मनोरञ्जन

वैवाहिक जीवन सुखी कसरी पार्ने ?

वैवाहिक जीवन सुखी कसरी पार्ने ?

मानिसको जीवनमा सुखद क्षणमध्ये वैवाहिक जीवन पनि एक हो । जब कुनै पनि विवाहयोग्य पुरुष र स्त्री वैवाहिक सम्बन्धमा आवद्ध हुन्छन, त्यसबेलादेखि नै विवाहित जोडीले आफ्नो वैवाहिक जीवन सुखी पार्न केही महत्वपूर्ण भूमिका खेल्नुपर्छ । अन्यथा वैवाहिक जीवनमा खट्पट् आउन सक्छ । पति–पत्नीबीच आवश्यक समझदारी र मायाप्रेम भएन भने वैवाहिक जीवन पीडादायी रोग बन्छ ।

एकजना विचारकले भनेका छन– ‘विवाह एक यस्तो इनार हो, यसभित्र पुगेकाहरु आत्तिएर उकुसमुकुस भएर बाहिर निस्कन खोज्छन, यसभित्र नपुगेकाहरु के के न होला भनेर उत्तेजित हुँदै यसमा हाम फाल्छन् ।’ वैवाहिक जीवनका कटु अनुभवले नै वास्तवमा यस्ता विचारले जन्म पाएका हुन् । वैवाहिक जीवन सुखी बनाउने केही उपाय छन् । यी उपायलाई विवाहित जोडीले इमान्दारपूर्वक पालना गरेमा पक्कै पनि वैवाहिक जीवन सुखमय हुनसक्छ । यहाँ केही त्यस्ता टिप्स छन, जसले एकरथको दुई पांग्रालाई सन्तुलित बनाउन मद्दत गर्नेछ । 

१. वैवाहिक जीवनको पहिलो सर्त हो– सम्मान । एकले अर्कोलाई सम्मान गर्नुपर्छ । यदि पत्नीलाई जुत्ता भए खुट्टा कति कति ठान्ने हो भने पत्नीको जीवनमा निरसता शुरु हुन्छ । 

२. विवाह भएको दिनदेखि नै जोडीबीच भावनात्मक तालमेल मिल्न जरुरी छ । 

३. कुनै पनि विषयमा कटुता आउन नदिन दुवैपक्ष संयम र सचेत हुनुपर्छ । व्यक्तिपिच्छे फरक धारणा हुन स्वाभाविक हो, विचार अलग भएपनि त्यसको प्रभाव सम्बन्धमा ठोक्किनु हुँदैन् । दुईबीच विचारको समन्वय हुन जरुरी छ । 

४. वैवाहिक जीवन सुखी पार्ने अर्को उपाय हो– एक अर्काको व्यक्तित्वप्रति सकारात्मक धारणा । एक अर्काको व्यक्तित्व विकास र प्रगतिको लागि दुवैमा केही त्याग र सहयोगको भावना हुनुपर्छ । 

५. आफ्नो दैनिक जीवन जतिसुकै व्यस्त भएपनि पति, पत्नी दुवैले समय निकाली मीठा मीठा कुरा गर्नुपर्छ । एकले अर्काको समस्यामा बाधक नभएर साधक बन्ने कोशिस गर्नुपर्छ । 

६. पति–पत्नीबीच एकापसमा प्रेमको हार्दिक भावना हुनुपर्छ । यदि यसो नभएमा वैवाहिक जीवनमा खट्पट् आउन सक्छ । भनाई पनि छ– ‘जब पति, पत्नीबीच प्रेम विलीन हुनपुग्छ तब वकिल ढोकाबाट पस्छ र प्रेम झ्यालबाट भाग्दछ ।’ 

७. जीवनमा कमीकमजोरी जस कसैबाट हुनसक्छ । यस्तो अवस्थामा बिग्रेको कामप्रति सहानुभूति जनाउनु पर्छ । आपसमा आरोप प्रत्यारोप गर्नु हुँदैन् । 

८. पतिले गरेको हरेक कामको पत्नी र पत्नीको पतिले तारिफ गर्नुपर्छ । प्रशंसाले थकाई मर्छ र उत्साह उर्लन्छ । 

