भोटो कसको ?
ललितपुर । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार ललितपुरमा सम्पन्न भएको छ । ललितपुरको जावलाखेलमा आइतबार विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको हाे ।
भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारी सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेना, नेपाल प्रहरी र स्काउटको टोलीले सलामी अर्पण गरेको थियो ।
समारोहमा उपराष्ट्रपति नन्द वहादुर पुन, कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्ण वहादुर महरा लगायत सुरक्षा निकायका प्रमुख, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा हजारौँ सर्वसाधारण भोटो देखाउने जात्रामा सहभागी भए । त्यसक्रममा राष्ट्रपति भण्डारीले मच्छिन्द्रनाथको दर्शन गर्नाका साथै पाटनकी जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गरेकी थिइन्
मच्छिन्द्रनाथको रथलाई जाउलाखेल पुर्याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा भएको हो ।
मच्छिन्द्रनाथलाई अन्नदाता,पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।मच्छिन्द्रनाथको रथजात्रा जावलाखेल पुगेको तीन दिनपछि भोटो देखाउने जात्रा मनाउने गरिन्छ ।
किन देखाइन्छ भोटो ?
भोटोजात्रा कसले र कहिलेदखि चलाएको हो भन्नेबारको अभिलेख हालसम्म प्राप्त भएको छैन । जनश्रुतिअनुसार कर्कोटक नाग राजाको नागिनीलाई आँखाको रोग लागेछ । अनेक औषधि गर्दा पनि निको पार्न नसकेपछि वैद्य खोज्न कर्कोटक नागराजा पोखरीबाट निस्केर मान्छेको रूपमा वैद्य खोज्न थालेछन् ।
उनले एक जना किसान जसलाई वैद्यको ज्ञान थियो अनुरोध गरी दरबारमा लगेर रानीको आँखा दुःखेको उपचार गर्न लगाएछन् । अलिअलिमात्र वैद्यको काम जानको किसानले श्रीबुंगमलोकेश्वरको नाम जपेछन् । एक घण्टापछि नागिनीको दुखेको आँखा निको भयो । नागले खुशी भएर वैद्य लाई चिन्तामणि भोटो उपहार दिएछन् ।
साथै भोटो कसैलाई पनि नदिन र भुईँमा नराख्न भनेछन् । भोलिपल्ट खेतमा काम गर्दा गर्मी भएपछि किसानले भाटो फुकाली काम गर्न थालेछन् तर भूतले भोटो लगाएर हिँडेछ । भोटो अरु कसैले चोरेपछि किसान दिक्क मान्दै घरतिर फर्किएछन् ।
एक दिन मच्छिन्द्रनाथको जात्रा हेर्न किसान जावलाखेल पुगेका बेला भूत पनि भोटो लगाउँदै जात्रा हेर्न त्यहीँ आइपुगेछ । किसानले आफ्नो भोटो देखेपछि भूतलाई भोटो मागेछन् तर भूतले भोटो आफ्नो भनेछ । निसाफका लागि दुवैजना राजाकहाँ पुगेछन् । राजाले भोटो कसको हो प्रमाण ल्याउन भनेछन् ।
राजाले जसले प्रमाण ल्याउँछ उसैले भोटो पाउँछ भनेपछि वर्षको एकचोटि भोटो देखाउने चलन चलेको विज्ञहरु बताउँछन् ।
भोटोजात्रा