‘डाक्टरले तीन वर्ष आयु तोकेका थिए, एचआइभीसँगै बाँचेको आज २५ वर्ष भयो’ (भिडियोसहित)
काठमाडौं । राजीव काफ्ले, २० वर्षअगाडि खुलामञ्चमा गएर ‘मलाई एचआइभी छ’ भनेर उद्घोष गर्ने व्यक्ति हुन् । त्यो बेला, उनले आफूमा भएको संक्रमण प्रति हिनता पालेनन् । आफू जस्तै अरु साथीहरु खोजेर नवविकरण प्लस नामक संस्था खोले । जागरणको काममा लागे ।
चिकित्सकले उनको आयु तीन वर्ष तोकिदिएका थिए । उनको आयु तोकिएको पनि आज वर्षौं भइसक्यो । तर उनी स्वस्थ छन् । आफ्नो काम, जिम्मेवारी ढूक्कले पूरा गरिरहेका छन् । उनले कुराकानीका क्रममा भने, ‘एड्सले मर्ने दिन गए । अहिलेसम्म चार तहको औषधि बजारमा उपलब्ध छ । म पहिलो तहको औषधि सेवन गरिरहेको छु । चौथो तहको औषधि खाने बेलासम्म म ७०–८० वर्षको हुन्छु ।’ राजीवलाई एचआइभी संक्रमण भएको लगभग २५ वर्ष भयो । उनी नेपालको दृष्किोणमा ‘लङ टाइम सर्भाइभर’ हुन् । राजीवको आफ्नै अनुभवमा भने यो सामान्य हो । किनभने अहिलेको औषधिको उपलब्धताले एचआइभी संक्रमणलाई गम्भीर हुन दिएको छैन ।
राजीवलाई एचआइभी भएको समयमा एन्टी रेक्ट्रोभाइरल औषधि सर्वसुलभ थिएन । आफू संक्रमित भनेर बाहिर सार्वजनिक भएपछि उनको विभिन्न मिडियाले अन्तर्वार्ता लिन थाले । जसका कारण उनी चिनिए । उनको काम धेरैले थाहा पाए । अन्तर्वार्ता लिने धेरै सञ्चारकर्मी मध्येमा एक अहिलेका चर्चित युवा नेता गगन थापा पनि थिए । उनी पहिले रेडियोमा काम गर्थे ।
सन् १९९७ मा डा. सुशील शाक्यले लिनु भएको एक कक्षामा राजीव पनि बसेका थिए । उनी लागू औषध प्रयोगकर्ता थिए । भाइरसले संक्रमण गरेपछि नेपालजस्तो देशमा तीनदेखि ५ वर्ष बाँच्न सक्ने उनले अनुमान गरेका थिए । आफू्र जीवनको अन्तिम अवस्थामा रहेको थाहा पाएपछि उनले नवकिरण प्लस संस्था खोले । संस्था खोल्ने बेलासम्ममा औषधि निस्किसकेको थियो ।
राजीवको संस्थाले औषधिबारे प्रचार सुरु गर्दा धेरैले भने कि –जीवन जल त जनताले पाउँदैनन् भने यस्तो औषधि कसरी पुर्याउन सकिन्छ ? हुन पनि हो, एन्टी रेक्ट्रोभाइरल औषधि नियमित सेवन गर्नु पर्छ । एक दिन मात्रै पनि औषधि छुट्दा भाइरसले त्यो औषधिमा विजय पाउन सक्छ । त्यस्तो औषधि सबैतिर सबैका लागि पाउनु पर्छ भनेर उनीहरुले अभियान थालेका थिए ।
तर उनीहरुले औषधि सबैले सधै सेवन गर्नुपर्छ भन्ने प्रचार गरे । राजीवको बुझाइमा अहिले नेपालमा करिब १७ हजारले यो औषधि नियमित सेवन गर्छन् । नियमित सेवन गर्नेलाई एड्स हुने सम्भावना लगभग शुन्य हुन्छ । त्यही भएर उनी ढूक्कले अब एचआइभी हुँदैमा एड्स भइहाल्दैन भन्न सक्ने भएका छन् ।
