प्रश्नले जन्माएका प्रश्नहरु
देशमा ७ रेक्टर स्केलमाथिको भूइँचालो जान्छ भन्ने अफवाह फैलाएपछि आफूलाई ‘ज्योतिष हुँ’ भन्ने एक उट्पट्याङ अर्जुन क्षेत्री नामका युवक पक्राउ परे । यो जरुरी थियो । समाजमा आतंक मच्चाउने जो कोही होस सबक सिकाउन जरुरी छ ।
तर, प्रश्न उठेको छ के सबक सिक्नुपर्ने अर्जुनले मात्र हो ? अहिले सामाजिक संजालदेखि सार्वजनिक मञ्चहरुमा सबैको एउटै खाले प्रश्न छ :
काठमाडौंमा मेलम्चीको पानी ल्याउँछु भनेर पटक–पटक मिति नै किटान गर्ने तर कहिल्यै पानी नल्याउनेलाई पक्राउ किन नगरेको ?
हरेक दिन नयाँ परिवर्तन गरेर देखाउँछु भन्ने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही पनि नगरेपछि किन पक्राउ नगर्ने ?
अबको पाँच बर्षसम्म प्रधानमन्त्री केपी ओली नै हुन् भनेर झ्याली पिट्ने पुष्पकमल दाहाल प्रचण्डज्यूले एक्कासी ५ बुँदे सहमति भन्दै आलोपालोको कुरा उठाएपछि किन पक्राउ नगर्ने ?
पुसमा पानी जहाज चढ्न आउनु भनेर संसद्बाटै निम्ता दिने प्रधानमन्त्री केपी ओली अर्जुनभन्दा के अर्थमा कम भए ? उनलाई किन छुट ?
सर्वहारा वर्गको हित गर्छौ भनेर चुनाव जित्ने तर भ्रष्टाचार मात्र गरेर जनता मार्ने नेताहरुलाई किन कारवाही नगर्ने ?
निर्वाचनमा पराजयपछि अब एक भयौं, गुटउपगुट छैन भन्ने तर दैनिक गुटका मात्र भेला गरेर कार्यकर्ता ढाँट्ने कांग्रेस नेताहरुलाई किन पक्राउ नगर्ने ?
नेपालीले अधिकार पाएनन् भन्ने तर धमाधम विदेशीलाई नागरिकता बाँड्नेहरुलाई चाहिं किन पक्राउ नगर्ने ?
मुलुक र जनता नै सर्वोपरी भन्ने तर विदेशीको पैसा खाएर विदेशीका एजेण्डा मात्र लागु गर्ने नेताहरुलाई किन नकोच्ने ?
यस्ता दर्जनौ प्रश्न गाउँदेखि शहर, चियापसलदेखि सामाजिक संजालसम्म लगातार उठिरहेका छन् । अर्जुनले ७ रेक्टर स्केल भन्दा माथिको भूकम्प आउँछ भन्दा तत्काल पक्राउ गर्ने सरकारले आफूले भने दैनिक ढाँटिरहँदा सजायको भागिदार हुनुपर्दैन ?
भूकम्प भनेको जमिनको कम्पन हो । कुनैपनि प्रक्रियाबाट यदि जमिन हल्लिन्छ भने त्यो भूकम्प हो । सडकमा बडेमानको ट्रक जाँदा पेटीका यात्रुले कम्पन महसुस गर्छन्, त्यो पनि भूकम्प हो ।
तर, हामीले बुझ्ने गरेको भूकम्प भनेको ‘प्लेट टेक्टोनिक’ सिद्धान्तमा आधारित छ । पृथ्वीको गर्भमा रहेका विभिन्न प्लेटहरुको हलचलले उत्पन्न कम्पन नै भूकम्प हो । यसको शक्ति फरक–फरक हुन्छ । विश्वमा जापान, फिलिपिन्स लगायतका केही मुलुक छन् , जहाँ दैनिक भूकम्प गैरहेको हुन्छ । त्यहाँका मानिसहरुले भूकम्पबाट क्षति नहोस भनेर त्यही किसिमका संरचना निर्माण गरेका छन् । यसले ठूलो क्षति हुन पाउँदैन ।
हाम्रो देश नेपाल ठूलो भूकम्पिय जोखिममा छ । भूगर्भशास्त्रीहरुका अनुसार ‘हिमालयन जोन’ मा भूकम्पको सम्भावना बढी रहन्छ । अझ भूकम्प गएको लामो समय भएको छ भने त्यहाँ पुनः शक्तिशाली भूकम्प आउने सम्भावना रहन्छ । भू विज्ञानको भाषामा लामो समयसम्म भूकम्प नजानुलाई ‘सेस्मिक ग्याप’ भनिन्छ । यदि कहिं यस्तो ‘ग्याप’ एक सय वर्ष भन्दा बढी पुगेको छ भने त्यहाँ भूकम्पको सम्भावना रहन्छ ।
अहिलेसम्म संसारमै भूकम्पको पूर्वानुमान गर्ने कुनै सिद्धान्तको विकास भएको छैन । हाम्रो नेपाल ‘हिमालयन जोन’ मा रहेकाले भूकम्प जान्छ भन्ने त निश्चित छ तर कतिबेला र कुन शक्तिको जान्छ भन्ने थाहा छैन । अहिलेसम्मको विज्ञानको प्रगतिको अनुसार कहिले जान्छ र कुन शक्तिको जान्छ भन्ने पत्ता लगाउन असम्भव छ ।
