स्वास्थ्य

बाढी प्रभावित क्षेत्रमा रोग फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

बाढी प्रभावित क्षेत्रमा रोग फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा कुनै पनि सङ्क्रमणजन्य सरुवा रोग नफैलिएको स्पष्ट पारेको छ । सो मन्त्रालयका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख चूडामणि भण्डारीले तराईलगायत बाढी तथा पहिरो प्रभावित जिल्लाहरूबाट कुनै किसिमको रोग फैलिएको भन्ने जानकारी प्राप्त नभएको बताए ।

उनले मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा रोग लाग्न सक्ने सम्भावनालाई ध्यान दिई स्वास्थ्य र सरसफाइ, जनचेतनासम्बन्धी कार्य सुरु गरिसकेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयबाट चिकित्सकसहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर जनचेतना, स्वास्थ्य तथा सरसफाइसम्बन्धी काम सुरु गरिसकेको उनले जानकारी दिए ।

यसैबीच नेपाल नर्सिङ सङ्घले तराईलगायत बाढी पहिरो प्रभावित क्षेत्रमा भएका नर्सलाई बाढी, पहिरो तथा डुबानमा परेका पीडित परिवारको उद्धार तथा उपचारमा लाग्न निर्देशन दिएको छ । नर्सिङ सङ्घले सोमबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा गई पीडितको उद्धार गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालय बाढीपहिरो सरुवा रोग

विशेष