स्वास्थ्य

उमेरअनुसार फरक हुन्छ सपना

उमेरअनुसार फरक हुन्छ सपना

प्राणी जगतमा निम्नस्तरको जीवजन्तु छोडेर सबै सपना देख्छन् । प्राय : स्तनधारी प्राणी सपना देख्छन् । माछाले यस्तो अवसर पाउँदैन् । मानिसको सन्दर्भमा हालसम्म खोज अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा एक वर्षभन्दा कम उमेरमा समेत सपना देख्छ । दुई वर्षसम्मको बच्चाले यस्तो सपना देख्छ, जसमा कि त कुनै चोटपटक लागेको भान हुन्छ या त कसैले उसको पीछा गरेको हुन्छ । पाँच वर्षसम्मको बच्चाले सपनामा जनावर तथा राम्रा नराम्रा मानिसको सपना देख्छन् । सपनामा उसले कि आक्रमण गरेको हुन्छ कि प्रतिरक्षा । ७, ८ वर्षको बच्चाले उसलाई घाइते बनाएको वा कसैबाट मारिएको सपना देख्न सक्छ । ती बच्चा सपनामा भूतप्रेत देखेर कहालिन पनि सक्छन् । 

कसैले पनि निदाएको समयबाहेक अरुबेला सपना देख्न सक्दैन । सपनाको अनुसन्धान गर्नेहरुले ८० प्रतिशत सपना गहिरो निद्राको बेला देखिने बताएका छन् । गहिरो निद्राका बेला आँखा वरपर पुतली समेत घुमेको हुनसक्छ । वैज्ञानिकहरुका विचारमा व्यक्तिले सपनाका बेला विभिन्न किसिमका दृश्य समेत देख्दछ । साना साना बालबालिकाले सपनामा देखेका दृश्यलाई कहिले कहिले वास्तविक सम्झन्छन् । किशोरावस्थामा पुगेपछि मात्र उनीहरुलाई थाहा हुन्छ– यो आन्तरिक विचार हो । 

धेरैजसो सपनाका दृश्य रंगहीन हुन्छन् । तथापि मानिसले यदाकदा रंगीन दृश्य भएको सपना पनि देख्छ । दैनिक जीवनमा रंगसंग बढी सम्पर्क भएको व्यक्तिले धेरैजसो रंगिन दृश्य भएको सपना देख्ने गरेको अध्ययनबाट पत्ता लागेको छ । कुनै व्यक्तिले सधैं राम्रो मात्र सपना देख्दैन, उसले नराम्रा कहालीलाग्दा सपना पनि देख्छ । हो, यस्तो सपनालाई डरलाग्दो सपना भनिन्छ । सपनासम्बन्धी विशेषज्ञहरुका अनुसार कुनै व्यक्तिले डरलाग्दो सपना देखेपछि ऊ निद्राबाट ब्युँझेको खण्डमा समेत एकदेखि लिएर पाँच मिनेटसम्म तनावमा हुन्छ । डरलाग्दा सपनाबाट शारीरिक रुपमा दृश्य गतिमा असामान्य वृद्धि, श्वासप्रश्वास प्रक्रियामा तीब्रता, शरीरको तापक्रममा बृद्धि र बढी पसिना आउन सक्दछ ।

यति मात्र हैन, डरलाग्दो सपना देखिरहेको व्यक्ति ठूलो आवाज निकालेर कराउन पनि सक्छ । सहायताका लागि चिच्याउन र यस्तो बेला असामान्य व्यवहार देखाउन सक्छ । डरलाग्दो सपना देखेको बेला मानिस विछ्यौनामा बस्दछ र निद्रामै विछ्यौना छाडेर घरमा यताउता हिँड्न पनि सक्छ । त्यस्तो व्यक्तिले सुप्तावस्थामा झ्याल ढोकामा टाँसिएको तस्वीर फाल्न र झ्याल ढोका फोर्न पनि बेर लगाउँदैन् । कतिपयले आफूसंगै सुतेकालाई प्रहार गरिएको घटना समेत भेटिएको छ । 

