विचार

सत्यको बाटो घुमाउरो हुँदैन

सत्यको बाटो घुमाउरो हुँदैन

दुई पति पत्नीको पारपाचुके सम्बन्धी बहस चलिरहेको थियो । मुद्दाको फैसलाअघि अभियुक्त पतिसंग न्यायाधीशले सोधे– ‘तिमीलाई सफाईमा केही भन्नु छ ?’
पति– ‘श्रीमान् हजुर आफैं भन्नुस् यसलाई मैले कसरी स्वीकार गर्ने जबकी मसंग विहे हुनुअघि नै यसले अर्कैको पेट बोकी सकेकी रहिछ । यसले मलाई धोका दिई । अर्काको सन्तान म कुनै हालतमा सकार्न सक्दिन । त्यसैले पारपाचुके हुनैपर्छ ।’ 
‘तिमीलाई केही भन्नु छ ?’  महिलातर्फ फर्किएर न्यायाधीशले सोधे । महिलाले आत्मविश्वासको स्वरमा भनिन– ‘मैले पनि न्याय पाउनै पर्छ ।  महाशय, तपाईं नै भन्नुस् – यदि कसैले अर्कैले बाली लगाएको खेत किन्यो रे, के त्यसले अर्कोले रोपेको खेत भोग गर्दिन भनेर छोडिदिन्छ त ?’ महिलाको कुतर्कले न्यायाधीश मौन भए । 

खरिदार हुँदै भन्सारको ठेकेदारसम्म भएका कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृका, वीपी र गिरिजाप्रसाद संयोगले प्रधानमन्त्री भए । यो देखेर कोइराला परिवारका शुभचिन्तक दाहाल परिवारमा अर्को सपना रोपियो । न्यायक्षेत्रमा लागेका तीन भाइ मध्ये विश्वनाथ, केदारनाथ उपाध्याय प्रधानन्याधीश भए । दुर्भाग्यवश अर्का भाइ बैजनाथ उपाध्यायको निधारमा यो भाग्य लेखिएन् । फलत  सोचेजस्तो इतिहास कोरिएन् । नेपालमा ठूला मानिसको चरित्र र ती महिलाको तर्क एउटै छ । आफ्नो अनुकूलका लागि कानुन खरानी बनाउने र अरुलाई सिध्याउन कानुनका नौ सिङ तिखार्ने चलन झन् झन् प्रबल बन्दै गएको छ । राजनीति, फौजी, प्रशासन जताततै विरासतको हक रोप्ने प्रतिस्पर्धा बढ्दो छ ।

राणा, पञ्चायत हुँदै गणतन्त्रमा त यसका हाँगाबिँगा यसरी फस्टाएका छन् कि अब यो विसंगति छिमल्ने तागत कसैसंग छैन् । मान्छे मरेपछि करोडौं रुपियाँ राज्यका तर्फबाट दिएर किन नहोस् स्मृति प्रतिष्ठानको बुख्याचा ठड्याएरै भएपनि आफ्नो बर्चस्वको प्रयास बाँकी राखिन्न । गणतन्त्रका महानायक मानिएका प्रचण्ड परिवारमा हजुरआमा र दुईवटा नातिबाहेक सबै राज्यका तलवी हकदार छन् । प्रधानमन्त्री केपी ओली त के उनले नाम काढेर बोलाउने सम्मको मानिस देशका कार्यकारी पद सौदा गर्ने औकात राख्छ ।  

राजा महेन्द्रका अंगरक्षक गोपालबहादुर खत्रीले आफ्ना छोराहरुलाई सेनाको मुखिया बनाउने सपना देखेरै हुनुपर्छ, नामै राखिदिए– रमिन्द्र, राजेन्द्र, रतिन्द्र । जुन नाम राजामहाराजा वीरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्रसंग मेल खाने खालको थियो । दरवारिया राजनीति नजिकबाट बुझेका गोपालबहादुर खत्रीले सन्तानको नाम राजाको प्रकृतिकै राख्नु संयोग मात्र थिएन । गोपालबहादुरका पिता बलेन्द्रबहादुर खत्री सेनाकै मेजर थिए । कर्मले के गरे, आफ्नो ठाउँमा छ तर बाउको सपना पूरा भएरै छोड्यो । राजा महेन्द्रले छोरालाई मात्र हैन, छोरीहरुलाई आफ्नै करेसाबारी अघिल्तिर घरबासको व्यवस्था गरिदिएर छोरीलाई अंश दिने चलन विधिवत विजारोपण गरे । राजाका हरेक कर्म लालमोहरसरह हुने गथ्र्यो । बक्सिस र तदर्थवादको माखेसाङ्लोबाट राजनीति, निजामती, सेना, पुलिस र न्यायसेवा मुक्त हुन सकेको छैन । एकातिर आगो लागेपछि दमकल किन्ने फाइल उठाउने प्रवृत्ति र अर्कातिर चिनेको अनि किनेको बीच अनौठो रसायन मिलेपछि पेशागत मर्यादा र धर्मका कुरा दन्त्यकथा बन्दै गएका छन् । 

