मन्त्रीका सम्पत्तिः कसैसँग सामसङको आइफोन, कसैसँग ‘कुकुरकुकुर्नी’
काठमाडौं । सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको सम्पत्ति विवरणमा ‘सामसङको आइफोन’ उल्लेख भएको विषयले केही समयअघि राम्रै चर्चा पाएको थियो । हुन पनि मन्त्री बास्कोटाले आफ्नो सम्पत्ति विवरणमा दाइजो लिएको, साथीबाट उपहार लिएको सगौरव लेखेका छन् । अलिकति भाषा भने फरक छ ।
वर्तमान मन्त्रिमण्डलमा अरु पनि मन्त्रीहरु छन् जसको सम्पत्ति विवरणमा रोचक, अपत्यारिलो र आश्चर्यजनक विषयहरु छन् । जस्तो कि गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो पशुधन शीर्षकमा दुई वटा कुकुर रहेको उल्लेख गरेका छन् । छिमेकीले दिएको दुई कुकुरलाई उनले कैफियतमा लेखेका छन्ः १) कुकुर २) कुकुर्नी ।
सम्भवतः कुनै पनि निकायले दुई वटा कुकुरलाई सम्पत्ति मानेर खोजविन गर्दैन । त्यसमाथि ‘कुकुर’ र ‘कुकुर्नी’ लेख्नु नै शोभायमान लाग्दैन । ‘आफू धेरै इमानदार छु’ भन्ने देखाउन गृहमन्त्री बादलले यसो गरे कि ! भन्ने लख काट्न पनि सकिन्छ ।
आपूर्तिमन्त्री मातृका यादवलाई सामान्य आर्थिक अवस्थाका नेताका रुपमा धेरैले बुझ्थे । तर उनको जग्गामात्रै ललितपुर र धनुषामा सात वटा रहेछन् । उनले रविकिरण यादव, प्रमीलादेवी यादवको नाममा रहेको जमिन आफ्नो सम्पत्ति विवरणमा देखाएका छन् । एक लाख २० हजारदेखि १ करोड ५० हजारसम्मका जमिन उनको परिवारको नाममा रहेको देखिन्छ । यी जमिन कहिले किनिएको हो, उल्लेख छैन । पैतृक, स्वआर्जन र ऋणसापटीबाट उनले जमिन किनेको जनाएका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा भने सबैभन्दा कम बैंक ब्यालेन्स हुने मन्त्री रहिछन् । उनको माछापुच्छ्रे, एभरेष्ट र कुमारी गरी तीन बैंकमा खाता छ । तीन खातामा ब्यालेन्स जम्मा १५ हजार छ । त्यसमा पनि कुमारी बैंकको १० हजार भूकम्पपीडित कोषबाट आएको उनले उल्लेख गरेकी छिन् ।
धेरै बैंकमा खाता भएका, डलरमा समेत रकम रहेका मन्त्री हुन् युवराज खतिवडा । युवराज खतिवडा तथा परिवारको बैंक तथा वित्तीय संस्था गरी १० वटामा खाता छ । केहीमा डलर खातासमेत रहेको छ ।
केही मन्त्रीको सम्पत्तिको विवरण अनौठो पनि छ । वनमन्त्री शक्तिबहादुर बस्नेतकै सुनचाँदीको विवरण हेर्दा त्यस्तो लाग्छ । सामान्यतः मान्छेले सुन चाँदी गहनाका लागि चाहिने भएर किन्छ । गहना नै बनाएर लगाउँछ, राख्छ । शक्ति बस्नेतले चाँदी नै १० किलो रहेको उल्लेख गरेका छन् । यति धेरै चाँदी आखिर चाहिन्छ किन ? दश केजी चाँदीलाई ८–१० लाख पर्छ । यति धेरै रकम खर्च गरेर चाँदी किनिदैन । उनले सुनचाँदी पैतृक भएको जनाएका छन् ।
श्रीमती, छोराछोरी भएका, उनीहरुको सबै खर्च व्यहोर्नु पर्ने बाध्यता रहेका मन्त्रीहरुको सम्पत्ति फारममा नअटाउने गरी देखिन्छ । तर पाँच पटक मन्त्री भएका र अविवाहित शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको भने सम्पत्ति नाममात्रैको छ । पटक पटक मन्त्री भएका पोख्रेलको सम्पत्ति जम्मा पौने चार लाख छ । जबकी वनमन्त्री शक्ति बस्नेतले नगद मात्रै आफूसँग १५ लाख रहेको देखाएका छन् । भएन त अचम्म ?