विप्लवका कार्यकर्ता सकिँदै, उपत्यका इञ्चार्च मध्यरातमा गिरफ्तार
काठमाडौं । प्रतिबन्धित नेकपाका कार्यकर्ताहरु कोही मारिने त धेरैजसो पक्राउ पर्ने क्रम जारी छ । प्रहरीले आइतबार राति उपत्यका ब्युरो इञ्चार्च माइला लामालाई पक्राउ गरको छ ।
विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गर्दै उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राति साढे १२ बजेतिर पक्राउ गरिएको बताए ।
उनका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ । लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् ।
विभिन्न समयमा राजधानीको तीन स्थानमा बम विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो । विप्लव समूहलाई प्रतिबन्ध लगाउनुअघि गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरेर भएको बम विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको थियो भने अरु २ जना घाइते भएका थिए ।