केपी र प्रचण्ड सम्बन्ध : स्वार्थकाे लागि मात्र (भिडियोसहित)
काठमाडौँ । भनिन्छ सर्पले सर्पको खुट्टा देख्छ । अर्थात एकको गल्ती कमजोरीबारे अन्य व्यक्तिलाई थाहा हुन्छ । सरकारप्रति जनअसन्तुष्टि चुलिएको अवस्थामा नेकपा माले एउटा छुट्टै समूह बनाउने तर्खरमा छ । हुन पनि एमाले माओवादी एकता हुँदा ललिपप देखाएपनि केपी शर्मा ओलीले युवास्थाका सारथी सीपी मैनालीलाई सिटको बाँडफाँडबारे कुरो नमिलेपछि सारथीको रथबाट निकालिदिए ।
आफ्नो स्वार्थ पूरा नभए बरु एक्लै हिँड्ने भन्दै सीपी मैनाली अहिले एक्लो खम्बा बनेर सरकार र केपी शर्मा ओलीको विरोधमा उत्रिएका छन् । हामीले उनै मैनालीसँग पछिल्लो राजनीतिक घटनाक्रम, केपी प्रचण्ड सम्बन्धको भित्री अन्तरंग र अबको राजनीतिक निकासबारे कुराकानी गरेका छौँ । उनै मैनालले भनेका महत्वपूर्ण कुराहरुको सारसंक्षेप यस्तो छ :
मुलुकको वर्तमान अवस्था
सरकारले दुई बजेट ल्याइसकेको छ । जुन घोषणापत्र जुन नाराका साथ जनताले काम गर्ला सरकारले भन्ने जनअपेक्षा थियो त्यसो हुन सकेको छैन । जनभावना अनुरुप काम नगर्ने, गुटगत स्वार्थ, प्रधानमन्त्री अधिकारकेन्द्रित हुन खोज्ने, हिजो विदेशीको दबाब नाकाबन्दीको विरोध गरेर पाएको मतको दुरुपयोग भएको जस्तो भान भएको छ । त्यसैले पनि जनतामा असन्तुष्टि चुलिँदो छ ।
बाह्य हस्तक्षेप बढ्यो
देशमा अहिले बाह्य शक्तिको हस्तक्षेप तीव्र बनेको छ । नेपालले इण्डोप्यासिफिक रणनीतिमा जाने नीति उपर्युक्त छैन । अमेरीकाबाट अनगिन्ती मानिसहरु आएका छन् । उनीहरुको रणनीति प्रयोगका लागि क्रियाशिल छन् ।
केपी र प्रचण्डको सम्बन्धबारे
यी दुवै नेताहरुको स्वार्थ पूर्ति गर्नका लागि बनेको गठबन्धन हो । नेताहरुको स्वार्थ तुष्टि गर्नका लागि यो गठबन्धन बनाएर एकीकृत भएको हो । त्यसमा अनुकूल स्थिति आयो भने करबलले लागु होला तर त्यस्तो स्थिति आएन भने यो गठबन्धन टुट्न सक्छ किनकी सर्पले सर्पको खुट्टा देख्छ । त्यसैले प्रचण्डलाई पनि डर छ । त्यही भएर उनले यस्तो समयमा सहमतिका कुरा उठाए जुन समयमा प्रधानमन्त्री विदेश भ्रमणमा थिए । यसले प्रधानमन्त्री दिगो होइनन् भन्ने सोचेरै त्यो समयमा सहमति काण्ड सार्वजनिक गरिदिएका हुन् । यो स्वार्थप्रेरित गठबन्धन हो लागु नहोला भन्ने जनतामा निराशा छाउन थालेको छ । केपी ओली स्वार्थ पूरा गर्न चाहन्छन् ।
अबको निकासबारे
राष्ट्रको स्वार्थ अंगिकार गरे भने सबैलाई समेटिए भने राम्रो हुनेछ । नत्र यी दुई अध्यक्षहरुको स्वार्थको घैँटो भरिएपछि फुट्छ । देशका पहिचान, समावेशीकरण, धर्मनिरपेक्षता, सनतान संस्कृतिको सुरक्षा, राष्ट्रिय, नागरिकता लगायतका तमाम समस्या समाधानका लागि देशमुखी समाधान खोज्ने शक्तिबीच एकता हुनु जरुरी छ ।