यस्तो बेला अर्जून क्षेत्री जस्ता दुई चार जना उट्पट्याङ मच्चाउने व्यक्तिले भूकम्प जान्छ भनेर जाने कुरा होइन । कहिलेकाहिं संयोग मिल्नु फरक कुरा हो । अझ ज्योतिष विज्ञान अनुसार भूकम्पको पूर्वानुमान गर्नु त झन मूर्खता हो । ज्योतिषहरुले मुलुकमा प्राकृतिक विपद्, आकस्मिक दुर्घटना लगायतको सम्भावनाका विषयमा भने बोलिरहन्छन्, त्यो भविष्यवाणी नगरे पनि मिल्ने कुरा हो ।
२०७२ साल बैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि तत्कालिन राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख डा. सोमनाथ सापकोटासंग एकपटक कुरा गर्ने मौका मिल्यो । उनले भनेका थिए, ‘हामीले समाजमा टेरर (आतंक) मच्चाउने काम गर्नु हुँदैन । कतिपय जियोलोजिष्ट (भूगर्भविद् ) हरुले अब झन ठूलो भूँइचालो जान्छ भनेर समाजमा आतंक मच्चाइरहेका छन् । यो बन्द गर्नुपर्छ । सबैभन्दा पहिले भूकम्पबाट आत्तिएका सर्वसाधारणको मनोबल बढाउन लाग्नुपर्छ । ’
उनको त्यो बेलाको भनाइ अहिले अर्जुन क्षेत्रीमा सरकारले लागु गरेको छ, तर क्षेत्री भन्दा पनि भयानक कुरा गरेर जनता आतंकित पार्नेलाई चाहिं किन छुट दिएको हो ? कि क्षेत्री भन्दा बढी झूठ कुरा गरेर जनता आतंकित पार्नेमा राज्य संयन्त्र आफै संलग्न भएर नसकेको हो ? जवाफ कसले दिने ? त्यसकारण जमिन हल्लिने प्रक्रियाको भूकम्पभन्दा हाम्रो सरकार र सरकारका जिम्मेवार अधिकारीले मच्चाएको भूकम्प बढी खतरनाक छ । यसले बढी आतंक सृजना गरेको छ ।
भूकम्पलाई कसैले रोक्न सक्दैन, तर क्षति न्यूनीकरण गर्न सकिन्छ । यसका लागि पूर्वाधार निर्माण र आवश्यक होशियारी प्रमुख कुरा हुन् । यस्तै, रोक्न नसकिने भूकम्प अब नेपाली राजनीतिमा जाने देखिन्छ ।
जसरी ‘सेस्मिक ग्याप’ का आधारमा बैज्ञानिकहरुले भूकम्पको सम्भावना आंकलन गर्छन् त्यस्तै प्रत्येक १० बर्षमा परिवर्तन हुने नेपालको राजनीतिक ‘ग्याप’का हिसाबमा भन्ने हो भने राजनीतिक परिवर्तनको समय ठ्याक्कै पुगेको छ ।
२००७ सालमा प्रजातन्त्र आयो, ठ्याक्कै दश वर्षपछि तत्कालिन राजा महेन्द्रले २०१७ सालमा पञ्चायती व्यवस्था सुरु गरे, २०२८ सालमा महेन्द्रको रहस्यात्मक निधन, २०३६ सालमा जनमतसंग्रह, २०४६ सालमा बहुदलीय व्यवस्था, २०५२ सालमा माओवादीबाट जनयुद्धको घोषणा, २०५८ सालमा दरवार हत्याकाण्ड, २०६२/०६३ सालमा दोसो जनआन्दोलन र राजसंस्था अन्त्यको घोषणा ।
यो २०७६ साल हो । समयका हिसाबले राजनीतिक परिवर्तन हुनुपर्ने देखाउँछ । हरेक दश वर्षमा हुने यो भयंकर राजनीतिक परिवर्तन के संयोग मात्र होला र ?
मुलुकको राष्ट्रिय राजनीति सरल ढंगले अघि बढेको छैन । सत्तारुढ दल नेकपा भित्रको विवाद चरम अवस्थामा पुगेको छ । कुनैपनि बेला सरकार ढल्ने र नेकपा फुट्नेसम्मका लक्षण देखिएका छन् ।
अर्कोतर्फ सरकारप्रति सडकमा तीब्र आक्रोश पोखिदैछ । एकजना ज्ञानेन्द्र शाही नामको झिल्कोले पूरै सिंहदरवार र बालुवाटार जलाउन सक्छ भन्ने स्पष्ट संकेत देखिसकेको छ । सुनकाण्ड, निर्मला काण्ड, वाइडबडी, बालुवाटार काण्ड त परका कुरा भए ।
यहीबेला भारत, चीन, अमेरिका र युरोपियन युनियनमा आबद्ध मुलुकहरु आ–आफनो प्रभाव बढाउन कम्मर कसेर लागेका छन् । नेपाललाई प्रयोग गरेर आ–आफनो राजनीतिको रोटी सेक्नुपर्ने भएकाले नेपाली जनताले सुख पाउन वा दुःख उनीहरुको मतलवको विषय भएन ।
यहीबेला नेपाली राजनीतिमा अर्को एउटा भूकम्प जाने लगभग निश्चित छ । के त्यो भूकम्प भनेको काँग्रेस, नेकपाको प्रचण्ड समूह र राजपाको गठवन्धनको सरकार हुनसक्छ ? यस्तो भयो भने अचम्म नमान्दा हुन्छ । पछिल्लो समय प्रचण्डले ५ बुँदे सहमति सार्वजनिक गर्दै आलोपालो प्रणाली लागू गर भनेर हचुवाको भरमा बोलेका होइनन् ।
पृष्ठभूमिमा भैरहेको राजसंस्था तथा हिन्दू राष्ट्र पुनस्र्थापनाको खेल र सेनाको भूमिकाका विषय समेत सम्भावित भूकम्पका रुपमा हेरिएका छन् ।