विचार

यत्र, तत्र, सर्वत्र कफी कार्यालय

यत्र, तत्र, सर्वत्र कफी कार्यालय


प्रतिष्ठित एक कम्पनीमा मार्केटिङ विभाग सम्हालिरहेकी एक युवती आफना ओठमा लिपस्टिक लगारहेकी थिइन् । 

मेकअप किट्सबाट निकालिएको सानो ऐना हेर्दै उनले भन्नि, ‘बानेश्वरमा एउटा कफी मिटिङ छ । अलिकति इम्प्रेसन त दिनुपर्यो नि ! ’

मैले सोधे, ‘लिपस्टिक लगाएर इम्प्रेसन हुन्छ ?’
ओठमा लिपस्टिकलाई गाढा बनाउँदै उनले थपिन्, ‘आइ प्लेजर !’

उनले भन्न खोजेको आँखाको आनन्द हो । अंग्रेजीमा ‘आइ प्लेजर’ भनिन् । म हाँसिरहे, बोल्ने शब्द नै आएन । काठमाडौंको कफी कल्चरभित्र घुसेको यो व्याकरणसंग म पुरै अपरिचित थिएँ । 

केही समययता राजधानी काठमाडौमा गज्जबको ‘कफी कल्चर’ विकास भएको छ । मानिसहरु सामान्यदेखि महत्वपूर्ण कुनैपनि भेटघाट गर्नुपर्यो कि ‘कफी मिटिङ’ गर्ने गर्छन् । सामान्य औपचारिक÷ अनौपचारिक भेटघाट मात्र होइन महत्वपूर्ण पदमा बसेका शक्तिशाली व्यक्तिहरुका महत्वपूर्ण योजना समेत कफी मिटिङमा हुने गरेका छन् । 

अहिले बिहानदेखि रातीसम्म सानादेखि ठूला प्रायः सबै ‘कफी सप’ भरिभराउ हुन्छन् ।  ठूला र मध्यमस्तरका होटलमा त छुट्टै कफी हाउसको व्यवस्था गरिएको छ । कफी खाने लत लागेर मात्र मानिसहरु त्यहाँ जम्मा हुने होइन, आफनो जनसम्र्पक व्यवस्थापन, सानातिना भेटघाटसहित गम्भीर विषयमा समेत सरसल्लाहका लागि यस्ता कफी सप प्रयोग हुने गरेका छन् । 

काठमाडौंका नाम चलेका प्रतिष्ठित होटलहरुमा विहान, दिउँसो वा साँझ जतिखेर जाँदा पनि नेता, व्यापारी, कलाकारहरु आ–आफनो झुण्डमा बसेका हुन्छन् । पहिला–पहिला यस्ता भेटघाट घरमा गर्ने गरिन्थ्यो । तर, आजभोलि आफना पाहुनालाई घरमा बोलाउन झन्झट मानेर यस्तै कफी सपलाई भेटघाटको थलो बनाउने गरिएको छ । 

आर्थिक र पदीय हैसियत अनुसार मानिसहरु सानादेखि ठूला होटलमा कफीको बाहनामा जाने गरेका छन् । स्कूल, कलेजका विद्यार्थीहरु पछि छेउछाउका सानातिना कफी सपमा व्यस्त हुन्छन् । 

महत्वपूर्ण कम्पनीका अधिकारीहरुले आफना क्लाइन्टसंग भेटघाट गर्ने थलो पनि कफी सप नै हुने गरेको छ । ओठमा लिपस्टिक लगाएर कफीका लागि बानेश्वर आउने तयारी गरिरहेकी ती युवती पनि आफनो कम्पनीको मार्केटिङ डिलका लागि कफी सप ताकिरहेकी थिइन् । 

कफी स्वास्थ्यको लागि फाइदा वा बेफाइदा यसको बहस अर्को च्याप्टरमा गरौला । तर, अंग्रेजीमा भने जस्तो Excess of everything is very bad  भएकाले धेरै भयो भने त कफी मात्र होइन, कुनैपनि चिज हानीकारक त हुन्छ नै । 

कफी संस्कृतिले मदिरा संस्कृति घटेको अनुभव गर्न सकिन्छ । विभिन्न वाहानामा मदिरा खाने वातावरण बनाउनेहरु अचेल कफीतर्फ ढल्किरहेका छन् । यसले पैसा, समय र स्वास्थ्यको पनि बचत हुन्छ । 

तातो कफीसँगका मीठा बातहरु कुनै कविता भन्दा कम हुँदैनन् । अझ प्रेमी प्रेमिकाको सामिप्य होस, आँखामा आँखा जुधाएर, टेबुलमुनि बेलाबेला खुट्टाका औंला आपसमा ठोक्किउन..थाहा नपाएझैं हल्का मुस्कानकासाथ .. ओ हो सरी भनियोस ! क्या आनन्द ! 

मैले कतै पढेको कविता याद आयो ( रचनाकार स्मरणमा आएन ) 

विल्कुलै थाहा थिएन
एउटा संयोग, तिम्रो अनुरोधको
“के हामी, कुनै दिनसँगै कफी पिउन सक्छौँ ?”
त्यो क्षण
वातावरणजस्तै न्याना पलहरू र,
उड्दै गरेका कफीका वाफहरू
के संभव होला यसरी नै
उड्नलाई मान्छेका आंकाक्षा र सपनाहरू 
अपसोच !
कालो कफीको तीतो स्वादसँगै
मान्छेका मीठा सपनाहरू
उडिरन्छन् अनिश्चित..................।


 

विशेष