खेल

कतारविरुद्ध कुवेतको रोमाञ्चक जीत, उक्लियो दोस्रो स्थानमा

कतारविरुद्ध कुवेतको रोमाञ्चक जीत, उक्लियो दोस्रो स्थानमा

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कतारविरुद्ध कुवेत १० रनले विजयी भएको छ । प्रतियोगितामा कुवेतको यो पहिलो जीत हो । कुवेतले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायाे ।

 

उसका लागि फैसल जाभेदले २४, इनामउल हकले २८, मुहम्मद तानबीरले १६, मोहम्मद रिजलानले १३, कमरन खानले ८ रन बनाए । यस्तै कप्तान तमूर सज्जादले नटआउट ४६ र नूउमान सरवार १३ बलमा अविजित ३४ रन बनाए । बलिङमा कुवेतका सिराज खान, जन्दु हामुदले २–२ र मोहम्मद अश्लामले एक विकेट लिए । 

 

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनायो । उसका लागि अदानन इड्रेसले ५६, कप्तान मोहम्मद काशिफले ४३, मीट भास्वारले ३५, रभिजा सद्धारुवानले २६, उश्मान वाहीदले नटआउट २८, सिराज खानले ६ रन बनाए ।  बलिङमा कतारका इकबाल हुसैन, नउमान सरवारले २– २, मोहम्मद नदीम र इनाम उल हकले एकएक विकेट लिए ।  

 

यो जीतसँगै कुवेत अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ३ खेलमा एकमा हार र एक खेलमा जीत हासिल गर्दै ३ अंक जोडेको छ । एक खेल भने वर्षाका कारण अंक बाँडिएको थियो । यस्तै कतार भने तालिकाको पुछारमा गएको छ । उसले ३ खेलमा एकमा जीत र २ खेलमा हार बेहोर्दै २ अंक मात्र बटुलेको छ । कुवेतले कतारलाई हराएपछि नेपाललाई केही राहत पुगेको छ । नेपाल र कतारको समान २ अंक थियो । नेपालले तेस्रो खेलमा भोलि कुवेतको सामना गर्दैछ ।
 

कुवेत भर्सेस कतार विश्वकप छनोट

विशेष