असल चालकको खडेरी
काठमाडौं : ब्लुबुक (सवारी धनीपत्र) बनाउनका लागि सिफारिसपत्र लिन ट्राफिक प्रहरी कार्यालय पुगेका एक पूर्वराजदूत आफ्ना निजी चालक खम्बिरमान थापाको कर्तुत थाहा पाएर आश्चर्यमा परे।
चालक थापाले हराएको भन्दै आएको ब्लुबुक मापसे कारबाहीमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थाहा पाएपछि उनी आश्चर्यमा परेका हुन् । पटकपटक मापसे कारबाहीमा परेका चालक थापाले आफ्नो चालक अनुमतिपत्रमा थप ‘प्वाल’ पर्नबाट जोगाउन ब्लुबुक बुझाएका थिए तर थापाले ब्लुबुक हराएको भन्दै नयाँ बनाउन पूर्वराजदूतलाई सुझाव दिएका थिए।
यस्तै, रोचक घटना कुलेश्वरमा खाद्य थोक व्यापार गर्दै आएका सर्लाही हरिवनका युनिस अन्सारीले पनि ब्यहोर्नु पर्यो । करिब एक महिनासम्म आफ्नो गाडी र चालक बेपत्ता भएपछि उनी प्रहरीमा पुगे । खोज्दै जाँदा एउटा स्कुटीलाई ठक्कर दिएर चालक फरार भई गाडी प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा फेला पर्यो ।
दुई सवारी धनीका अनुसार इमानदार र असल चालकको खडेरी नै छ । “गाडी दुर्घटनामा पर्यो भनेका थिए”, व्यवसायी अन्सारीले भने, “चालक त ज्यान जोगाउन भन्दै गाडी सडकमै छोडेर भागेछ, मोबाइलसमेत बन्द गरेको छ ।”
सार्वजनिक तथा निजी यातायात सेवामा आबद्ध चालकहरू ट्राफिक नियमप्रति प्रतिबद्ध, पेसाप्रति इमानदार र दुर्घटनाप्रति सचेत हुँदैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोजकुमार सिटौला राम्रो सवारी चालकको अभाव खट्किएको बताउँछन् ।
अलि पढेलेखेका र इमानदार चालकहरू विदेश पलायन हुन्छन् या त आफ्नै सवारी चलाउँछन्, बाँकी भएकाहरू सरकारी (सवारीचालक) जागिर खान्छन् । सार्वजनिक तथा निजी क्षेत्रको यातायात सेवाका अधिकांश चालक सिकारु र सामान्य साक्षर व्यक्ति धेरै भएको पाइएको छ ।
“राम्रो र नराम्रो चालक बोली, व्यवहार र सवारी हाँक्ने शैलीबाट छुट्टिन्छन्”, उनले भने, “स्मार्ट लाइसेन्स वितरण प्रक्रिया ढिलो हुँदा पनि चालकको समस्या देखिएको हो । हेभी सवारी चालकका लागि वैदेशिक रोजगार सुनौलो अवसर बन्ने गरेको छ ।”
राम्रा चालक पलायन हुँदा सहचालकलाई (खलासी) चालक बनाउनु परेको पीडा यातायात व्यवसायीको छ । निजी तथा सार्वजनिक यातायातका सवारी चालकहरूमा दिउँसै मदिरा पिउने समस्या बढी देखिएको उनको दाबी छ । यो खबर आजको गोरखापत्रबाट लिइएको हो।
गाडी चालक