्वास्थ्य

डाक्टरले अब लाइसेन्स नवीकरण गर्नुपर्ने

डाक्टरले अब लाइसेन्स नवीकरण गर्नुपर्ने

काठमाडौं । चिकित्सा पेसामा रहेका डाक्टरहरूले लाइसेन्स नवीकरण गर्नुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलबाट एकपटक लाइसेन्स लिएर सधैंभरि चिकित्सा अभ्यास गर्न पाउने व्यवस्था हटाउन लागिएको हो । लागू गर्न खोजिएको नयाँ व्यवस्थाअनुसार लाइसेन्स नवीकरणका लागि निरन्तर पेसा उन्नयन (कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट–सीपीडी) कार्यक्रमबाट ५ वर्षभित्रमा एक सय अंक प्राप्त गर्नुपर्नेछ । ‘यो कार्यक्रम लागू गर्न सैद्घान्तिक सहमति भइसकेको छ,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने, ‘काउन्सिलले राज्यसँग समन्वय गरेर कार्यक्रम छिट्टै लागू गरिनेछ ।’

 

सीपीडीअन्तर्गत लिखित वा प्रयोगात्मक परीक्षा भने हुनेछैन । ‘डाक्टरहरूले आफ्नो विषयमा अद्यावधिक रहनुपर्छ, चिकित्सा क्षेत्रको उपलब्धि जान्नुपर्छ,’ डा. शर्माले भने । सीपीडी कार्यक्रम उपभोक्ताको हितमा रहेको रजिस्ट्रार डा. शर्माले दाबी गरे । ‘यो कार्यक्रमले डाक्टरको ज्ञान र सीपलाई अझ परिस्कृत गर्छ । यसबाट चिकित्सक र बिरामीबीच कहिलेकाहीँ हुने असमझदारी न्यूनीकरण हुन सक्छ,’ उनले भने । अस्वाभाविक रूपमा लेखिने औषधि र परीक्षणलाई व्यवस्थित गर्नुका साथै चिकित्सा क्षेत्रमा हुन सक्ने संक्रमणलाई न्यूनीकरण गर्न काउन्सिलले सीपीडी कार्यक्रम ल्याउन लागेको हो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

चिकित्सा नेपाल मेडिकल काउन्सिल लाइसेन्स नवीकरण

विशेष