विश्वकपमा भारतको पहिलो हार, सेमिफाइनल पुग्ने इंग्ल्याण्डको सम्भावना कायमै
काठमाडौं । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको ३८ औँ खेलमा आयोजक टोली इंग्ल्याण्डले भारतलाई ३१ रनले हराएको यो । यो जीतसँगै इंग्ल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । विश्वकपमा इंग्ल्याण्डले भारतलाई २७ वर्षपछि हराउन सफल भएको हो । आइतवार राति बर्मिङ्घमको एजबेस्टनमा इंग्ल्याण्डले दिएको ३३८ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो ।
उसका लागि रोहित शर्माले शतक बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले १५ चौकाको मद्दतमा १०९ बलमा १०२ रन बनाए । जारी विश्वकपमा रोहितको यो तेस्रो शतक हो । यस्तै कप्तान विराट कोहलीले ६६, हार्दिक पाण्ड्याले ४५, ऋषभ पन्तले ३२ रनको योगदान दिए । महेन्द्रसिंह धोनी ४२ र केदार जाधव १२ रनमा नट आउट रहे । बलिङमा इंग्ल्याण्डमा लायम प्लेङकटले ३ र क्रिस ओक्सले २ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन बनायो । उसका लागि ओपनर जोनी बेरिस्टोले शानदार शतक बनाए । उनले ६ छक्का र १० चौकाको मद्दतमा १०९ बलमा १११ रन बनाए । जारी विश्वकपमा बेरिस्टोको यो पहिलो शतक हो । यस्तै बेन स्टोक्सले ७९, जेसन रोयले ६६, जो रुटले ४४, जोस बटलरले २०, क्रिस ओक्सले ७, कप्तान इओन मोर्गनले १ रनको योगदान दिए ।बलिङमा भारतका मोहम्मद सामीले ५, जसप्रित बुमराह र कुलदीप यादवले एक–एक विकेट लिए ।
इंग्ल्याण्डको जीतले पाकिस्तान समस्यामा परेको छ । यदि भारतले जितेको भए पाकिस्तान अंक तालिकामा चौथो स्थानमै यथावत हुन्थ्यो। पाँचौ स्थानमा धकेलिएको उसले बंगलादेशसँग जित निकालेर मात्रै पुग्ने छैन भाग्यको पनि भरोसा पर्नुपर्ने भएको छ ।
विश्वकप क्रिकेट इंग्ल्याण्ड भर्सेस भारत