विवादास्पद मन्त्री बर्खास्त नगरे सरकार दुर्घटनामा (भिडियोसहित )
अहिले चौतर्फी एउटै प्रश्न छ– ‘दुई तिहाइको सरकार भएर पनि ‘डेलिभरी’ दिन सकेन, किन ?’
यो प्रश्न सत्तारुढ दल नेकपाका कतिपय नेताहरुलाई जायज लागेपनि नेकपाकै मन्त्रीहरुका लागि काउसो हुने गरेको छ । यस्तो प्रश्नले उनीहरुलाई आक्रोशित बनाउँछ ।
अझ सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटालाई मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदा कसैले यस्तो प्रश्न सोधे, उसले सिधै खप्की खानुपर्ने हुन्छ । सरकारका मन्त्रीहरुका नजरमा सरकार उत्कृष्ट ढंगले काम गरिरहेको छ । समृद्धि र विकासको लक्ष्य पूरा हुनै लागेको छ । गृहमन्त्री रामबहादुर थापाका अनुसार त देशमा अमन चयन छ । कुनै सुरक्षा चुनौती छैन । निर्मला पन्तका जस्ता अपराधजन्य घटना सामान्य हुन्, भोलि पनि भैरहन्छन् । विप्लवलाई दबाएरै तह लगाइन्छ ।
राप्रपा केन्द्रीय सदस्य एवं कानुन व्यवसायी डम्बर शिवाकोटीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सक्षम व्यक्ति भएपनि उनलाई तीन जना मन्त्रीले बद्नाम गरिरहेका छन् । जथाभावी बोलेर र विवादास्पद काम गरेर प्रधानमन्त्री ओलीको शाख गिराउनेमा प्रवक्ता गोकुल बाँस्कोटा, भूमिसुधार मन्त्री पद्मा अर्याल र गृहमन्त्री रामबहादुर थापा रहेका छन् । यी तीनै जना मन्त्रीको बोलीमा लगाम छैन । यिनीहरुका काम पनि विवादास्पद छन् ।
नेता शिवाकोटी भन्छन्, ‘प्रधानमन्त्री ओलीले यी मन्त्रीहरुलाई बर्खास्त गरी नयाँ मन्त्री नल्याउने हो भने सरकार मात्र होइन मुलुक नै दुर्घटनामा पर्नेछ । अहिले गृहमन्त्रीको काम हेर्नुस, यिनले विप्लवाई वार्तामा ल्याउँदैछन् कि उल्टो उत्तेजित पार्दैछन् ? वार्ता गर्छु भन्ने अनि उसका केन्द्रीय नेताहरुलाई एकपछि अर्को गर्दै पक्राउ गर्ने ? यसरी हुन्छ वार्ता ? यो निकास खोजेको कि द्वन्द्वलाई आमन्त्रण गरेको ? ’
सरकार आफै द्वन्द्वको खेतीमा लागेको छ । विप्लव समस्या समाधान गर्नुभन्दा उसलाई उत्तेजित पार्ने गरी काम गर्नु द्वन्द्व आमन्त्रण गर्नु हो । सरकार भ्रष्टाचारका ठूलाठूला घटना समाधान गर्न चाहँदैन किनकी यी घटनामा सरकारका मान्छे नै संलग्न छन् । निर्मला पन्तका बलात्कारी र हत्यारा खोज्दैन किनभने यस्ता अपराधजन्य घटनामा उनकै मान्छेको संलग्नता छ । यो सबै भयङ्कर द्वन्द्व निम्त्याउने वातावरण बनाउनेतर्फ सरकार देखियो ।
अर्को कुरा सरकार क्रिश्चियनहरुको इशारामा नाचिरहेको छ । नेपालको धर्म र संस्कृति मास्न नै यो सरकार बनेको हो । यसका सबै गतिविधि त्यसैतर्फ गएका छन् । अब यो सहेर बस्ने कुरा आउँदैन । नेपाली जनता सरकारका हरेक कामबाट वाक्क भैसकेका छन् । उनीहरु विकल्प खोजिरहेका छन् । त्यो विकल्प भनेको अब राजासहितको प्रजातन्त्र नै हो । हिन्दु राष्ट्र नै हो ।
राप्रपाको नेतृत्वमा यो मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था स्थापना हुनेमा शंका छैन । मुलुकका सबै नेता विकेका छन् । अहिले पनि भारतीय गुप्तचर संस्था रअका प्रमुख समन्त गोयल नेपाल आउँदा नेताहरुको धोती खुस्कियो । प्रधानमन्त्री, सत्तारुढ, विपक्षी दलका नेता सबैले भेटे । यो अचम्म होइन ?
अझ राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणा र सो पार्टीका नेता सुनिल थापाले पनि गोयललाई भेटेको कुरा आएको छ । राप्रपा अध्यक्ष कमल थापाले मात्र गोयललाई भेटेनन् । हामी हाम्रै बलमा राजसंस्था र हिन्दु राष्ट्र ल्याउने हो, विदेशीको सहयोग चाहिदैन ।
जहाँसम्म स्वदेशी शक्ति बलियो हुने कुरा छ त्यसमा राप्रपा संयुक्तसँग एकताको कुरा चलिरहेको छ । तर, समस्या के भयो भने पशुपतिशम्शेर राणा र सुनिल थापा गणतन्त्रवादी हुन् । उनीहरुको पार्टीले राजसंस्था मान्ने भनेपनि त्यो गलत हो । पशुपति र सुनिल आत्मादेखि नै गणतन्त्र पक्षधर हुन् ।
२०७७ सालभित्रै राप्रपाको महाधिवेशन हुने भएकाले त्यसअघि नै दुई पार्टीबीच एकीकरणको पहल हुनु पर्नेछ । पार्टीको नाम राप्रपा र चुनाव चिन्ह गाई नै हुनेछ । हामी चुनाव चिन्ह हलो मान्दैनौ ।
अझ अध्यक्ष पनि कमल थापा नै हुनुपर्छ । पशुपति र डा. प्रकाशचन्द्र लोहनी बुढा भैसकेकाले खटनपटनमा समस्या हुने हुँदा थापा नै नेतृत्वका लागि उपयुक्त हुने शिवाकोटी बताउँछन् ।
‘अहिले मुलुक बाढी पहिरो र डुबानले आक्रान्त भएका बेला अचाक्ली रुपमा बढेको महङ्गीले अर्को समस्या थोपरेको छ । सरकार जनताका समस्याप्रति रत्तिभर पनि चिन्तित छैन भन्ने कुरा यसबाट पुष्टि हुन्छ । हामी यो गैर जिम्मेवार सरकारको विरुद्धमा चाँडै आन्दोलन गर्छौ ।’ शिवाकोटी बताउँछन् ।