एचआइभी भएकाहरु धेरैलाई अब थाहा भइसक्यो कि यो संक्रमण हुँदैमा मान्छे मरि हाल्दैन । तर यदि एड्स भयो भने त्यसको औषधि छैन । र एचआइभी शरिरबाट निर्मूल पार्ने औषधि छैन भन्ने विषयले भने दुःखी बनाउँछ । यहि भएर राजीवसहित जति पनि सचेत एचआइभी संक्रमितहरु छन् उनीहरु दिनहुँ यो क्षेत्रमा भएका विकासमा अपडेट हुन्छन् । उनीहरु सबैको अबको अन्तिम लक्ष्य एचआइभीलाई सदाका लागि शरिरबाट निमिट्यान्न पार्ने खोप वा औषधिको हो ।
राजीवको अनुभव र अनुमानमा अबको पाँचसात वर्षमा एचआइभीविरुद्ध मानिसले विजय हाँसिल गर्नेछन् । एचआइभीलाई सदाका लागि शरिरबाट विदा गर्न सकिने औषधिको विकास हुनेछ । संसारका धेरै अनुसन्धान केन्द्रमा यसबारे काम पनि भइरहेको छ । नयाँ नयाँ आशालाग्दा उपलब्धि पनि भइरहेका छन् ।
मधुमेह, उच्चरक्तचापको पनि स्थायी उपचार छैन । रोकथामका विधि मात्रै मानिसले पत्ता लगाएका छन् । एचआइभी पनि त्यस्तै ठान्छन् राजीव । अझ अरु रोगको औषधि त नियमित सेवन गर्नुपर्छ, त्यो पनि आफैले पैसा तिरेर । एचआइभीको त सरकारले निःशुल्क दिन्छ । यो औषधि नेपाली बजारमा किनेर खानु पर्ने हो भने मासिक दुई हजार जति खर्च हुन्छ । युरोप अमेरिकामा लाख भन्दा बढी पर्छ ।
नेपालका एनजिओ र प्रचारका विषयमा राजीवले कुरा नलुकाई केही तथ्य खोले । उनी आफैले पनि एनजिओ चलाए । तर पनि उनी भन्छन्, ‘प्रचार प्रसार भनेको विदेशी फन्डिङमा भर पर्छ । विदेशीले पैसा दिए भने नेपालमा एनजिओले धुमधामसँग विभिन्न खाले दिवसहरु मनाउँछन् । पैसा दिएनन् भने ती बन्द हुन्छन् । नेपालमा पनि एचआइभीको क्षेत्रमा त्यस्तै भएको हो ।’
विदेशी दाताहरुसँग लामो समय काम गरेको अनुभवलाई छोट्याएर उनले बाँढे । उनले भने, ‘विदेशीले आफ्नो स्वार्थ हेरेर हामीलाई सहयोग गर्छन् । एक करोड रुपैयाँ सहयोग गरे पनि उनका मानिसलाई पनि नेपालमा काम गर्न पठाउँछन् र ती मान्छे मार्फत ५० लाख जति त तलबका रुपमा आफ्नै देशमा लैजान्छन् । यसकारण सधै मगन्ते भइरहन आवश्यक छैन । हामीले आफ्नै स्रोत उपयोग गर्न जान्ने हो भने धेरै काम गर्न सकिन्छ ।’
नवकिरण प्लस पहिले झै सक्रिय नभए पनि उपचारका लागि काठमाडौं आउने एचआइभी संक्रमितका लागि बसोबासको सुविधा भने दिइरहेको छ । बुढालिनकण्ठमा छ नवकिरण प्लसको होस्टल । जहाँ संक्रमितहरुले छोटो समयका लागि बसोबासको सुविधा लिन सक्छन् ।
एचआइभी निको पार्ने औषधि आफूसँग भएको दावी गर्नेहरु नेपालमा पनि छन् । अन्यत्र पनि यस्तो हल्ला हुने गर्छ । अहिलेसम्म एचआइभी हटाउने आषधि छैन । कसैले औषधि छ भने दावी गर्छ भने उसको कुरा पत्याउन सकिदैन । किनभने कुनै पनि औषधि प्रमाणि गर्नुअघि हजारौं मानिसहरुमा परीक्षण गरेपछि मात्रै बजारमा जान्छ । कसैसँग एचआइभीको औषधि छ भने त्यो मानिस आजको लागि विश्वको सबैभन्दा विशेष मान्छे बन्छ । उसको प्रतिलिपि अधिकारबाट ऊ धनी र प्रतिष्ठित बन्न सक्छ । त्यस्तो अमूल्य सम्पत्ति भएको मान्छेले हल्ला नै गर्दैन ।