हावाहुरीबाट कैलालीमा दुईको मृत्यु, ७६ जना घाइते

कैलाली । कैलालीमा बिहीबार साँझ आएको हावाहुरीका कारण अहिलेसम्म २ जनाको ज्यान गएको छ । गोदावरी नगरपालिकामा एक र टीकापुर नगरपालिकामा एक गरी दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।
ज्यान गुमाउनेमा गोदावरी नगरपालिका–४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका–२ का लहानु डंगौरा रहेका छन् । चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण अहिलेसम्म ७६ जना घाइते भएका छन् । गम्भीर रहेका ४ जनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताए । क्षतिको थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिएको छ । हावाहुरीका कारण यहाँको विद्युत अवरुद्ध भएको छ ।
हावाहुरी कैलाली