समाज

आइफा अवार्ड : के हाे, के हाेइन ?

आइफा अवार्ड :  के हाे, के हाेइन ?


हरि न्यौपाने । 
काठमाडौँ । –‘काठमाडौँ महानगरपालिका सह आयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौँमा इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड आयोजना गर्न स्वीकृति दिइएको छ ।’ मन्त्रिपरिषद्को गत असार ८ गतेको निर्णय हो यो ।  सरकारले नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवर्द्धनका लागि ‘आइफा अवार्ड–२०१९’ नेपालमा आयोजना गर्ने जानकारी विहीबार सूचना, सञ्चार तथा प्रविधिमन्त्रीले गराएका थिए ।

 

अगस्ट अन्तिम साता अर्थात भदौको दोस्रो हप्तामा काठमाडौंमा हुने भनिएको अवार्ड वितरणमा ६ सयभन्दा बढी प्रतिनिधि सहभागी रहने र ६० भन्दा बढी भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहने जनाइएको छ । तर अवार्ड कार्यक्रमबारे भने विभिन्न टिकाटिप्पणी सुरु भैसकेका छन् । भारतीय फिल्म फेयर अवार्डका लागि तत्काल ४४ करोड दिने सरकारको निर्णय विवादमा परेपछि सरकारका मन्त्री यसको बचावटमा लागेका छन् भने स्वयं सत्तारुढ दलकै नेता विरोधमा उत्रिएका छन् । 


आइफाका लागि मन्त्रिपरिषद्ले गठन गरेको उच्चस्तरीय समितिमा महानगर मेयर, गृह, परराष्ट्र, अर्थ, स्थानीय विकास, सूचना मन्त्रालयका सचिव, नेपाल पर्यटन बोर्ड, चलचित्र विकास बोर्ड, नेपाल उडड्यन प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, होटल एसोसिएसन अफ नेपालका प्रमुखहरू सदस्यका रूपमा रहने बताइएको छ।

 

के हो आइफा ?
द इन्टरनेशनल इण्डियन एकेडेमी फिल्म अवार्डस ९आइफा अवार्डको सुरुवात सन् २००० मा भएको थियो । हरेक वर्ष यो अवार्ड भिन्न भिन्न देशमा आयोजना गर्ने गरिएको छ । पहिलो आइफा अवार्ड लण्डनमा भएको थियो । त्यसपछि यसका संस्करणहरु साउथ अफ्रिका, मलेशिया, सिंगापुर, नेदरल्याण्ड, मकाउ, थाइल्याण्ड, दुबई, क्यानडा, श्रीलंका, सिंगापुर, स्पेनमा भैसकेका छन् ।

 

आइफाको गतवर्षको संस्करण थाइल्याण्डमा भएको थियो । आइफा अवार्ड बिजक्राफ्ट इन्टरनेशनले आयोजना गर्ने गरेको छ । चर्चित अभिनेता अभिताभ बच्चन आइफा अवार्डको ब्राण्ड एम्बेसडर छन् । 


नेपाली कलाकारहरुको तीव्र असन्तुष्टि
आइफा अवार्डलाई लिएर नेपाली कलाकारहरुले तीव्र असन्तुष्टि जनाएका छन् ।  नेपालमा यस्तो अवार्डको आयोजना हुनु राम्रै भए पनि सरकारले आर्थिक सहायता दिने निर्णय गर्नु आलोच्य विषय भएको कलाकारहरुको प्रतिक्रिया छ । सोमबार राजधानीमा भएको कार्यक्रममा कलाकारहरुले एकसाथ आइफा अवार्डको विोध गरेका थिए ।

 

कलाकारहरुको विरोधको कारण यो पनि छ कि तीन वर्ष भैसक्दा पनि राष्ट्रपतिले प्रदान गर्ने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना हुन सकेको छैन । पुरस्कार र सम्मान तय भएपनि राष्ट्रपतिको फुर्सद नमिलेका कारण यसलाई चलचित्र विकास बोर्डमा थन्क्याइएको छ। यसैले पनि नेपाली कलाकारहरु भुवन केसी, नवल खड्का, जीतु नेपाल, करिश्मा मानन्धर लगायतले तीव्र असन्तुष्टि जनाएका छन् ।  


नेपाललाई के फाइदा होला ?
आगामी ५० वर्षमा पनि भारतीय कलाकार नेपाल नआउने भन्दै सुरु भएको आइफाबारेको टिकाटिप्पणीमा सामाजिक सञ्जाल दुई भागमा विभक्त भएको छ। आइफाको पक्षमा रहनेले नेपाल भ्रमण वर्षको प्रवद्र्धन हुने, संसारभर प्रतिष्ठित कलाकार नेपाल आउँदा नेपालको विश्वव्यापी प्रचार हुने विश्लेषण गर्न थालेका छन् । हुन पनि भारतीय सिने उद्योगका चर्चित अभिनेता देवानन्दले आफू स्क्रिप्ट लेख्नुपर्दा नेपालको पोखरा पुग्ने गरेको खुलासा गरेका थिए । देवानन्दसँग राजा महेन्द्रको पनि मित्रता थियो ।

 