सन्काहा युवराज राजेन्द्रको कमजोरीमा खेल्न शुरु गरेका जंगबहादुरले महत्वाकांक्षा र अवसरको सिंढी यसरी उपयोग गरे कि आफ्ना छोरी राजामहाराजाको बुहारी बनाए । राजाकै सम्धी भएपछि के थियो, नाम अगाडि श्री ३ लेखिदिए । उनको इतिहास यति सकसपूर्ण थियो कि बा¥हमासे जुवाडे जंगबहादुर सुत्केरी पत्नीलाई खानाको बन्दोबस्त मिलाउन नसक्दा उनको प्राणान्त भएको थियो । अरु त अरु नेपालको सवैभन्दा पुरानो पार्टी प्रजापरिषद्का नेताहरु राजा त्रिभुवनले पार्टी चलाउन दिएको खर्च घरायसी मामलामा खर्च गरेपछि पार्टीभित्र फाटेको धाँजाका आफ्नै कथाव्यथा छन् । समय फेरिएपनि हाम्रो शासन प्रणालीमा कपट खेल खेलेर देशलाई गुठी बनाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । 

एउटाको त्यागलाई ब्याजका रुपमा सन्तान दरसन्तानले ग्रहण गरेर समाजमा विशिष्ट मुखिया हुन खोज्ने प्रवृत्ति दक्षिण एशियामै भाइरस बनेर उपस्थित छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनिया राष्ट्रपति सी जिन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यही बाटोमा छन् । उनीहरुमा अहिले ढुंगालाई प्राण दिएर देउता बनाएर विश्वलाई ढोगाउन सक्ने तागत छ । बीपीका छोराहरु जतिसुकै नालायक भएपनि लायक ठहरिए । बलिउडका असफल नायक सिद्धार्थ यहाँ राजनीतिक नायक हुने प्रतिस्पर्धामा छन् ।

गिरिजाप्रसादकी छोरी भएकै योग्यतालाई सुजाताले दशकौं देखि भजाउँदै आएकी छन् । जबकी शुद्धसंग दुई लाइन नेपाली सम्वाद गर्ने क्षमता उनीसंग छैन् । तर निजामती सेवामा एउटा विडम्वना यो छ कि हाकिमको छोरोले हाकिम बन्ने चाह किमार्थ राख्दैन । आफ्नो बाउको कागजी विकासमा पोख्त हाउभाउबाट उ कायल भएर हाकिम बन्ने सपनाको सानैमा भ्रूण हत्या गरेको हुनुपर्छ । 

गीताले खबरदारी गर्दै भनेको छ– ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसंग यति छ पछि अरु थपिन्छ, मैले यो शत्रु मारें, अरु पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान पनि मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ने ठान्ने मूर्खहरु राक्षसी श्रेणीमा जन्मेका नीच हुन ।’ 

एउटा समय थियो– हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँडा बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उध्याउँथे । निशस्त्र महिलाहरु केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसंगै ओहोदा सामथ्र्य हेरेर मानिसहरु भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आपूmले गर्ने ढाड्स दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने बचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो ।  दर्ता चलानीको काम समेत शुभलाभविना नहुने दिन आए । हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ । राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन । कर्मचारीहरु सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन् । 

राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउने देखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई एक दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ । केपी ओलीलाई पानीजहाज, ग्यासपाईप, बुलेट रेलका विषयमा मच्चीमच्ची भाषण गराउनेहरुले यसरी जोकर बनाइदिए कि सरकारको कार्यकारी प्रमुखले बोलेको विषय हावामा तरवारको प्रहारजस्तै भयो । 
राजा ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने भोजराज घिमिरे चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो । त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्रका २५ प्रतिशत  ट्रेड युनियनका नाममा, २५ प्रतिशत तदर्थवादका नाममा, २५ प्रतिशत अख्तियार, कानुनको त्रास देखाएर हाजिर गरेर जागिर पचाइरहेका छन् । बाँकी २५ प्रतिशतले धानेको सरकारी सेवा कस्तो होला, आफै अनुमान लगाउन सकिन्छ ।  

