अख्तियारको एक वर्ष : २ ठूला माछा पक्राउ, इतिहासमैँ पहिलो पटक ३५१ मुद्धा दायर
हरि न्यौपाने ।
काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रुपमा वि०सं० २०४७ साल माघ २८ गते स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षको वार्षिक प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको छ । आयोगले गत आर्थिक वर्ष २०७५र७६ मा स्थापना काल यताकै सबैभन्दा बढी मुद्धा दायर गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमा अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले आयोगको २९ वर्षे इतिहासमा सबैभन्दा बढी मुद्धा दायर गरिएको बताए । ‘ हामीले यसपटक सबैभन्दा बढी मुद्धा दायर गर्यौँ । ३५१ मुद्धा दायर भए । जसमा १४२ रंगेहात पक्राउ परेका थिए । ’
अख्तियारले गत आर्थिक वर्षमा दुई ठूला माछाका रुपमा चिनिने विशिष्ट श्रेणीका दुई व्यक्ति पनि पक्रियो । ‘यसवर्ष विशिष्ट श्रेणीका दुई जना पक्राउ गर्यौँ । ’ कोइरालाले बताए ।
घुस खानेे दुई विशिष्ट
आयोगले प्रशासन, प्राविधिक, प्रहरीदेखि शिक्षकसम्मको सूची सार्वजनिक गर्दै २ सय जनालाई कारबाही गरेको जनाएको छ। अख्तियारले गत असार २६ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई ८ लाख घुससहित पक्राउ गरेको थियो ।
धरानमा प्रतिष्ठानका लागि करिब एक करोड रुपैयाँको भवन निर्माण हुँदै गरेको थियो । प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घुस रकम बुझ्दै गर्दा उनीहरु पक्राउ परेका थिए ।
त्यस्तै अख्तियारले ५० हजार घुससहित त्रिवि विज्ञान संकायका सहायक डिन विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पटेललाई रंगेहात पक्राउ गरेको थियो ।
त्यसैगरी, सह–सचिव सरहका दुई, उपसचिव सरहका १०, शाखा अधिकृत वा सो सरहका ३२, नायब सुब्बा वा सो सरहका ४७ घुससहित पक्राउ परेका थिए। यस्तै २९ खरिदार, १५ जुनियर कर्मचारी १५ र २४ कार्यालय सहयोगी घुस रकमसहित समातिएका थिए।
घुस लिने गृह मन्त्रालयका बढी
अख्तियारले घुससहित रंगेहात पक्राउ पर्नेमा सबैभन्दा बढी गृह मन्त्रालय मातहतका कर्मचारी रहेको जनाएको छ । गत आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गतका २७ जना पक्राउ परेका छन् । दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका २६ जना छन् ।
तेस्रोमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतका २२ जना कर्मचारी पक्राउ परेका छन् । अख्तियारले वन तथा वातावरण मन्त्रालयका ११ जना कर्मचारी पनि रंगेहात पक्राउ गरेको थियो ।
उर्जा र जलस्राेत तथा सिँचाइ मन्त्रालयका ९ कर्मचारी घुससहित पक्राउ परेर विशेष अदालतमा मुद्दा खेपिरहेका छन्।
घुससहित रङ्गेहात पक्राउ पर्नेमा शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका आठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सात, अर्थ मन्त्रालयका पाँच, उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका ४ जना कृषि मन्त्रालयका तीन, स्वास्थ्य मन्त्रालयका तीन, श्रम मन्त्रालयका दुई जना पक्राउ परेका थिए।
यस्तै, शहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयका एक–एक कर्मचारी घुससहित रङ्गेहात पक्राउ गरेका थिए।
१५ सयदेखि ८ लाखसम्म माग
अख्तियारले १५ सय रुपैयाँदेखि ८ लाखसम्म घुस मागेको पाइएको जनाएको छ । एक कम्प्युटर अपरेटरले १५ सय घुस मागेका थिए भने विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले ८ लाख घुस मागेका थिए ।
उजुरीको चाङ, फर्स्यौट कति ?
अख्तियारका अनुसार गत आर्थिक वर्षमा २४ हजार ४८ उजुरी परेका थिए । परेका उजुरीमध्ये १५ हजार ६ सय ११ उजुरी फर्छ्यौट गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । परेका उजुरीमध्ये ३ सय ५१ उजुरी मात्रै मुद्दा गरिएको उनको भनाइ छ । अख्तियारले अदालतमा दर्ता गरेकामध्ये ८८ प्रतिशत फैसलामा सफलता मिलेको जनाएकाे छ ।
पत्रकार सम्मेलनमा कोइरालाले समग्रमा ६५ प्रतिशत मुद्धा फस्र्यौट गरिएको जानकारी दिनुभयो । गतवर्ष ६० प्रतिशत मात्र फस्र्यौट भएको थियो ।
ठूला केश अध्ययनमैँ
अख्तियारले बहुचर्चित ललितानिवास जग्गा प्रकरणबारे छानबिन भैरहेको र छिट्टै मुद्धा चलाउने जनाएको छ । त्यस्तै नेपाली सेनाभित्रको भष्ट्राचारबारे पनि हेरिरहेको जनाएको छ ।
राष्ट्रिय परिचयपत्र छपाईमा भएको भनिएको भ्रष्टाचार र राष्ट्रिय गौरवका आयोजनाभित्रको भ्रष्टाचार पनि अध्ययनका क्रममा रहेको प्रवक्ता कोइरालाले बताए ।