खेल

टि–२० विश्वप छनोटः कतारविरुद्ध नेपाल १२२ रनमै अल आउट

टि–२० विश्वप छनोटः कतारविरुद्ध नेपाल १२२ रनमै अल आउट

काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एशोसिएट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३४, कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३, सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९, शरद भेषावकरले ७, करण केसीले ४ रन बनाए ।

 

बलिङमा कतारका इकबाल हुसैनले ३, तमूर सज्जाद, लनउमान सनवारले २–२ र इनाम उल हकले एक विकेट लिए ।छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ८ गते मलेसियासँग दोस्रो, साउन ११ गते कुवेतसँग तेस्रो र साउन १२ गते आयोजक सिंगापुरसँग चौथो खेल खेल्नेछ।

 

उक्त प्रतियोगिताको शीर्ष स्थानमा आउने एउटा टोलीले टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्समा आयोजना हुनेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।

कतार भर्सेस नेपाल टि–२० विश्वप छनोट

विशेष