मुख्य समाचार स्वास्थ्य

एक वर्षमा ४५ हजार क्षयराेगी, रोग निवारण चुनौतीपूर्ण बन्दै

एक वर्षमा ४५ हजार क्षयराेगी, रोग निवारण चुनौतीपूर्ण बन्दै

 


काठमाडौँ । क्षयरोगका कारण वर्षेनी मृत्यु हुनेको सङ्ख्यामा घट्दो रहेपनि नयाँ रोगीको सङ्ख्यामा बढ्दै गएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौमा सार्वजनिक गरेको क्षयरोगीसम्बन्धी संयुक्त अनुगमन तथा सुझाव प्रतिवेदनमा पछिल्लो समय क्षयरोगका कारण वर्षेनी मृत्यु हुनेको सङ्ख्यामा घट्दो रहेपनि नयाँ रोगीको सङ्ख्यामा बढ्दो नै रहेको देखिएको हो ।

 

नेपालले सन् २०३५ भित्र सो रोग निवारण गर्ने लक्ष्य लिएको छ । संयुक्त अनुगमन तथा सुझाव अध्ययनमा नयाँ क्षयरोगीको संख्या ४५ हजार पुगेको तर मृत्युहुनेको संख्या छ हजार ६०० रहेको उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनद्वारा संयुक्त रुपमा गरेको अनुगमन प्रतिवेदनमा क्षयरोग निवारणका लागि सञ्चालित पाँचवर्षे रणनीति को पुनरावलोकन गर्न समेत सुझाव दिइएको छ ।

 

कार्यक्रममा उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले क्षयरोगको भार बढ्दो क्रममा रहेका हुँदा यसलाई निवारण गर्न थप चुनौती र जटिलता रहेको बताउनुभयो । उहाँले क्षयरोग निवारणका लागि कार्यान्वयनमा आइरहेको पञ्चवर्षीय योजनाका लक्ष्य पूरा गर्न मन्त्रालयले प्राथमिकता दिएको दाबी गर्नुभयो । 

 


नेपालका चारजना विशेषज्ञ डाक्टर सेनेन्द्रराज उप्रेती, डाक्टर डिबी चन्द, डाक्टर नरेशप्रताप केसी र डाक्टर यशोवद्र्धन प्रधानसहित अन्तराष्ट्रिय क्षेत्रका डाक्टर पाउल नुनको नेतृत्वका १० जना विज्ञले नेपालको क्षयरोग कार्यक्रमका बारेमा अनुगमन  गरेका थिए । अनुगमनका क्रममा ४६ जिल्लाबाट मात्र क्षयरोगका बारेमा विद्युतीय रिपोर्टिङ मन्त्रालयलाई आउने गरेको, तालिम प्राप्त जनशक्ति तथा प्रयोगशालाको अभाव देखिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।   

विशेष