समकालिन नेताहरुमा साद्गी जीवन विताउने छाँटकाँट कसैमा देखिदैन । एउटा सामान्य पदासीनहरुलाई पनि गाडीघोडा, पछुवाको भोक छ । कानुनले कुनै व्यवस्था नगरेका पूर्वमन्त्रीहरु गार्ड लिएर तेस्रो ग्रहबाट झरेको मानिसका रुपमा समाजमा आफूलाई परिचित गराउन खोजिरहेका छन् ।  समयको माग भएर कुर्सीको आवश्यकता बन्नु र कागताली परेर पदमा पुग्नुको अन्तर नै यही हो । जो जनताको आवश्यक बन्छ, उसलाई बन्दुकको सुरक्षा रुचिकर हुँदैन । हाम्रो हकमा सुरक्षा त्यस्तो तन्तु भएको छ, जसलाई आवश्यकताभन्दा पनि चाकरीको चरम उत्कर्षको रुपमा उपयोग गर्ने गरिन्छ ।

राजाको दरबारी नखरा जनताको छोराछोरीले प्रतिनिधित्व गर्ने संस्थामा पनि अक्षरशः अनुवाद गर्ने हो भने भएका राजनीतिक परिवर्तनप्रति जनतामा आस्था र विश्वास कहिल्यै नजाग्ने पक्का छ । सुरक्षा थ्रेट त्यसलाई हुन्छ, जो धेरैको भाग खोस्ने थोरै फटाहाहरुको बस्तीमा आगो झोस्न सक्छ । तर यहाँ त  घरका एकमुठी जहान मिलाउने लुर नभएकालाई के को थ्रेट ? हातमुख जोर्नेेदेखि रातीको सोमरससम्म पनि अरुकै आतिथ्यमा जीवन अर्पिएकालाई के झार्न थ्रेट दिनु ? नेताहरुको यही कमजोरीको फाइदा उठाएर स्वार्थीहरुले देशमा फौजी निकायको संख्या लाखौं  पुर्याइसके ।

लाख नाघेको निजामती कर्मचारी सत्तरी हजारबाट ओरालो लागिसक्यो । भ्रष्टाचारी ठीक लाउने नाममा अख्तियारका गतिविधि युद्धकालिन माओवादीको एम्बुसभन्दा कम खतरनाक हुन छोड्यो । भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नु साटो सरकारी निकायबीच नै को बढी तोरी लाउरे देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको छ । संसदका समितिहरु हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन् । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन ।

फूलपाती  लिएर पूजा गर्न जाने कार्यकर्ताहरुको हात शीर्ष नेताहरुको गालामा पुग्दा पनि उनीहरुको कार्यशैलीमा बीसको उन्नाइस सुधार आएन । कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा फैसला सम्बन्ध विच्छेदका छन् ।  विकासमा कालिकोटको कुरा गर्दा थानकोट र पेटीको कुरा गर्दा केटी भनेर  बुझ्ने  देशका सारथीहरुले आफूलाई परिवर्तनसंग कहिल्यै रुपान्तरण गरेनन् । 

एकदिन एकजना राजनीतिज्ञ मित्रको पक्षमा वक्तव्य दिन मार्क टवेन प्लेटफर्ममा उभिए । विपक्षी दलका विपक्षी दलका विरोधीहरुको हुटिङले उनलाई वक्तव्य दिन मुस्किल परिरहेको थियो । त्यतिमात्र हैन, एकजनाले त बन्दाकोबीले नै झटारो हान्यो । जब बन्दाकोभी ट्वेनको अगाडि खस्यो, उनले त्यसलाई हेर्दै भने– ‘महिला तथा सज्जन वृन्द हाम्रा विपक्षीहरु मध्ये एउटाको काटिएको शिर मेरो खुट्टाको छेउमा लडिरहेको छ । सम्बन्धित पक्षले पोष्टमार्टमका लागि लानुहोला ।’ सत्यको बाटो घुमाउरो हुन्न । यदि सत्यमाथि अत्याचार, व्यभिचार गरियो भने मार्क टवेनको ठट्टामा सत्य घटना बन्न कतिबेर लाग्दैन । 

पति पत्नी पिता बलेन्द्रबहादुर खत्री

विशेष