९. समय समयमा पति पत्नी शान्तिपूर्वक उल्लासमय वातावरणमा बसेर आफ्नो वैवाहिक जीवनको व्यापक समीक्षा गर्नुपर्छ । जीवनका राम्रा पक्ष पहिल्याएर त्यसलाई बढावा दिनुपर्छ । 

१०. घर गृहस्थीमा पतिभन्दा पत्नीको विशेष भूमिका हुने भएकाले घर गृहस्थमा पत्नीले आफ्नो मात्र इच्छाअनुसार काम गर्नुहुन्न । पतिको मर्यादा राखेर पति, पत्नी सन्तुष्ट हुने र आफूलाई पनि सन्तोष हुने गरी काम गर्नुपर्छ । 

११. वैवाहिक सम्बन्ध गाँसिइसके पछि कुनै कारणवश पति पत्नी एकापसमा लामो समय भेटघाट हुन नसक्ने गरी बाहिर जानु परेमा आफू जुन ठाउँमा रहेको हो, त्यस ठाउँमा सूचना आदानप्रदान हुने तरिकाले बस्नुपर्छ । त्यसै पनि आजकल सूचना प्रविधिको प्रयोगले मानिसको सम्बन्ध नजिक्याउन मद्दत गर्छ । 

१२. पति पत्नीबीच व्यवहारमा खुल्लापन हुनुपर्छ । अनावश्यक गोपनीयता रहनु हुँदैन् । 

१३. विवाहपछि सन्तान उत्पादन हुनु स्वाभाविक हो । सन्तान पति पत्नीको समझदारीमा हुनुपर्छ । धेरै सन्तान भए भने परिवारमा आर्थिक बोझ बढ्छ । यदि आर्थिक अभाव भयो भने पारिवारिक तनावको बीउ रोपिन्छ । 

१४. वैवाहिक जीवनमा गारो साँगुरो परेका बेलामा निरास, हतास, क्रुद्ध नभई पति पत्नी दुवैले जोश, जाँगर र आशाका साथ आफ्नो काममा लाग्नु पर्छ । 

१५. पति–पत्नीबीच आफ्ना व्यावहारिक दायित्व हुन्छन, दायित्व निर्वाह नगर्दा  मर्का पन र मनमा चोट लाग्न सक्छ । वैवाहिक जीवन सुखी पार्न कर्तव्य निर्वाहमा ध्यान दिनुपर्छ । भारतीय कथाकार प्रेमचन्दले भनेका छन्– ‘दाम्पत्य जीवन प्रेम र उत्तरदायित्वको मिलीजुली रुप हो ।’

१६. पति पत्नीले आफ्नो आर्थिक क्षमताअनुसार खर्च गर्नुपर्छ । 

१७. जीवन सुखी राख्न पति, पत्नीको बोली, बचन, व्यवहार र चरित्रमा शुद्धता हुन जरुरी छ । महर्षीले भनेका छन्– ‘कर्कसा पत्नी वा जँड्याहा पतिको दाम्पत्य जीवन स्वर्गमा पनि सफल हुँदैन् ।’

१८. हाम्रो नेपाली समाजमा एउटा समस्या के छ भने आफ्नो पति अरु महिलासंग, पत्नी परपुरुषसंग बोलेमा एकअर्कालाई शंकाको दृष्टिकोणबाट हेर्ने । हो, शंकाको यो बीउलाई विश्वासले निस्तेज गर्नुपर्छ । 

१९. वैवाहिक जीवन सुखमय पार्ने अन्तिम उपाय हो– पति र पत्नीको समझ्दारीमा स्वस्थ यौन सम्बन्ध राख्नु । यो सम्बन्ध वैवाहिक जीवनको एक अनमोल मन्त्र हो ।

यसप्रकार अर्काको इच्छा, रुचि, भावनाको कदर गर्दै उल्लेखित उपायलाई पति पत्नीले व्यवहारमा लागू गरेमा वैवाहिक जीवन सुखमय पार्न सकिन्छ । 
 

विवाह वैवाहिक जीवन

विशेष