स्वास्थ्य

डाक्टर पढ्न ७ वर्षमा पाँच हजार नेपाली बाहिरिए

डाक्टर पढ्न ७ वर्षमा पाँच हजार नेपाली बाहिरिए

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि ६ वर्षको अवधिमा झन्डै ५ हजार नेपाली विदेशिएका छन् । एमबीबीएस र बीडीएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी विदेशिएको पाइएको छ । पछिल्लो तथ्यांकअनुसार ४ हजार ९६३ जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि बाहिरी मुलुक गएका छन् । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार सन् २०१३ मा ५६५ जना, सन् २०१४ मा १ हजार ३७८, सन् २०१५ मा १ हजार ४६१, सन् २०१६ मा ४७८ जना विदेशिएका छन् । यस्तै, सन् २०१७ मा ४९५ र सन् २०१८ मा ५८६ जना विदेशिएका छन् ।

 

नेपालमा फेल, विदेशमा पढ्दै
एमबीबीएस र बीडीएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी विदेशिन थालेपछि विदेशमा अध्ययन गर्न जानका लागि नेपालमा लिइने प्रवेश परीक्षा उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले पछिल्ला दिनमा विदेश पढ्न जानेको संख्या केही घटेको पाइएको छ ।

 

नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. धर्मकान्त बाँस्कोटाका अनुसार विश्वविद्यालयले लिने प्रवेश परीक्षामा अनुत्तीर्ण भएपछि एमबीबीएस र बीडीएस अध्ययनका लागि विद्यार्थी बाहिरी मुलुक गएको देखिएको छ । ‘अहिले भने विदेशमा अध्ययन गर्न जानका लागि नेपालमा लिइने प्रवेश परीक्षा उत्तीर्ण हुनैपर्छ, त्यसैले पनि पछिल्लो समय अध्ययनका लागि विदेश जानेको संख्या केही मात्रामा घटेको देखिन्छ,’ काउन्सिलका पूर्वअध्यक्ष बाँस्कोटाले भने ।

 

चिकित्सा शिक्षा अध्ययनका लागि नेपालबाट अधिकांश विद्यार्थी बंगलादेश, चीन र भारत जाने गरेका छन् । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन लिइने परीक्षामा विदेश पढेर आएका ८० प्रतिशत बढी डाक्टर फेल हुने गरेका छन् । ती अनुत्तीर्ण हुने विद्यार्थीहरू विदेश पढेर आएको राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले बताइन् । उनले भनिन्, ‘विदेशी शिक्षण संस्थाबाट स्नातकोत्तर तहको विषय वा विधामा अध्ययन गरी फर्केका चिकित्सकहरू मेडिकल काउन्सिलले लिने गरेको विशेषज्ञ परीक्षामा ८० प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएको देखिन्छ ।’ यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

चिकित्सा शिक्षा एमबीबीएस र बीडीएस

विशेष