अभिभावक नै जंकफूड एडिक छन् (भिडियोसहित)
तीन दशकदेखि शिक्षा क्षेत्रमा समर्पित मोहन कार्कीको एउटा अचम्मको अनुभव छ । आजभोलिका केटाकेटीलाई पढाउनु भन्दा पहिला उसको स्वास्थ्य बनाउनमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
कार्की भन्छन्, ‘पढ्न विद्यालय आउने बालबालिका अधिकांश अस्वस्थ छन् । कसैको टाउको दुख्ने, कसैलाई वान्ता हुने, सानो तातो चिसो केही भयो कि ज्वरो आउने । यतिसम्म कि मकै र भटमास समेत खान सक्दैनन, दाँत दुख्छ रे । रोटी खान दियो, पेट दुख्ने । यो सबै ‘जंक फुड’ को प्रभाव हो । लामो समयसम्म जंक फूड मात्र खाँदा स्वास्थ्य बिग्रिन थालिसक्यो । रोगी विद्यार्थीले के पढ्छ ? यसकारण हामी पहिलो पढाइ होइन, विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकता दिन्छौं ।’
काठमाडौंको नैकापमा संचालित ब्राइट फ्युचर फाउण्डेसन स्कूलका अध्यक्षसमेत रहेका कार्की भन्छन्, ‘यतिसम्म कि एउटी बच्ची त विद्यालयमा चिसो पानीले नुहाउँदा पुरै सुन्निएर आइन् । घरमा तातोपानीले नुहाउने बानी लगाएकाले यसो भएको हो । ‘एडप्टेसन’ नै छैन । अझ यो भन्दा अचम्म त के छ भने विद्यालयको छात्रवास तथा क्यान्टिनमा दाल, भात, तरकारी जस्ता स्वस्थकर खाना पाकेका हुन्छन । उनीहरु त्यो खाँदैनन् । अभिभावकले नै आफनो बालबालिकालाई कपडामा लुकाएर चाउचाउ, कुरमुरे जस्ता जंक फुड ल्याइरहेका हुन्छन् । अनि कसरी बन्छ स्वास्थ्य ? अस्वस्थ शरीर लिएर कसरी हुन्छ पढाई ?’
बालबालिकाहरुको स्वास्थ्य अवस्था विकराल रहेको र यसको प्रमुख जिम्मेवार अभिभावक नै भएको कार्कीको ठम्याई छ । उनी भन्छन्, ‘बाउआमालाई नै जंक फुडको लत लागेको छ, अनि छोराछोरीले नखाएर हुन्छ ? फेरि आजभोलि मानिस निकै व्यस्त छन् । बाउआमा नै काममा हुन्छन्, उनीहरुलाई फुर्सद कम हुन्छ । त्यो बेला बजारबाट यस्तै सामग्री ल्यायो, छोराछोरीलाई पनि त्यही दियो, आफूले पनि खायो, मुख्य समस्या यो हो । ’
शिक्षाविद् एवम शिक्षा क्षेत्रका अभियन्ता कार्कीका अनुसार अहिले थुप्रै विद्यालयले खानालाई पहिलो प्राथमिकता दिएका छन् । आफनो विद्यालयले त विद्यार्थीहरुलाई खेलाउने, कुदाउने काम गर्नुकासाथै सांगीतिक र मनोरञ्जनका काममा समेत सक्रिय बनाउने रणनीति लिएको उनी बताउँछन् । अहिलेको जमानामा पढाईसंग संगीत र खेलकुदमा नलाग्ने हो भने कुनैपनि विद्यार्थी विक्दैन, त्यसको भविष्य बन्दैन । यो अनिवार्य छ । यसकारण हाम्रो विद्यालयले यसलाई विशेष महत्व दिएर त्यही किसिमका पूर्वाधार खडा गरेको छ ।
अहिले एसईई उत्तीर्ण भएका विद्यार्थीहरु कहाँ पढ्ने ? के पढ्ने ? अन्योलमा हुनसक्छन् । त्यसका लागि उनले राम्रो कलेज भनेर मात्र नहुने भन्दै व्यवस्थापन र त्यसको इतिहास हेर्न सुझाव दिए । केही कलेजहरुले सेवाको नाममा व्यापार गर्न खोजेको स्वीकार गर्दै उनले न्युनतम शुल्कमा गुणस्तरीय र व्यावहारिक शिक्षा दिने कलेज रोज्नु नै उत्तम हुने बताए ।
अधिकांश विद्यार्थीहरुको विदेश मोह हुनुमा सरकारकै नीति दोषी रहेको उल्लेख गर्दै कार्कीले कलेजस्तरका विद्यार्थीको पढाई र रोजगारी एकसाथ अघि बढाउने नीति लिनुपर्ने स्पष्ट पारे । उनले भने, ‘विदेशमा त्यही विद्यार्थी काम पनि गर्छ, पढाई पनि गर्छ । तर, नेपालमा कलेज गयो, अनि घर फर्केर दिनभरी त्यत्तिकै बस्यो । काम छैन । पढाईको अलावा त्यो विद्यार्थीलाई कुनै काममा लगाउन सकियो भने उसले आय आर्जन पनि गर्छ, मुलुकलाई फाइदा पनि गर्छ । यति गर्न सकियो भने विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै घट्छ । ’
कार्कीको बुझाईमा हालै प्रकाशित एसईईको नजिता पनि सन्तोषजनक हुन सकेन । यो ग्रेडिङ प्रणालीको बारेमा अझै विद्यार्थी तथा अभिभावक स्पष्ट हुन सकेका छैनन । कुन जिपिएले के पढ्ने भन्ने कुरा नबुझ्दा झन अन्योल छाएको छ । ग्रेडिङ पनि गर्ने, यो पढ्न पाउने, यो नपाउने भन्ने व्यवस्था आफैंमा विरोधाभाषपूर्ण छ, यो सच्याउनुपर्छ ।
शिक्षा क्षेत्र विद्यालय