घमण्डले हरायो भारतलाई, विश्वकप जित्ने सपना चकनाचुर
आफनै घमण्डका कारण विश्वकप क्रिकेटको उपाधि जित्ने भारतको सपना चकनाचुर भएको छ । लिग चरणमा तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको भारत न्युजिल्याण्डसंगको सेमिफाइनल खेलमा भने १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
यो हारमा भारतका शीर्ष तहका ब्याट्सम्यानको घमण्ड र लापरवाही थियो । निकै फर्ममा रहेका रोहित शर्माले न्युजिल्याण्डलाई कमजोर ठान्दा १ रनमै विकेट गुमाए । न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्यलाई सहज ठान्दा कप्तान विराट कोहली र राहुल पनि एक–एक रनमै आउट भए । उनीहरुले न्युजिल्याण्डका बलरले फालेको बललाई अध्ययन नै नगरी ठूलो सट खेल्न प्रयास गर्दा विकेट गुमाउन पुगे ।
बल्लतल्ल विश्वकपमा मौका पाएका रिसव पन्तले आफना स्वभाविक खेल खेल्नुपर्नेमा बढी नै सतर्क हुँदा आउट हुन पुगे । उनले ३२ रन बनाए । यस्तै, आक्रामक ब्याटिङ गर्न खप्पिस दिनेश कात्तिक व्यक्तिगत ६ रनमा आउट भए । उनले पनि स्वभाविक खेल नखेली बढी होशियार भएर टेष्ट म्याचको हिसाबमा खेल्दा आउट हुन पुगे ।
भारतका लागि रविन्द्र जडेजा बाहेक कसैको पनि ब्याटिङ राम्रो रहेन । जडेजाले ५९ बलमा ७७ रन बनाए । आफनो पारीमा उनले ४ चौका र ४ छक्का प्रहार गरे । महेन्द्र सिंह धोनीको प्रदर्शन औसत रह्यो । उनी ५० रन बनाएकाबेला दुई रन जोड्नेक्रममा दुर्भाग्यवशः रनआउट हुन पुगे । उनी क्रिजमा भएको भए नतिजा भारतको पक्षमा हुने सम्भावना कायमै थियो ।
यो खेलसँगै भारतको विश्वकप क्रिकेट जित्ने सपना चकनाचुर भएको छ । खेलाडीका हिसाबमा कप्तान विराट कोहलीको आलोचना सुरु भैसकेको छ ।