पदको भुङ्ग्रोमा नेकपा
.कृष्ण मल्ल
जिन्दगी भर पदमा बसेर सुख सुविधा भोग गरी अघाइकेका नेताहरुलाई अहिले पनि पदकै आशक्ति किन ? अरु पार्टीको होइन, आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कुरा गरौं ।
अहिले नेकपामा कार्यविभाजनको लडाईं चलिरहेको छ । जनवर्गिय संगठन र जिल्ला इन्चार्ज÷ सह इन्चार्जको टुंगो लगाइसकेपछि अहिले बिभागहरुको नेतृत्व तोक्ने रस्साकस्सी चलिरहेको छ । अचम्म के छ भने बिभागहरुको नेतृत्वमा उनै बासी नेताहरुको नाम चर्चामा छ । जसले जीवनभर पार्टी र सरकारको लाभको पदमा बसी आनन्द उठाए, अहिले पनि उनीहरु नै ती पद हडप्न लागिपरेका छन् । लगभग केही पद न हडपीसके ।
अचम्म छ, अध्यक्ष र प्रधानमन्त्री पद केपी शर्मा ओली र पुष्पकमल दाहाललाई नै चाहिने । कुनै लाज नमानी आलोपालोको ५ बुँदे सहमति पनि गरेका रहेछन् । अझ, सार्वजनिकरुपमै मलाई यो चाहियो, त्यो चाहियो भन्छन् । पार्टी भनेको आफनो विर्ता हो र यसमा अरु कसैको हक लाग्दैन भनेजस्तो ।
अझ हेर्नुस न प्रधानमन्त्री भैसकेका र १५ वर्ष पार्टीको महासचिव चलाएका माधव नेपाललाई विदेश बिभाग नभई नहुने । माधव नेपाल नेता मात्र होइन, आफैमा संस्था भैसकेका व्यक्ति हुन् । उनले आफु बन्ने होइन अब अरुलाई बनाउने हो, पार्टी बनाउने हो, देश बनाउने हो ।
उनलाई मन लागेको चिज गर्न कसैले छेक्न सक्दैन । बिना पद मुलुक तथा पार्टीमा उनको रवाफ चल्छ । विदेश घुम्नलाई सो बिभागको प्रमुख भैरहन जरुरी छैन । उनले अभिभावक भएर पार्टीमा अरु कुनै युवा नेतालाई सो विभाग प्रस्ताव किन गर्न सक्दैनन् ?
अर्का नेता बामदेव गौतम हुन् । उनी पार्टीको अध्यक्ष र प्रधानमन्त्री मात्र बनेका छैनन्, बाँकी सबै प्रकारका शक्तिमा पुगेका नेता हुन् । पार्टीका अरु साथी प्रधानमन्त्री भए, अध्यक्ष भए, म चाहिं हुन पाएन भन्ने रोग बामदेवले पाल्न जरुरी छैन ।
गौतमले पनि संगठन बिभाग नभइ हुन्न भनेर जुन पदको आशक्ति देखाइरहेका छन्, त्यसले पनि राम्रो सन्देश दिएको छैन । बामदेव पनि परीक्षण भैसकेका नेता हुन् । उनले अब हामीलाई पुग्यो, नयाँ क्षमतावान युवा नेताहरुलाई मौका दिनुपर्छ भन्ने हो भने उनको उचाईं सगरमाथा भन्दा अग्लो हुनेछ । यसले पार्टीलाई पनि नयाँ जीवन दिनेछ ।
ईश्वर पोखरेल पनि पार्टी र सरकारी लाभको पदमा बेलाबेला मौका पाइरहेका नेता हुन् । आफूले बिगतमा पाएको जिम्मेवारीप्रति गर्व गरी उनले पार्टीलाई धन्यवाद दिंदै स्कुल बिभागको जिद्दी छोड्नुपर्छ । उनको बौद्धिकता, सैद्धान्तिक ज्ञान, वाकशक्तिको प्रयोग गर्न स्कुल विभाग नै चाहिन्छ भन्ने छैन ।
माओवादी केन्द्रबाट आएका नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्ता बाहेक अन्य जिम्मेवारी नपाएकाले उनको परीक्षण हुन बाँकी छ । उनले पनि मलाई त्यै केटी चाहिन्छ भने जस्तो स्कुल विभागकै अडान लिनु भन्दा अन्य जिम्मेवारीलाई पनि स्वीकार गर्न सक्नुपर्छ ।
केन्द्रीय सचिवालयका प्रायः सबै नेताहरुले आफूले रोजेको विभाग लिइरहेकाबेला शक्ति सन्तुलन र न्यायका हिसाबमा पनि झलनाथ खनालले जिम्मेवारी माग गर्नुपर्ने अवस्था हुन्छ । त्यही भएर होला, उनले पनि स्कुल विभागमा चासो देखाएका छन् । तर, खनालसहित सबै शीर्ष नेताहरुले अब अभिभावकको भूमिकामा गएर युवा नेताहरुलाई पद हस्तान्तरणको नीति अख्तियार गर्नुपर्छ ।
यो विडम्बना हो कि पार्टीमा वैचारिक नेताको छवि बनाएका घनश्याम भुषालले स्कुल विभागको जिम्मेवारी मलाई दिनुस भनेर मुख खोल्नु पर्यो । अझ उनले न पार्टीमा अलिकति ‘न्याय’ बाँकी छ भने भन्ने शब्दको प्रयोग गरेका छन् । यसबाटै थाहा हुन्छ, नेकपामा अन्यायको सीमा कहाँसम्म पुगेको छ ।
एमालेमा हुँदा उपमहासचिव र झलनाथ खनाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारको भूमिका बाहेक अरु कुनै कार्यकारी पद उनले पाएका छैनन् । भुषाल मात्र होइन पार्टीमा भएका कुनैपनि क्षमतावान, अनुशासित र समर्पित नेतालाई पार्टीले आफै मुल्याङ्कन गरेर जिम्मेवारी दिनुपर्छ । मागेर पाएको पदमा प्रतिष्ठा भन्दा आत्मग्लानीको मात्रा बढी हुन्छ ।
अझ अनुशासन आयोगमा उनै अमृत बोहराको नाम लिइदैछ । होइन जिम्मेवारी दिने भनेको कुनै अमुक नेतालाई आजिवन खुशी बनाउन हो कि पार्टीसँगै देश बनाउन हो ? अनि बोहरा कमरेडले पनि भो मलाई चाहिंदैन भन्न सक्नु हुन्न ?
