खेल

धुर्मुस–सुन्तलीले क्रिकेट रंगशाला निर्माण गर्न सक्नेमा मेयरकै शंका 

धुर्मुस–सुन्तलीले क्रिकेट रंगशाला निर्माण गर्न सक्नेमा मेयरकै शंका 

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम धुर्मुस सुन्तली फाउन्डेसनले सम्पन्न गर्नेमा शंका गरेकी छिन् । अन्नपूर्ण पोस्टमा प्रकाशित अन्तवार्तामा मेयर दाहालले यस्तो शंका व्यक्त गरेकी हुन् । धुर्मुस सुन्तलीले रंगशाला बनाउन नसकेमा महानगर आफैंले जिम्मा लिएर निर्माण गर्ने उनले बताएकी छिन् । 

 

प्रस्तुत छ, अन्नपूर्ण पोस्टमा प्रकाशित अन्तर्वार्ताको एक अंशः

 

महानगरले प्राथमिकतामा राखेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा केही समस्या देखियो, यो विचलित हुने खतरा त छैन ?

–विभिन्न बाधा, अड्चन भए पनि रंगशाला निर्माण अगाडि बढेको छ । महानगरको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना भएकाले यसको निर्माणमा हामी गम्भीर छांै । जुन मोडेलबाट बनाउने भनिएको छ त्यसअनुसार नभए सरकारले जिम्मा लिएर भए पनि रंगशाला बनाउँछौं ।

 

सम्झौतापत्रमै धुर्मुस सुन्तली फाउन्डेसनले जिम्मा लिने त्यसलाई महानगरले सहजीकरण, समन्वय र सहयोग गर्ने भनिएको छ । यदि, फाउन्डेसन गर्दा भएन भने महानगरले जिम्मा लिएर अगाडि बनाउने भनिएको छ । प्रदेश सरकारले पनि यस वर्ष पाँच करोड छुट्ट्याएको छ ।

 

केन्द्र सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रले निर्माण गरेको रंगशाला निर्माणमा प्रोत्साहन सहयोग गर्ने भनिएको हुँदा रंगशाला बन्नेमा कुनै शंका छैन ।

 

 महानगरको विकासका लागि भएका अरू योजना कहाँ पुगे ?       

सीटीहलको डिजाइन अन्तिम चरणमा पुगेको छ। छिटो काम सकेर शिलान्यासको तयारीमा छौं । नगर विकास कोषसँग महानगरमा अटोल्यान्ड निर्माण पनि अघि बढेको छ । बहुउद्देश्यीय भवनका लागि महानगरीय विकास कोषसँग छलफल र सम्झौता गर्न प्राविधिक टोली लागेको छ ।

 

फोहोर–मैला व्यवस्थापन गर्न नेपाल सरकार, भरतपुर महानगर र कोरियन सरकारबीच सम्झौता भइसकेको छ। डीपीआरको काम कोरियन सरकारले गर्दै छ । पुल्चोक–गोन्द्राङ सडक ६ लेनको बनाउने योजना छ ।

 

भरतपुर–१९ को रानीपोखरीलाई महानगरीय पार्कका रूपमा विकास गर्न ११ करोड विनियोजन भएको छ । देवघाटमा विद्युतीय शव दाह गृह निर्माण भइरहेको छ । यी सबै कामबाट प्रस्ट हुन्छ कि हामीले सकेजति गर्न सफल भएका छौं । 

 

अन्नपूर्ण पोस्टबाट
 

विशेष