विचार

वातावरण भए जुनकिरीको बत्ती हैन बिजुली बाल्न तयार छौं 

कुमार बाबु कट्वाल 

वातावरण भए जुनकिरीको बत्ती हैन बिजुली बाल्न तयार छौं 

लेख्नलाइ खासै रहर पनि लाग्दैन आजकाल, बोल्नलाइ पनि इच्छा जाग्दैन किन किन हामी सर्बसाधारणले त बोल्ने कुरै सकिए जस्तो लाग्छ । बिचार अभिव्यक्ति स्वतन्त्रता भए पनि जनता लाई खासै प्रत्याभूत भएको पाइनँ मैले ।  हुन त यो मेरो ब्यक्तिगत सोचाइ हुन सक्छ  । मेरो सोचाइमा सबैले सहमत हुनै पर्छ भन्ने छैन किनकि म अल्पज्ञानी पनि हुन  सक्छु  । तर जे भए पनि मेरो आखा र कानले देखे सुनेका कुरा आम नेपालीहरुले पनि त्यतिकै देख्नु सुन्नु भएको हुन सक्छ त्यसैले मनमा लागेका केही शब्दहरु व्यक्त गर्ने रहर एकाएक जागेर आयो । नजागोस् पनि कसरी नेपाली राजनीति ,राज नेता भनेकै हाम्रा प्रेरणाका श्रोत हुन् ।  

 

विचार अभिव्यक्तिमा जनता भन्दा दुइ कदमअगाडि हाम्रै नेताहरु भएको मुलुकमा जनताले बिश्वास र भरोशा नगर्दा नि सरकार बिरोधी भइएला भन्ने पनि ठूलो डर छ किनकी शक्तिशाली सरकार छ । दिनहुँ जसो ठूला ठूला अभिव्यक्ति आइरहन्छ हाम्रा माननीयज्युहरु बाट । लाग्छ अब केही बाँकी नै छैन ।  आजसम्म दुई बर्ष बित्न लाग्दै गर्दा कत्रा कत्रा निर्णय लिएको छ सरकारले, जनता उत्साहित हुँदै वाहवाही दिँदै गए । 

 

सबै निर्णयहरु मैले भनिरहनु नपर्ला सायद आमजनतामा छर्लङ्ग छ । दुई तिहाइ ले गरेका हरेक निर्णयहरु  ऐतिहासिक छन् ,जनताले ठूलै अपेक्षा गरेका थिए अब चाहिँ केही परिवर्तन हुनेभयोे देशमा भनेर ।  तर निर्णयहरुबाट एकाएक सरकार पछि हटदै  जाने प्रबृत्ति देख्दा लाग्छ सरकार र जुनकीरी भनेको उस्ता उस्तै हुन कि? 

 

जसरी अँध्यारोमा एउटा बटुवा जुनकिरीको प्रकाशबाट उत्साहित भएर अगाडि बढन खोज्छ तर त्यो चम्किन छाड्छ अनि फेरि झसङ्ग हुन्छ मत भ्रममा पो रहेछु भनेर त्यसैगरी आमजनता पनि सरकारका निर्णयप्रति उत्साहित हुन्छन् अनि आशाको दियो बाल्न थाल्छन्  । स्वदेश मै केही गर्छु भन्ने सोच राख्छन, विदेशमा बसेको नेपाली पनि स्वदेश गएर केहि लगानी गर्छु भन्ने उत्साह राख्छ तर दुःखलाग्दो कुरा के हुन्छ भने सरकार आफ्ना निर्णय दिन प्रतिदिन फिर्ता लिदै जान्छ अनि जनता लामो सुस्केरा हाल्छ  खै किनहो त्यो त  सरकारलाई नै थाहा होला नकि भगवान पशुपतीनाथ लाई ।

 

तसर्थ सरकारी नीति निर्णय र जुनकीरी को प्रकाशले खासै उत्साहित नभएकोले युवा जनशक्ति विदेशमा श्रम बेच्न बाध्य छन् । सोही बमोजिम म लगायत ६० हजार युवा पनि दक्षिण कोरियाको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग गरिरहेका छौं  । यदि सरकार जुनकीरी प्रवृृत्तिबाट पाठ सिकेर अगाडि बढने हो भने नीति निर्णय प्रति प्रतिबद्ध भै आत्मनिर्भरको सिद्धान्तलाई अंगिकार गर्ने हो भने जनतामा  छाएको निराशा कम गर्न केही हदसम्म सक्षम हुने थियो ।  

 

हामी ६० हजार बढी कोरिया बासीलाई लगानी गर्ने वातावरण बनाइदिने हो भने  सरकार हामी जुनकीरी को प्रकाश हैन बिजुली बन्न तयार छौं ।
 


 विराटनगर , हालः दक्षिण कोरिया ।
 

विशेष