नेकपाका शीर्ष नेताहरु मात्र होइन तल्लो तहदेखि माथिल्लो तहसम्म सबै ठाउँमा पद लोलुपता चरम देखिन्छ । भर्खरै टुंग्याएको जिल्ला इन्चार्ज र सह इन्चार्जको सूची हेरौं त, एउटै जिल्लामा दश–दश जना सह इन्चार्जसम्म छन् । युवा नेताहरुको चाहना र त्यस अनुसार व्यवस्था गर्नैपर्ने शीर्ष नेताहरुको बाध्यता । योग्यता, क्षमता, दक्षता, रुची भन्दा पनि गुटगत व्यवस्थापन मात्रै । यसले पद नै सबथोक हो भन्ने पुष्टि गरेको छ । जुन पार्टीमा पद नै सबथोक हो भन्ने स्कुलिङ छ, त्यहाँ के को स्कुल बिभाग ?
नेकपाका चर्चित नेता योगेश भट्टराईले त यो विषयमा सामाजिक संजालमार्फत आफनो भनाइ राखि नै सकेका छन् । उनी भन्छन् :
१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊँ ।
२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊँ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौं ।
३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊँ ।
४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाऊँ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौं । त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने पारीपाटी बसालौं ।
५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौं र बुझाऔं ।
नेता योगेशले दिएका सुझावमा पाँचौं बुँदा गम्भीर छ । उनले जिम्मेवारी विर्ताका रुपमा दिएको होइन भन्ने बुझौं र बुझाऔं भनेका छन् । भनेपछि नेकपामा केही नेताहरु अझैपनि आफूले पाएको पदलाई बिर्ता नै ठान्छन् । यसरी पद लिनेमा शीर्ष नेताहरु सबैभन्दा अगाडि छन् । उनीहरुलाई पनि बुझाउनुपर्ने अवस्था छ भने सो पार्टीको हालत के छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
एक समय चर्चित नेतृ रामकुमारी झाँक्रीले पार्टीमा चरम अन्याय छ भनेर अन्तर्वार्ता दिंदै गर्दा भक्कानिएको भिडियोले नेकपालाई तरंगित बनाएको थियो । अहिले पनि धेरैले सो अन्तर्वार्ताको चर्चा गरिरहन्छन् । कतिपयको मनमा गुम्सिएका कुरा रामकुमारीले ओकलेकी थिइन् । दुःख, पीडा र अपमान बेहोरेका छन् तर अभिव्यक्त गर्न सक्दैनन् ।
सर्वहारावर्गको हीतका लागि भनेर कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरु आज आफै अन्यायमा पर्दा पनि पार्टीमा बोल्न सकिरहेका छैनन् । पार्टीमा बोल्यो कि पोल्यो भन्ने स्थिति छ । बरु गुम्सिएर बस्न तयार छन् तर नेतृत्वले गरेको पक्षपात र अन्यायपूर्ण व्यवहारमा प्रश्न समेत उठाउन सक्दैनन् । कहिलेकाहिं एक दुई जनाले बोल्ने प्रयास गर्छन्, त्यो त्यसै हराएर जान्छ । कतिपय नेताहरुका लागि त्यही बोली नै जिन्दगीभरका लागि पासोसमेत बनेको छ ।
हो, काम गर्न पद चाहिन्छ । पद भनेको जिम्मेवारी हो । तर, एउटै व्यक्तिलाई पटक–पटक जिम्मेवारी दिनु भनेको अन्य नेताहरुमाथिको चरम अन्याय हो । अझ प्रतिभावान युवा नेताहरुमाथि त अपराध नै हो । युवा नेताहरुलाई राष्ट्र हीतमा काम गर्ने अवसरबाट वञ्चित गरिएकाले यसलाई राष्ट्रमाथिकै अपराध भन्दा पनि फरक पर्दैन ।