खेल

विश्वकप क्रिकेटमा कसले कति रकम पाए?

विश्वकप क्रिकेटमा कसले कति रकम पाए?

काठमाडौं । इंग्ल्यान्ड र वेल्सले सम्पन्न १२औँ एकदिवसीय विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको छ । सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले विश्वकपको उपाधि जितेको हो । जीतसँगै इंग्लिश टिमले ४० लाख डलर पाएको छ । नेपाली रूपैयाँअनुसार यो ४३ करोड ६० लाख पाएको छ । यसैगरी उपविजेता न्यूजिल्याण्डले २० लाख डलर पायो ।

 

नेपाली रूपैयाँअनुसार उपविजेता राष्ट्रले २१ करोड ८० लाख प्राप्त गरेको छ । १० राष्ट्र सहभागी विश्वकपको सेमिफाइनलबाट बाहिरिएको अस्ट्रेलिया र भारतले समान ८ लाख डलर प्राप्त गरेका छन् । न्यूजिल्यान्डले भारतमाथि १८ रनको जीत निकाली दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको थियो । साबिक विजेता अस्ट्रेलियामाथि इंग्ल्यान्डले सात विकेटको जीत हासिल गर्दै चौथोपटक अन्तिम दुई स्थान सुरक्षित गरेको थियो । 

 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अनुसार प्रतियोगिताको कुल पुरस्कार धनराशी एक करोड डलर रहेको छ । आइसिसीका अनुसार राउन्ड रोविन लिगमा प्रत्येक खेल जित्ने राष्ट्रले ४० हजार डलर पाएका छन् । राउन्ड रोविन लिगमा भारत र अस्ट्रेलियाले समान सात खेलमा जित निकालेका थिए । यी दुवै राष्ट्रले राउन्ड रोविन लिगमा सर्वाधिक जित निकालेका कारण जनही दुई लाख ८० हजार डलर पाएका छन् । यसैगरी आयोजक इंग्ल्यान्डले ६ खेल जित्दै दुई लाख ४० हजार पाउन्ड हात पारे । राउन्ड रोविन लिगमा दुई खेलमा मात्र जितेको दक्षिण अफ्रिकाले ८० हजार डलर पाएको छ । 

 

प्रतियोगिताको राउन्ड रोविनमा अफगानिस्तानले एक जित पनि निकाल्न सकेन । राउन्ड रोविन लिग पार गर्ने राष्ट्रले बोनसका रूपमा एक लाख डलर पाएको छ  । सन् २००७ मा वेस्टइन्डिजले विश्वकप पहिलोपटक आयोजना गर्दा ४५ दिनसम्म प्रतियोगिता चलेको थियो ।  

एकदिवसीय विश्वकप सुपर ओभर न्यूजिल्याण्ड भर्सेस इंग्ल्याण्ड

विशेष