कभर स्टोरी

‘गुण्डा हुँदा देश अर्कै थियो, आज गुण्डा मरे देश ध्वस्त भयो’ (भिडियोसहित)

‘गुण्डा हुँदा देश अर्कै थियो, आज गुण्डा मरे देश ध्वस्त भयो’ (भिडियोसहित)

काठमाडौं । सविता सरु शर्मा आचार्य नौ वर्षको उमेरदेखि मानिसहरुको भविष्यवाणी गरिरहेकी छिन् । उनको भविष्यवाणीमा विश्वास गर्ने धेरै मानिसहरु छन् । ‘सबिता माता’ पनि भनेर चिनिएकी आचार्यले अहिलेसम्म आफ्नो आशिर्वादको शक्तिले २६ हजारभन्दा बढी निसन्तान दम्पत्तीलाई सन्तान दिएको दावी गर्छिन् । 

नेपालमा प्रख्यात चिकित्सक डा. भोला रिजालसमेत आफ्नो भक्त भएको जानकारी दिँदै आचार्यले भनिन्, ‘डा. भोला रिजालले आफ्नो अस्पतालमा आउनेहरुलाई पहिलो सबिता माताको आशिर्वाद लिएर आउनू भन्नुहुँदोरहेछ ।’ 

निःसन्तानहरुले अस्पताल जानुअघि आफ्नो आशिर्वाद लिए सन्तान प्राप्ति हुने आचार्यको दावी छ । तर यसका लागि माताप्रति विश्वास भने हुनु पर्ने उनले बताइन् । उनले भनिन्, ‘मैले एक शब्द बोल्दा पनि उहाँहरुको पेटमा बच्चा बसेको छ ।  यो अनौठो नै छ । म हावा बोल्ने मान्छे परिनँ । ’

उनले सबै परीक्षणबाट सन्तान नहुने निश्चित गरिसकेपछि आउने दम्पत्तीलाई आफूले पनि सन्तान दिन नसक्ने उनले जानकारी दिइन् । अस्पताल जानुअघि नै आफ्नो आशिर्वाद लिएर उपचार गर्न थाल्ने हो भने कामनाहरु पूरा हुने आचार्यले उल्लेख गरिन् । अक्षता खाने र टीका लगाएकै भरमा पनि बच्चा जन्मेका धेरै उदाहरण रहेको उनले दावी गरिन् । 

लाखौं खर्च गरेर वर्षौैं घुँडा धसेर पढ्ने डाक्टरहरुको परीक्षण शुल्क ६ सय रुपैयाँ छ । तर सबिता माताकहाँ भाग्य हेराएको १५५५ रुपैयाँ तिर्नुपर्छ । यो महँगो भएन ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘१५५५ मा परिवारकै हेरिदिन्छु । एक परिवार आउँदा ५१ जनाको पनि देखाउँछन् । तर अहिले म परिवारका पाँच छ जनाको मात्रै हेर्ने सोच्दैछु । एक पटक पैसा तिरेपछि ६ महिनासम्म निःशुल्क हेरिदिन्छु ।’

उनले राजा वीरेन्द्र चराको जुनीमा समय व्यतित गरिरहेको दावी गरिन् । पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न जाँदा निर्मल निवासमा राजा वीरेन्द्रसहित शाही  परिवारका अन्य मृतकहरुलाई पनि चराको रुपमा देखेको र कुरा गरेको दावी उनको छ । 

अहिलेको समाज गलत बाटोमा गइरहेको आचार्यको ठहर छ । मानिसहरु लिभिङ टुगेदरमा बस्ने, परस्त्री, परपुरुषमा आकिर्षत हुने जस्ता नयाँ विकृति समाजमा व्याप्त रहेको उनले बताइन् । पति विदेशमा पत्नी नेपालमा परपुरुषसँग सम्बन्धमा रहेका अनिगिन्ती कथाहरु रहेको उनले सुनाइन् । 

नेपाल पुनः हिन्दुराष्ट्र हुने र नेपालमा राजसंस्था पुनस्र्थापित हुने उनले दावी गरिन् । राजा ज्ञानेन्द्र तेस्रोपटक राजा हुने उनले उल्लेख गरिन् । 

नेपालका कम्युनिष्ट पार्टीका नेताहरु समेत आफूकहाँ मन्त्री, प्रधानमन्त्री हुन्छु कि हुँदिन भन्ने जिज्ञासा राखेर आउने गरेको उनले जानकारी दिइन् । 

आचार्यले गुण्डाका नाममा चरी, कुमार घैंटेलगायत मारिनु राम्रो नभएको संकेत गरिन् । उनले भनिन्, ‘गुण्डा मारिएपछि हेर्नुस् त देशको हालत कस्तो भयो ? गुण्डा हुँदा देश कस्तो थियो ? आज गुण्डा मरे देश ध्वस्त भयो ।’ 
 

विशेष