Technology

टेलिकमको एफटीटीएचमा अब सुविधैसुविधा, निःशुल्क कलदेखि कम्बो प्याकसम्म

टेलिकमको एफटीटीएचमा अब सुविधैसुविधा, निःशुल्क कलदेखि कम्बो प्याकसम्म

काठमाडौं । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधासमेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई थप व्यवस्थित गरेको छ। अब एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ । 

यसअघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड लाइनबाट देशभरका अन्य अपरेटरको नेटवर्कमा पनि साउन ५ गतेदेखि कल गर्न सकिने सुविधा स्वतः उपलब्ध भएको टेलिकमले जनाएको छ । नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकताअनुसार आईएसडी लगायतका विभिन्न सेवासमेत थप गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रबर्द्धनात्मक अफरअन्तर्गत सेवा लिने ग्राहकका लागि कम्पनीको नेटवर्कभित्र मात्र कल गर्न मिल्नेगरी निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराइरहेको थियो । सो अफर असार मसान्तदेखि समाप्त भएकोले साउन ५ गतेपश्चात एफटीटीएच प्रविधिमार्फत सञ्चालित ल्यान्डलाइन नम्बरमा पर्याप्त व्यालेन्स नभएमा भ्वाइस कल सेवा बन्द हुन सक्नेछ। त्यसैले समयमै मासिक रेन्टल चार्जको रुपमा न्यूनतम २ सय ६० रुपैयाँ रिचार्ज गरी सेवा सुचारु राख्न सकिनेछ । मासिक रेन्टल वापत नेपाल टेलिकमको नेटवर्क भित्र २ सय ५० मिनेटसम्म निःशुल्क कल गर्न सकिनेछ भने अन्य कलको लागि ल्यान्डलाइन टेलिफोनसरह शुल्क लाग्ने कम्पनीले जनाएको छ।

हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महशुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ । नजिकको दूरसञ्चार कार्यालयबाट, एमपोस   प्रविधिबाट, बैंकबाट, नेपाल टेलिकमका कुनै पनि नम्बरबाट १४१२ मा डायल गरी वा नेपाल टेलिकमको वेबसाइटमार्फत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने छ । 

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । जस अन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरु प्रयोग गर्न सकिन्छ भने कर्पोरेट प्याकेज अन्तर्गत १० र २० एमबीपीएसका ३ महिना, ६ महिना र एक वर्ष समयावधिका एफटीटीएच इन्टरनेट प्याकेजहरु उपलब्ध छन् ।  

नयाँ लाइन जडान गर्दा एक वर्षको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीई  निःशुल्क उपलब्ध गराइने छ भने छ महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीईको मूल्यमा रु. ३ हजार छुट उपलब्ध गराइने छ । यसैगरी सबै नयाँ जडान गर्ने ग्राहकहरुलाई एकसय मिटर फाइबर निःशुल्क उपलब्ध गराइने छ । 

हालै समर अफर अन्तर्गत एफटीटीएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरु १५ एमबीपीएस, २५ एमबीपीएस, ४० एमबीपीएस र ६० एमबीपीएसमा उपलब्ध छन् । १५ एमबीपीएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी २५ एमबीपीएसको कम्बो प्याकेज १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध हुने छ।  ४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ । 

यी सबै कम्बो प्याकेजमा उल्लेखित इन्टरनेट व्यान्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र एक वर्षको लागि क्रमशः २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेटसम्म नेपाल टेलिकमको नेटवर्क भित्र निःशुल्क कल गर्न सकिने सुबिधा उपलब्ध गराइएको छ । 

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्‍याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सकिने कम्पनीले जनाएको छ । 

नेपाली टेलिकम

विशेष