कभर स्टोरी

‘हाम्रो देशमा सबैले राजनीति गरेको देख्दा अनौठो लाग्छ’ (भिडियोसहित)

‘हाम्रो देशमा सबैले राजनीति गरेको देख्दा अनौठो लाग्छ’ (भिडियोसहित)

काठमाडौं । सार्वजनिक नीतिमा विद्यावारिधि गर्नुभएका डा. जीतेन्द्र पराजुलीले स्नातक भने टेलिकम्युनिकेसनमा गर्नुभएको  थियो । जर्मनी, अमेरिकालगायत मुलुकमा आफ्नो अध्ययन पूरा गर्नुभएका पराजुलीसँग हालै सार्वजनिक नीति, सुशासन, जवाफदेहीताका सम्बन्धमा कुराकानी गरेको थियो । प्रस्तुत छ सो कुराकानीको सार संक्षेपः 

 

सार्वजनिक नीतिको विज्ञ तपाईं । सार्वजनिक नीति के हो ? र किन आवश्यक छ ? 
 

सार्वजनिक नीति भनेको देशलाई कुन दिशामा लैजाने भन्ने नीति हो । यो मार्गनिदेशन पनि हो । कर्मचारी प्रशासनले यस्तो नीति बनाउँछ । सार्वजनिक नीतिकै आधारमा राज्यका विभिन्न क्षेत्रहरु प्रभावित हुन्छन् । राजनीति भनेको चाहिँ सार्वजनिक नीतिभन्दा माथिल्लो तहको हुन्छ । राजनीतिमा जो सुकै माथि पुगोस्, तर सार्वजनिक नीति आफ्नो ढंगले अगाडि बढिरहन्छ । 

 

नीति राम्रो भयो भने परिणाम पनि राम्रो हुन्छ भन्ने गरिन्छ । नीतिमा जोड दिइन्छ । हाम्रो देश  विकासमा धेरै पछि छ । नेपालमा नीति राम्रो बन्छन् । परिणाम राम्रो किन आउँदैन ? 
 

राजनीतिमा ५० वर्ष पुरानो दर्शन बोकेका पनि छन् । नयाँ युवा पनि छन् । जसले फरक धारणा राख्छन् । विदेशीले सहयोग गर्दा उनीहरुकै सर्त र चाहनाबमोजिम नीति बनाउनु पर्ने हुन्छ । जब आफ्नो देशको प्राथमिकता नहेरी डोनरको सहयोगका आधारमा नीति बनाइन्छ भने परिणाम राम्रो हुँदैन । जापानले सुरुङमार्ग बनाउन सहयोग गर्ने भन्ने खबर आयो । त्यो बनाउने कम्पनी जापानी नै हुनु पर्ने पनि सुनियो । यसरी दाताको स्वार्थ त्यसरी ठोक्किन आइपुग्छ । 

 

विकासका लागि सोच, नीति वा कार्यान्वयन के महत्वपूर्ण हुन्छ ? 
 

सोच सबैभन्दा ठूलो कुरा हो । जापानीहरुको सोचले आज जापान त्यति समृद्ध छ । जापानमा कुनै प्राकृतिक स्रोत छैन । फलाम पनि अष्ट्रेलियाबाट पानीजहाजमा हालेर लैजान्छ । दोस्रो विश्वयुद्धमा जर्मनी ध्वस्त झै भयो । अमेरिकाले त्यहाँ लगानी गर्यो । अहिले समृद्ध छ । तर अफगानिस्तानमा अमेरिकाको ठूलो लगानी छ । तर त्यहाँ केही पनि भएन । किनभने सोच नै महत्वपूर्ण कुरा हो । नीति, सोच यसकारण महत्वपूर्ण हुने रहेछ । काम गर्ने क्षमता नभएसम्म कुनै कुराको जिम्मेवारी दिएर फाइदा हुँदैन । 

https://www.youtube.com/watch?time_continue=2277

भ्रष्टाचारविरुद्धको नीति, ऐन कानुन छन् । भ्रष्टाचार रोक्ने अख्तियार पनि छ । तर भ्रष्टाचार नेपालमा रोकिएन । नीति नियम मात्रै भएर त हुने रहेनछ त ? 
 

