विश्वकप क्रिकेटः वेस्ट इन्डिजविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जीत
काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया लगातार दोस्रो खेलमा पनि विजयी भएको छ । बिहीबार राति भएको खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराउँदै अष्ट्रेलिया दोस्रो खेलमा पनि विजयी भएको हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । गयराति सम्पन्न खेलमा २८९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो ।
उसका लागि साई होपले ६८, कप्तान जोसन होल्डरले ५१, निकोलस पुरनले ४०, क्रिस गेल, सिमरोन हिटमायरले २१–२१, कार्लोस ब्रेथवेटले १६, आन्द्रे रसेलले १५ र एश्ले नर्सले नट आउट १९ रन बनाए । बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ५, प्याट कमिन्सले २ र एडम जम्पाले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २८८ रन बनायो । उसका लागि नाथन कुल्टर–नाइलले शानदार प्रदर्शन गरे । उनले ४ छक्का र ८ चौकाको मद्दतमा ६० बलमा ९२ रन बनाए ।
यस्तै, स्टिभ स्मिथले ७३, एलेक्स केरीले ४५, कप्तान आरोन फिन्चले ६, डेभिड वार्नरले ३, उश्मान ख्वाजाले १३, मार्कस स्टोइनिसले १९, मिचेल स्टार्कले ८ र प्याट कमिन्सले २ रन बनाए । बलिङमा वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले ३, सिल्डोन कोट्रेल, आन्द्रे रसेल, ओशने थोमसले २–२ र जोसन होल्डरले एक विकेट हात पारे ।
विश्वकप क्रिकेट वेस्ट इन्डिज भर्सेस अष्ट्रेलिया