प्राप्त अनुसन्धानले हालसम्म १ देखि १४ वर्ष उमेरसम्म तीन प्रतिशत बच्चाले डरलाग्दो सपना देख्ने पुष्टि गरेको छ । प्रौढ व्यक्तिले नगण्य डरलाग्दो सपना देख्छन् । दैनिक जीवनमा अति बढी मानसिक तनावमा रहेका वा मानसिक पीडाबाट पीडित व्यक्तिमा डरलाग्दा सपना देख्ने सम्भावना प्रवल रहन्छ । सपना डरलाग्दा भएपनि निद्राबाट पूर्णत जागृत अवस्थामा आएपछि उसले सपनामा देखेको दृश्य बिर्सिन थाल्दछ । तैपनि कहिलेकाहीँ सपनाका दृश्य उसले सम्झन सक्दछ । तर यी दृश्य सम्झिएर वर्णन गर्न असमर्थ हुन्छ । 

डरलाग्दा सपनाका बेला मात्र हैन, अरु सपना देखिरहेका बेला समेत मानिस डराउन थाल्दछ । यस्ता सपनालाई दारुण सपना भनिन्छ । यस्तो सपनाको बेला मानिसले श्वासप्रश्वासमा कठिनाई भएको महसूस गर्न सक्छ । दारुण सपनाका बेला दृश्य गति बढे पनि डरलाग्दा सपना देखिरहेको बेला भन्दा हृदयगति कम हुन्छ । भयानक सपना तथा दारुण सपना मुख्य फरक के छ भने यी दुई निद्राको बेग्लाबेग्लै अवस्थामा देख्न सकिन्छ । विज्ञहरुका अनुसार दारुण सपना निदाएको बेला आँखाभित्र पुतली घुमेका अवस्थामा देख्न सकिन्छ । निद्राको यो अवस्थालाई ‘रेपिड आई मुभमेन्ट स्लीप’ भनिन्छ । यसप्रकारको दारुण सपना धेरैजसो मध्यराति वा तेस्रो पहरमा देखिन्छ । निद्राको यस्तो स्थिति ‘नन रेन स्लीप’ हो । डरलाग्दो सपना मानिसको निद्रा अवधिको एक तिहाई भागमा देख्दछ । 

दारुण सपना मानिसलाई पूर्णत सम्झना रहिरहन्छ र निद्रा टुटेपछि समेत उसले त्यस्तै सपनालाई वर्णन गर्न सक्दछ । वैज्ञानिकहरुका अनुसार  दारुण सपना देखेको समय मानिसको दिमागको एक हिस्सामा यस्तो आवेग उत्पन्न हुन्छ, जुन स्पाईनल कर्डमा पुगेर शारीरिक गतिको सम्बन्धित केन्द्रलाई निस्तेज पारिदिन्छ । डरलाग्दा सपना देखिरहेको व्यक्तिको मस्तिष्कमा त्यस प्रकारको आवेग उत्पन्न नहुने हुनाले ऊ निद्रामा भए पनि यताउता चल्न सक्दछ । हालसम्म प्राप्त तथ्यअनुसार प्रत्येक व्यक्तिले औसत प्रत्येक रात दुई घण्टा सपना कमै देख्छ । मनोरञ्जक क्रियाकलाप सम्बन्धी सपना मानिसले बढी देख्छ ।

भनिन्छ– ‘मानिस सपनाको संसारमा कम परिश्रम गर्दछ । ऊ एकै ठाउँ बस्नुभन्दा धेरै ठाउँ पुगिरहेको हुन्छ ।’ सपनाको विश्लेषण गर्ने एक मनोवैज्ञानिकका अनुसार ३४ प्रतिशत सपना  घुम्ने, दौड्ने र मोटरमा यात्रा गरेको संग  सम्बन्धित हुन्छ । ११ प्रतिशत सपना कुनै दृश्यसंग सम्बन्धित हुन्छ । ७ प्रतिशत सपनामा अरु दृश्य अगाडि आउँछ । ६ प्रतिशत सपना सामाजिक समारोह, ५ प्रतिशत खेलकुद र ३ प्रतिशत झैझगडामा केन्द्रित हुन्छ । यसबाहेक २ प्रतिशत सपनाले तपाईंलाई केही न केही सिकाउँछन् । बाँकी २४ प्रतिशत सपना बाँकी कामकागजसंग सम्बन्धित हुन्छन् । 

सपना श्वासप्रश्वास

विशेष