नीति राम्रो भएरमात्रै पुग्दैन । त्यसलाई कार्यान्वयन गर्ने पक्ष पनि बलियो हुनुपर्छ । कार्यान्वयन गर्ने भनेको मानिसले हो । भारतमा एउटा डिष्ट्रिक मेजिस्टे«का अगाडि मानिसहरु डराउँँछन् । आइपिएस अफिसरसँग पनि डराउँछन् । नीति छ, साथमा कार्यान्वयन गर्ने ती मानिसहरु पनि सबल छन् भने कानुनी राज हुन्छ । नेपालमा त त्यस्तो छैन । किनभने भारतमा केही सिस्टम बसाइयो । तर भारतमा पनि भ्रष्टाचार नहुने भने होइन । नेपालमा कार्यालयमा सिसी टिभी हुन्छ, बाहिर गएर घूस लिन्छन् भने के गर्नु ? 

 

तपाईं मानव पुँजीलाई बढी महत्व दिनुहुन्छ । किन त ? 
 

देश बनाउने भनेको मान्छेले नै हो । विकास र सिर्जना मानिसले नै गर्ने हो । पैसा, जमिन, प्रविधि भनेको विकासका लागि प्रयोग हुने साधन मात्रै हुन । कुनै पनि देशमा सक्षम जनशक्ति छ भने त्यो देशले विकास गर्छ । मानव पुँजी भनेको पूर्ण व्यवसायिक, दक्ष, बुद्धिमान, अनुशासित हुनुपर्छ । जसले ढुंगा फोरेर पनि हिरा निकाल्न सकोस् । हाम्रो देशमा त जापान, मलेसिया, कोरियामा मान्छे पठाउनुमा गर्व गरिन थालेको छ । मान्छेको महत्व नै बुझिएको छैन । दैनिक दर्जनबढी कफिनमा नेपाली युवाको शव आउँछ । खाडीमा जाने बढी युवाहरु अदक्ष छन् पनि भन्ने गरिन्छ । नेपालमा सडक बनाउनु पर्यो भने त्यही जनशक्ति चाहिन्छ । दक्षता नभएका युवालाई दक्ष बनाउन तालिम दिँदा हुन्छ ।

 

विदेशमा कामै गर्न जान हुँदैन भन्ने पनि होइन । तर फर्केर आउने सम्भावना कति छ ? नेपालबाट सरकारले जापानमा कामदार पठाउने भनेको छ । नर्सहरुलाई लैजाने भनिएको छ । एक पटक जापान गएको जनशक्ति फेरि फर्केर नेपाल आउने सम्भावना हुँदैन । यो मूल कुरा हो । 


नेपालमा त स्नातक गरेकाहरुले पनि काम पाउँदैनन नी ? 
 

केही पढाईहरुमा जागिर पाइँदैन । अमेरिकामा पनि इतिहास पढ्नेले जागिर पाउँदैनन् । अमेरिकामा ड्रामा पढ्नेले पनि पाउँदैनन् । नेपालमा पनि मानविकी पढ्नेले कम जागिर पाउँछन् । यस्तो कुरा नेपालका नीति निर्माताले विचार गर्नुपर्छ । इतिहास, संस्कृति विषयमा जनशक्ति चाहिँदैन भने पढाउन पनि आवश्यक छैन । 

 

१२ पास गरेको विद्यार्थीले चिया पकाएर पनि पिउँन जाँन्दैन भने त्यो पढाई अधुरो भएन ? 
 

आफनो आफ्नो देशको शिक्षा प्रणाली हुन्छ । किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि महत्वपूर्ण पनि हुन्छ । नेपालमा घोक्नु पर्ने पद्धति छ । आफ्नो रुची भएको विषय स्वतः पढ्छ । हामीले राम्रो दक्ष जनशक्ति निर्माण गर्नका लागि शिक्षामा लगानी गर्नुपर्छ । जसको जे काम हो त्यसले त्यही गर्नुपर्छ । यहाँ त विद्यार्थी, शिक्षक, किसान, मजदुर सबैले राजनीति गर्छन् । 

">

विशेष