खेल

टी–२० विश्वकप छनोटः कतारविरुद्ध नेपाल ४ विकेटले पराजित

टी–२० विश्वकप छनोटः कतारविरुद्ध नेपाल ४ विकेटले पराजित

काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा कतारविरुद्ध नेपाल ४ विकेटले पराजित भएको छ । १२३ रनको सामान्य लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि इनामउल हकले ४१, कमरन खानले २२, जाहिर इब्राहिमले १२, तमूर सज्जाद, मोहम्मद रिजलनले ९–९ र नुवान सरवारले नट आउट १५ रन बनाए । 

 

बलिङमा सन्दीप लामिछानेले ३ र करण केसीले एक विकेट लिए । यसअघि सिंगापुरको इन्डियन एशोसिएट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३४, कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३, सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९, शरद भेषावकरले ७, करण केसीले ४ रन बनाए ।

 

बलिङमा कतारका इकबाल हुसैनले ३, तमूर सज्जाद, लनउमान सनवारले २–२ र इनाम उल हकले एक विकेट लिए । छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ८ गते मलेसियासँग दोस्रो, साउन ११ गते कुवेतसँग तेस्रो र साउन १२ गते आयोजक सिंगापुरसँग चौथो खेल खेल्ने छ।

 

उक्त प्रतियोगिताको शीर्ष स्थानमा आउने एउटा टोलीले टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्समा आयोजना हुनेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकप खेल्ने अवसर पाउने छन् । 


 

कतार भर्सेस नेपाल

विशेष