देवानन्दका कतिपय फिल्मले नेपालको सांस्कृतिक पक्ष उजागर गरेको थियो । गरेका छन् पनि । कलाकारहरु अक्षय कुमार, सन्नी लियोनी, सोनाक्षी सिन्हा लगायतले नेपाल भ्रमणपछि राखेका सुन्दर तस्वीरले करोडौँ फ्यान फलोअर्स भएकाहरुले नेपालबारे थाहा पाए जुन निकै सकारात्मक पनि हो । अर्कोतर्फ नेपालमा हिन्दी सिनेमाको पहिल्यैदेखिको प्रभाव रहेकाले बलिउड कलाकारहरु नेपाल आउँदा सर्वसाधारणलाई चासो हुनु स्वभाविकै हुनेछ ।

 

उनीहरुले निकै चासो पनि दिनेछन् ।  अर्कोतर्फ बलिउडका हस्तीहरुको नेपाल आगमन हुँदा संसारको दोस्रो ठूलो फिल्म उद्योगका उत्पादनहरु हेर्ने विश्वको एक चौथाई जनसंख्यालाई नेपालबारे जानकारी हुन्छ ।  

 

लगानी : नाफा र घाटा  विश्लेषण
लगानीेले जहिले पनि नाफाघाटाको विश्लेषण गर्छ । लगानी नै नभईकन लाभ लिन सकिन्नँ । नाफा भए लगानीकर्तादेखि सबैलाई सन्तुष्टि दिन्छ घाटा भए कुना कुनाको कमजोरी खोतलिन्छ । विश्वका अति विकसित देखि नेपालजस्ता विकासोन्मुख मुुलुकमा पनि आइफा अवार्ड भैसकेको छ । अति विकसित मुलुकमा लगानी विश्लेषण भन्दा हामीजस्ता मुलुकका लागि भने यो एकदमै चासोको विषय बन्छ ।

 

लगानीका कतिपय पक्ष सकारात्मक पनि हुने गरेका छने जस्तो कि आइफा अवार्डको ११ औं संस्करण श्रीलंकामा भएको थियो । ७० वर्षे राजनीतिक द्धन्दको सन् २००६ मा अन्त्यसँगै विदेशी पर्यटकलाई श्रीलंका भ्रमणयोग्य स्थान हो है भन्ने देखाउनका लागि आइफा अवार्डका लागि श्रीलंकन सरकारले १ बिलियन रकम खर्च गर्यो । तर आइफा अवार्ड आयोजनापश्चाद् श्रीलंकामा भारतीय मल्टिप्लेक्स सिनेमाहलहरु खोलिएका थिए ।

 

यसका लागि भारतीयले नै लगानी गरेका थिए । भारतीय पर्यटकको उपस्थिति उल्लेख्य रुपमा बढेको त्यहाँको समाचारपत्रले जनाएको छ । तीन दिने अवार्डका दौरान ५ देखि ६ हजार होटेल रुम प्रयोग गरिए । बलिउड सेलिब्रेटीले क्यासिनो, पार्टी, शपिङमा लाखौँ खर्च गरेका थिए । साथै १२० देशका ६०० मिलियनले अवार्ड एकसाथ हेरेका थिए । यसले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको त्यहाँका मिडियाको विश्लेषण छ । 

 

सुधार्नुपर्ने पक्ष पनि छन्  कि ?
आइफा हुँदैमा पर्यटक बढीहाल्ने, सुधार भैहाल्ने ग्यारेण्टी भने हुन्न । यद्यपि भारतीय प्रधानमन्त्रीले् मुक्तिनाथ, जनकपुरधामको भ्रमण गरेपछि भारतीय मिडियाभर नेपालको मुक्तिनाथ र जनकपुरधामबारे चित्र छाए । यसले नेपालमा भारतीय पर्यटक बढाउन निकै ठूलो भूमिका पनि खेल्यो तर यसमा केही सुधारका पक्ष भने विचारणीय छन् ।

 

ठीक एक वर्ष अघि यही बेला भारतीय चर्चित अभिनेत्री जुही चावलाले नेपाल भ्रमण गरिन् । जुही नेपालमा रहुन्जेल हुम्ला लगायतका स्थानमा पुग्दा मिडियाले खुब स्याबासी मच्चाए । तर स्वदेश फर्कनुपूर्व उनले लेखेको एक स्ट्याटसले भने संसारभर नेपालको छविमा हंगामा बनाइदियो । उनले काठमाडौँबासी हरेक दिन मेडिकल मास्क लगाएर हिड्नुपर्ने तथा धुलो धुँवाले आक्रान्त अवस्थाबारेको स्ट्याटस लेखेकी थिइन् । 

हेर्नुहोस् चावलाको स्ट्याट्स : 


 

 

अरुले यस्तै गर्लान वा नगर्लान् त्यो अहिले अनुमान लगाउन कठिन छ । यद्यपि के भन्न सकिन्छ भने भारतीय कलारकारले नेपालमा पक्कै पनि सुरक्षा, व्यवस्थापनका कारण सपिङ नगर्लान, क्यासिनो भने खेल्न सक्छन त ? यसको वातावरण बनाउन सकिन्छ कि सकिन्नँ ? अनि आइफाका यसअघिका ट्रेन्ड र आर्थिक पक्षलाई पनि सरकारले ध्यान दिने कि ?  

bollywood IIFA Awards

विशेष