३६ हजारमैँ जापान जान पाइने
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजारमैँ जापान यात्रा तय गर्न सकिने भएको छ । आउँदो भदौ १२ देखि जापानको ओसाकासम्म सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी भाडादर निर्धारण गरेको हो ।
काठमाडौँ–ओसाकाको टिकटको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९ सय ९९ नयाँ भाडादर निर्धारण गरेको निगमले जनाएको छ । दुईतर्फी भाडा भने ७२ हजार ८१४ कायम गरिएको छ । दशैँअघि पुनः अर्को भाडादर निर्धारण गरिने जनाइएको छ ।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।
निगमले वाइडबडी ए–३३० जहाजमार्फत ओसाका उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ ।
वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइडबडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए ।
निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइडबडी जहाज भित्र्याएको थियो ।
निगमले एकदशकअघि जापान उडान बन्द गरेको थियो ।
जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।
निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन् ।